यार्सा र जडीबुटी खोज्नेद्वारा व्यापक वन फडानी

बझाङ । बझाङको बहुमूल्य हिमाली वन क्षेत्र नासिँदै गएको छ । यार्सा र जडीबुटी खोज्ने वन प्रवेश गर्नेबाट व्यापक रूपमा वन फडानी भइरहेको भए पनि नियामक निकायका चासो जान सकेको छैन ।

वैशाखदेखि असारसम्म यार्सा संकलनका लागि र भदौदेखि मंसिरसम्म अन्य जडीबुटी खोज्न मानिस लेकाली वन क्षेत्र प्रवेश गर्दछन् । हरेक वर्ष बझाङमा यार्सा संकलनका लागि मात्रै ४८ हजारभन्दा बढी मानिस लेकतिर जाने गरेको अनुमान छ । जडिबुडी संकलन गर्न जानेले दाउराका लागि जथाभावी वन फडानी गर्दा हिमाली वन मासिँदै गएको हो । बुंगल नगरपालिकाको हिमाली भेगमा पर्ने थानपाटन, धौलाढुंगा, चुपी, ठाडीगाड, भिडेगडालगायतका क्षेत्रमा पर्ने वन उजाडिइसकेको छ । साइपाल गाउँपालिकाको माझा, फरालखेत, राइढुंगी, औंलागाड, स्याङवन दोतले, इंगलदारलगायतका ठाउँको ठूलो वन क्षेत्र पनि मासिएको छ । सुर्मा गाउँपालिकाअन्तर्गतका जलजला, डाँफेचुली, तपोवन, डाँडा, जर्सी, गोलढुंगालगायतका वनको अवस्था पनि उस्तै छ ।

बुंगल नगरपालिका–२ लौनेका ६५ वर्षीय दले धामी यार्सा टिप्न र भेडाबाख्रा चराउन धौलाढुंगा, थानपाटन, चुफी भिडेगडा जान थालेको दुई दशक भयो । उनले देखेको घना जंगल हेर्दाहेर्दै मासिएर डाँडा नांगै भएका छन् । उनीसँगैका देब्बो धामी पनि मानिसका गलत क्रियाकलापले हिमाली वन सखाप भएको बताउँछन् ।

गत वर्षको वैशाखदेखि असारसम्म जडिबुडी संकलन गर्न ५१ हजारभन्दा बढी मानिसले साइपाल, सुर्मा, छबिसपाथीभेरा गाउँपालिका र बुंगल नगरपालिकाको वन क्षेत्रमा प्रवेश गरेको उल्लेख छ । कोरोनाका कारण गत वर्ष २० हजारको हाराहारीमा मानिस यार्सा तथा जडिबुडी संकलनका लागि हिमाली वन क्षेत्रमा गएका थिए । संकलनको समयमा बझाङ र अन्य जिल्लाबाट आएका मानिसले विभिन्न पाटनमा करिब १५ हजार पाल हाल्छन् । यार्सा तथा जडिबुडी संकलनकर्ताले सुरुमै एक साता जति दाउराका लागि जंगल फडानी गर्ने गर्छन् । हिमालमा पाइने भुइँचिमालो, भोजपत्र, चिमालो, चाँप, धुपी, कालोभोजलगायतका रूख र झाडी प्रजातिका बिरुवा काटेर दाउरा बनाउने गरेका छन् । संकलनकर्ताले तीन महिनासम्म पुग्ने दाउराको जोहो गरिसकेपछि मात्र संकलनको काम सुरु गर्ने गरेको संकलकको भनाइ छ ।

जटामसी, कटुकी, सेतकचिनी, भुतकेसलगायत जडीबुटी संकलनका लागि बझाङका स्थानीयलगायत रुकुम, रोल्पा, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, कैलाली, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बाजुरालगायतका जिल्लाबाट समेत सयौंको संख्यामा मानिस बझाङका लेकाली वनमा अस्थायी क्याम्प खडा गरेर बस्ने गर्छन् । खाना पकाउन र आगो ताप्नभन्दा बढी दाउरा जडीबुटी पकाउन प्रयोग हुनेगर्छ । सेतक चिनी पकाउनका लागि सिंगै रूख काटेर भट्टीमा लगाइन्छ । सुकेको दाउरा पाउन छोडेपछि आलै रूख काटेर बाल्ने गरिएको साइपालका कम्मान बोहराले बताए । नियमन निकायले यस विषयमा चासो नदिएका कारण दिनानुदिन जंगल फडानी भइरहेको छ ।

हिमाली वन क्षेत्रको विषयमा कुनै आधिकारिक अध्ययन भएको छैन । यार्सा संकलनका क्रममा खपत हुने इन्धनका कारण संवेदनशील जंगल नाश हुँदै गएको छ । यही गतिमा वन दोहन हुँदै जाने हो भने वातावरणमा प्रतिकूल असर पर्ने देखिन्छ । डिभिजन वन कार्यालय बझाङका कार्यालय प्रमुख कर्ण कठायतले यसको रोगथामका लागि कर्मचारीलाई फिल्ड खटाउने काम गर्दै आएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 448 times, 1 visits today)

epaper

ताजा समाचार

दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरद्वारा स्वीकार