चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी भागेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ परेका व्यक्ती सहित घटनाको. प्रारम्भिक अनुसन्धानको विवरण समेत सार्वजानिक गरेको छ ।
गत ७ गते वुधवार बिहान चितवनको भरतपुर महानगरपालिका वडा नं. १७ मानसिंह चोक नजिक सिमलडाँडा खेतको कुलोमा १ जना पुरूषको शव फेला परेको थियो । शव नजीकै पिच सडक किनारामा एक थान गोलीको खोका फेला परेको, सोही स्थानमा रगत रहेको, मृतकको दायाँ कान र बायाँ कानमाथी टाउकोमा गहिरो चोट देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम प्रसाद अधिकारीले जानकारी दिए ।
धादिङ निलकण्ठ नगरपालिका वडा नं. १३ घर भई दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत नेपाली सेनाको हुद्दा ३६ बर्षको भरत गुरूङ रहेको उनले बताए । घटनास्थलको प्रकृती, मृतकको शरीरमा लागेको चोटपटक हेर्दा गुरूङलाई कोही कसैले गोली प्रहार गरी हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो ।
घटनाका बिषयमा अनुसन्धानकै क्रममा ७ गते वुधवारनै शंकास्पद व्यक्ति पक्राउ परे । उनी मृतक गुरूङका साथी हुन् । मृतक सँगै दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत नेपाली सेनाका सिपाही २६ बर्षको गंगाधर ढकाललाई भरतपुर महानगरपालिका वडा नं. २० चनौलीबाट नियन्त्रणमा लिईएको अधिकारीले जानकारी दिए ।
गत साउन २ गते ढकाल मृतक भरत गुरूङको ग्लोबल आईएमई बैंकको खाली चेक बोकेर काठमाण्डौबाट चितवन आएको र ३ गते भरत गुरूङको नामको चेकमा आफैले हस्ताक्षर तथा रकम अंक र अक्षरमा समेत भरी बैंकमा गई चेक साटी नौ लाख रुपैंया निकाली उक्त रकम मध्ये एक लाख आफैले राखी बाँकी आठ लाख घर परिवारलाई दिएको खुलेको प्रहरी प्रमुख अधिकारीले बताउछन् ।
साउन ५ गते गुरूङले जग्गा पासको लागि चितवन आउनुपर्ने भएकोले ढकाललाई फोन गरी काठमाण्डौंमा लिन आउनु भनी बोलाएको हुँदा ढकाल गुरूङलाई लिन काठमाण्डौं गएको देखिएको प्रहरीले बताएको छ ।
५ गते नै दिउँसो ढकालकै मोटरसाईकलमा चढी चितवन आई होटलमा बास बसेको । ६ गते गुरूङले बाकेको झोला भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगर टाउन स्थित आफ्नो माईलो बुबाको छोरा रबिन गुरूङको घरमा राखि गुरूङ र ढकाल मोटरसाईकल चढी बजारतिर गएको देखिएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
६ गते दिउसो र रातिको समयमा ढकालले गुरूङलाई खाना तथा खाजा खाने बहानामा अत्यधिक मात्रामा मादक पदार्थ सेवन गराई भरतपुर महानगरको बिभिन्न स्थानमा मोटरसाईकलमा पछाडी राखी घुमाई मिति ७ गते बिहान ५ बजेको समयमा उक्त घटनास्थलमा पु¥याएको अनुसन्धानको क्रममा देखिएको अधिकारीले जानकारी दिए ।
सोही स्थानमा पिसाब फेर्ने बहानामा मोटरसाईकलबाट झरी आफुले पिसाब फेरी पछाडी झोलाबाट हतियार निकाली गोली लोड गरी मोटरसाईकलको पछाडी बसीरहेको अवस्थामा गुरूङको दायाँ कानमा उक्त हतियारले ताकी फायर गरेको र गुरूङ मोटरसाईकलबाट भुईंमा लडेपछी बोकेर ७÷८ मिटरको दुरीमा रहेको कुलोमा फाली घटनास्थलबाट फरार भएको देखिएको अधिकारीले बताएका छन् ।
आफ्नो कपडा, जुत्ता र मोटरसाईकलमा लागेको रगत केही पर गई कुलोको पानीमा पखाली साथमा भएको हतियार भरतपुर महानगरपालिका वडा नं. ८ गरूवा कामक्ष मन्दिर एरिया टोल स्थित सडक किनारामा रहेको झाडीमा फाली सौराहाचोक स्थित फुपुको घरमा गई आफ्नो मोटरसाईकल, जुत्ता, कपडामा लागेका रगत पुन धोई पखाली मृतक भरत गुरूङको लागि खरीद गरेको जुत्ता आफुले लगाई हिँडेको खुलेको अधिकारीले बताए ।
दिउँसो आफ्नो मोटरसाईकल प्रयोग गर्दा पक्राउ पर्न सक्ने डरले आफ्नो मोटरसाईकल भरतपुर १० बालमन्दिर रोड स्थित हुण्डाई कार सोरूमको गेट बाहिर छाडी काकाको छोराको बाईक लिई हिँडेको पाइएको उनले बताए ।
७ गते दिउसोको समयमा भरतपुर महानगरपालिका वडा नं. २० चनौलीबाट पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।
घटनास्थालमा गोलीको खोका एक थान, विसहाजर ताल गेट नजीकै हतियार १ थान,ढकालको दिदीको घर सौराहा चोकबाट गोली ७ राउण्ड,ढकालको परिवारबाट ८ लाख नगद,ढकालको भाईको साथबाट मोटरसाईकल एक थान,ढकालले प्रयोग गरेको झोला एक थान उनको दिदीको घरबाट र जुत्ता कम्ब्याट चुस्ता बरामद गरिएको अधिकारीले जानकारी दिएकाछन् ।
मुलुकी अपराध संहिता, २०७४ परिच्छेद –१२ ज्यान सम्बन्धि कसूर अन्तर्गत दफा १७७ मा जन्म कैदको व्यवस्था अनुसार कार्वाही प्रकृया अगाडी बढ्ने अधिकारीले बताए ।






