काभ्रेपलाञ्चोक । बनेपाबाट नगदसहित ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । अबैध रुपमा जुवातास खेली रहेको विशेष सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीहरूलाई जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १४ को खालचौर स्थित थोप्चेन तामाङको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए । उनका अनुसार उनीहरूको साथबाट नेपाली ७ लाख १५ हजार ३५ रुपैयाँ बरामद गरेको छ ।
पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नम्बर १० जनागालका कृष्ण केसी, रोशी गाउँपालिका वडा नम्बर ३ साजाकोटका पाराङ लामा भन्ने खड्ग सिं लामा, बनेपा नगरपालिका वडा नम्बर ११ पाकु टोलका सुमन अधिकारी रहेका छन् ।
त्यस्तै बनेपा नगरपालिका वडा नम्बर १४ साँगाका गणेश थापा, वडा नम्बर ७ धनेश्वरका अनिल मुस्याजु, रोशी गाउँपालिका वडा नम्बर ३ शिखर आम्बोटेका हिरा लामा, रोशी गाउँपालिका वडा नम्बर १ घर भइ बनेपा नगरपालिका वडा नम्बर ७ बस्ने चन्द्र लामा स्याङताङ, रोशी गाउँपालिका वडा नम्बर ३ घर भइ हाल बनेपा नगरपालिका वडा नम्बर ८ का थर्कमान लामा, बनेपा नगरपालिका वडा नम्बर ६ बस्दै आएका किशोर अधिकारी, धुलिखेल नगरपालिका वडा नम्बर १० सारदाबतासेका छिरिङ लामा र भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ९ का दिपक बस्नेत रहेको सूचना अधिकारी खतिवडाले बताए ।
उनका अनुसार घरको अण्डर ग्राउण्डको कोठामा तास लेखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले तास नखोलेको ३ बट्टा, खोलेको ११ बुक र तन्ना १ थान पनि बराबद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई ‘मुलुकी फौजदारी संहिता,२०७४’ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।






