वसन्तले चन्द आमालाई रत्यौलीमा उतारे

‘जेठो जर्नेल माइलो कर्नेल
हा बरै साईंलो चौतारीमा स्यानी माया’
तीजको अवसरमा यो वर्षका लागि यतिबेला बजारमा आएको यो भाका निकै चर्चामा छ । टिकटकदेखि विभिन्न सामाजिक सञ्जालमा यो गीत अहिले भाइरल भएको छ ।

ग्रामीण जीवनमा रमाइरहेकी एक जना महिलालाई काठमाडौं ल्याएर उनकै लय भाकामा तयार गरिएको यो रत्यौली भाका हो । विवाहको लगन सकिएको साउनको महिनामा रत्यौली भाका ल्याउनुलाई कतिपयले बेमौसमको बाजा भनेका छन् । यो गीतलाई बजारमा यतिबेला ल्याउने हिम्मत संगीतकार तथा गायक वसन्त थापाले गरेका हुन् ।

बिगतमा सालको पात टपरी हुने…जस्ता दर्जनौं चर्चित भाका श्रोतामाँझ ल्याइसकेका संगीतकार तथा गायक हुन् वसन्त थापा । बेला बेलामा मौलिक भाका बजारमा ल्याउनु उनको विशेषता हो । सोही कारण यसपटक सुर्खेतकी चन्द्र सुवेदीलाई काठमाडौं ल्याएर ती गायिकाको भाकामा थापाले यो गीत तयार गरेका हुन् ।

गीत तयारीको अनुभव सुनाउँदै वसन्त थापाले राजधानीसँग भने, ‘चन्द्र सुवेदी आमा व्यवसायिक गायिका हैनन् । उनका रत्यौली भाका टिकटकमा सुनेपछि मैले उनलाई सुर्खेतबाट काठमाडौं बोलाएर यो गीत तयार गरेको हुँ ।’ संगीतकार थापाको भनाइमा रत्यौली गीतमा अश्लीलता हुन्छ । तर, आफूहरूले यो गीतलाई सबैले सुन्न मिल्ने गरी सभ्य रूपमा उतारेको उनले जिकिर गरे ।

गीतको भिडियोमा पनि विवाह समरोहमा रत्यौली गाएको देखाइएको छ । कतिपयले तीज गीतलाई किन तीज गीत नभनेर रत्यौली भाका भनेको भन्ने प्रश्न उठाएका छन् । यसको जवाफमा संगीतकार थापाले भने, ‘रत्यौली सधंै विवाहका अवसरमा बज्ने भाका हो र हामीले यो भाकालाई गत वैशाखमै रिलिज गर्न लागेका थियौं । तर, वैशाखमा कोरोनाका कारण निषेधाज्ञा भएपछि भिडियो बनाएर तीजका अवसरमा दर्शकमाँझ ल्याएका हौं ।’ यसलाई सदावहार मौलिक भाकाका रूपमा लिइदिन गायकले श्रोतालाई अनुरोध गरेका छन् ।

उमेरले ६० नाघेकी चन्द्रलाई टिकटकले संगीतकार तथा गायक वसन्तसँग भेटघाट गराएको हो । यसअघि चन्द्रले टिकटकमा थुप्रै रत्यौली भाका गाएर राखेकी थिइन्, ‘जीवनमा रेकर्डिङ स्टुडियो नदेखेकी चन्द्र सुवेदी आमालाई केही दिन काठमाडौंको स्टुडियोमा अभ्यास गराएपछि उनकै लय र गायन शैलीमा हामीले रेकर्ड गराएका हौं । अहिले यो ठेट मौलिक गीतलाई दर्शकले रुचाएर सकारात्मक प्रतिक्रिया दिएकाले हामी निकै खुसी छौं ।’

संगीतकार वसन्त थापा गाउँ गाउँ डुल्दै मौलिक नेपाली गीत खोजेर बजारमा ल्याउन खप्पिस छन् । तीजका अवसरमा यो गीत बजारमा ल्याएकोमा उनलाई कुनै पनि पछुतो छैन, ‘रत्यौली गीत तीज गीत भनेर तीजकै बेला बजारमा ल्याएका धेरै उदाहरणहरू छन् । तर, हामीले तीजको अवसर पारेर विवाहको प्रसंगमा तयार गरेर यो रत्यौली भाकालाई बजारमा ल्याएका हौं ।’ त्यसैले यसलाई तीज गीत नभनेको पनि उनले स्पष्ट परेका छन् ।

गाउँमा बसेर गीत रेकर्ड गर्ने सपना देखेका चन्द्र सुवेदीजस्ता थुप्रै आमाका मौलिक भाकालाई आउँदा दिनमा स्टुडियोमा रेकर्ड गर्ने संगीतकार तथा गायक थापाको भनाइ छ, ‘सालको पातलगायत थुप्रै गीत मैले काठमाडौंमै बसेर तयार गरेको हुँ र ती गीतले मलाई लोकप्रिय बनाए । तर, चन्द्र सुवेदी आमाको गीत तयार गरेर बजारमा ल्याउँदा मलाई त्योभन्दा ठूलो आनन्द मिलेको छ’, थापाले राजधानीसँग भने ।

विवाहमा केटालाई केटी लिन जन्तीसँग बिदा गरेपछि केटाका चेलीबेटीले रत्यौली भाका गाउँदै उत्छृंखल रूपमा नाच्ने चलन छ । रत्यौलीको बेला केटीहरू नै केटा बनेर गीत गाउँछन् र अभिनय पनि गर्छन् । तर, स्यानी माया रत्यौली भाकालाई वसन्त थापाले पनि गायका छन् । रत्यौली भाका केटाले पनि गाउनुलाई समयको माग भन्ने तर्क यी गायकको छ ।

अहिले धेरै तीज गीत केटाले गाएका छन् । पहिलाको जस्तो तीज भन्नासाथ चेलीबेटीका गुनासा पोख्न समय अहिले नरहेको यी संगीतकारले बताए, ‘आजकालका तीज भाकामा पीडाभन्दा पनि रमाइलो र उत्ताउलोपना हुने गरेको छ । केटाले तीज भाका गाउनु सामान्य जस्तै भएकाले यो बहसको विषय बन्न छाडेको छ ।’ वसन्त थापाले राजधानीलाई प्रस्ट्याए, ‘बलिउँदो समयअनुसार गायन शैली पनि परिवर्तन हुने गरेका छन् । तीज गीत तथा रत्यौली गीत केटाले गाउनुलाई बदलिँदो समयको बिम्बका रूपमैले लिएको छु ।’

 

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

epaper

ताजा समाचार

ओली निवासमा जगन्नाथको गला अवरुद्ध मात्र भएको हो : बस्नेत