वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्टेटस अफ युनियन’लाई सम्बोधन गर्दै अमेरिकी प्रशासनले ‘अफगान युद्ध’ अन्त्य गर्न काम गरिरहेको बताएका छन् ।
हाउस अफ रिप्रिजेन्टटिभ्स र कंग्रेसको संयुक्त सत्रमा बोल्दै ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेनाले प्रगति गरिरहेको र तालिबान लडाकू समूहसँग शान्ति वार्ता भइरहेको बताएका छन् ।
‘हामी अन्ततः अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गरी हाम्रो सेनालाई घर फर्काउन कोसिस
गर्दै छौं,’ ट्रम्पले भनेका छन, ‘कानुनको डन्डा लगाउने एजेन्सीका रूपमा अन्य राष्ट्रको सेवा गर्नु हाम्रो कार्य पनि होइन ।’
संयुक्तराज्य अमेरिका र तालिबानबीच शान्ति वार्ता गत वर्ष सुरु भएको थियो । तर, सेप्टेम्बर र
डिसेम्बरमा अमेरिकी सेनाको तालिम केन्द्रमा भएको तालिवानी लडाकूको आक्रमणपछि वार्ता रोकिएको थियो । लामो समय अर्थात सन् २००१ बाट सुरू भएको अफगान युद्धको कारण अमेरिकी सेनालाई पर्दै आएको अप्ठयारो ‘हास्यास्पद’ भएको उनले बताएका छन् ।
अझै पनि अफगानिस्तानमा करिब १३ हजार अमेरिकी सेना रहेका छन् । यी सेनाले प्रायः अफगानी सेनालाई तालिवानी लडाकूविरुद्ध तालिमलगायत सरसल्लाह दिने कार्य गर्दै आएका छन् ।
अफगान युद्ध अमेरिकी इतिहासको सबैभन्दा लामो युद्ध हो । सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति भएयता अमेरिकी सेनाका २४ सय सदस्य मारिएका छन् ।






