दिनको संकेत बिहानीले गर्छ भनेझैं शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकारले प्रारम्भिक दिनमा गर्ने कार्यले सरकारको आगामीकार्य कस्तो हुन्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । भ्रष्टचार र कुशासनको दुश्चक्रमा पर्दै आइरहेको हाम्रो देश नेपालमा अन्ततः ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानको चरितार्थ नहोस् भन्ने मनोकांक्षा नेपाली जनताको छ । अर्थात् सरकारले राम्रो काम गरोस्, जनताको दुःख सुख बुझेर जनमैत्री काम गरोस्, सबै खाले व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागेर देश र जनताको सामूहिक स्वार्थ हेर्न सकोस्, भ्रष्टाचार अन्त गरी सुशासन कायम गर्न सकोस् भन्ने आमजनचाहना छ ।
वर्तमान सरकारले आमजनताको त्यस्तो चाहना पूरा गर्न सक्ला ? प्रश्नको उत्तर अहिल्यै खोज्नेबेला भइसकेको छैन । कुनै पनि सरकारको कामको प्रारम्भिक समीक्षा गर्न पनि कम्तीमा सय दिन कुर्नैपर्छ । त्यसैले भर्खरै २५ दिन बिताएको देउवा सरकारको समीक्षा गर्ने बेला भइसकेको छैन । तैपनि प्रारम्भिक संकेत त्यति सन्तोषप्रद देखिन सकेका छैनन् । २५ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले सरकारलाई पहिलो गासमै ढुंगा जस्तो भएको छ । प्रधानमन्त्री एक्लैले १७ वटा मन्त्रालयको भारी बोक्नुपर्दा सरकारको काम प्रभावकारी हुने कुरै भएन । त्यसैले पनि छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार गरेर सरकारले आफ्ना कामकारबाही प्रभावकारी बनाउनुपर्छ ।
सिंहदरबार प्रवेश गरेपछि धेरै शासक अन्धो र बहिरोजस्तै हुने गरेका छन् । शक्ति र सत्ताको मातले जनताका तमाम खाले समस्या बिर्साइदिने लक्षण बोकेका हाम्रा नेताहरू सुध्रने लक्षण अझै पनि देखिएको छैन । हाम्रा दलका नेता तथा शासकको सबैभन्दा ठुलो बद्मासी नै उनीहरू जे बोल्छन् त्यो गर्दैनन् तर जे गर्छन् त्यो बोल्दैनन् । यानेकी उनीहरूको बोलाइ र गराइमा ठीक उल्टोपन देखिन्छ ।
नेता र शासकहरूले बोलेअनुसार व्यवहारमा उतार्ने हो भने त अहिलेसम्म देश पुरै भ्रष्टाचारमुक्त भइसक्ने थियो । प्रधानमन्त्री र मन्त्री भएपछि उनीहरूको पहिलो प्रतिबद्धता नै मुलुकमा सुशासन कायम गर्छांै, प्रभावकारी कार्य गरेर जनताका तमाम समस्या समाधान गर्छौं भन्ने हुन्छ । तर, व्यवहार ठ्याक्कै उल्टो । मन्त्री भएर आएको केही दिनसम्म ठूलो सुशासनको गफ गर्नेहरू भित्रभित्रै नराम्ररी सड्ने गरेका छन् । विगतमा केही अपवाद छोडेर धेरै मन्त्रीहरू त्यस्तै गलत धन्दामा लागेको प्रशस्त उदाहरण छन् । आशा गरांै वर्तमान सरकारका धेरै मन्त्रीहरूबाट त्यस्ता नाटक हुने छैनन् र प्रधानमन्त्रीले पनि जो बोल्छन् त्यो व्यवहारमा देखाउने छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आउना साथ सबै नेपालीलाई छिटोभन्दा छिटो खोप लगाउने प्रतिबद्धता जनाएका छन् । सो प्रतिबद्धता पूरा गर्न उनले आफ्ना संयन्त्र सोहीअनुसार नै परिचालन गर्नुपर्छ । समयमा नै खोप लगाउन सके भने त्यो उनको लागि ठूलो सफलता हुनेछ । यसलाई सकारात्मक रूपमा हेरिएको छ । तर, खोपको व्यवस्थापनमा सरकारी पक्ष केही चुकेको जस्तो देखिएकाले व्यवस्थापनलाई छिटोभन्दा छिटो चुस्त बनाउन जरुरी छ ।
अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सबै मन्त्रीहरूको टुप्पीमा हाइटेक प्रविधि प्रयोग गरी सुशासनको पारो नाप्ने एन्टेना जडान गर्न सक्नुपर्छ ।
देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले गरेका कतिपय राम्रा कार्यलाई समेत उल्टाउने तथा खारेज गर्ने कामको थालनी गरेको छ । जुन गलत हो । नयाँ सरकार पुरानो सरकारको उत्तराधिकारी हो । त्यसैले पहिलेका सरकारले गरेका सबै कार्य उल्टाउनुहँुदैन् । यदि पहिलेका सरकारले गलत गरेको छ भने त्यसलाई सच्याउन सकिन्छ । तर, सच्याउने नाममा राम्रा निर्णयसमेत खारेज गरिन्छ भने त्यो सरकारका लागि प्रत्युत्पादक हुने निश्चित छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले देशका सुकुमबासी र भूमिहीनलाई जग्गा वितरण गर्न गठन गरेको भूमि आयोग खारेज गरेर वर्तमान सरकारले ठूलो पुरुषार्थ गरेको हौवा पिटाएको छ । यो वर्तमान सरकारका लागि आत्मघाती कदम हुन सक्छ । देशभरमा ८ लाख बढी सुकुमबासी रहेका छन् । ती सुकुमबासीको व्यवस्थापन गर्न भूमि आयोगले आफ्नो काम अन्तिम चरणमा पु¥याएको थियो । केही सयमपछि लालपुर्जा वितरण गर्ने अन्तिम तयारी गरेको थियो । तर, आयोग खारेजीसँगै ती सबै प्रक्रिया अन्योलमा परेको छ र ८ लाख बढी सुकुमबासी एकैपटक पीडित बनेका छन् । हो, ओली सरकारले आयोगमा आफ्ना कार्यकर्ता भरेको थियो भने ती कार्यकर्ता हटाउन सकिन्छ । तर, आयोग नै विघठन गर्नु चाहिँ हुन्थेन ।
विगतका सरकारले यस्ता आयोग तथा अन्य विभिन्न सार्वजनिक संघसंस्थानमा आफ्ना कार्यकर्ता भर्ती गरेको थियो त्यो पक्कै पनि राम्रो थिएन । अब त्यसो भए राम्रो कामको सुरुवात यही सरकारबाटै गर्ने कि ? अब प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालय र सल्लाहकार टिमबाहेक राज्यका अन्य सबै निकायमा मानिस राख्दा प्रतिस्पर्धाका आधारमा राखांै । ती सबै निकायमा लोकसेवा आयोगको नेतृत्वमा विज्ञको टोली गठन गरेर त्यही टोलीलाई छान्ने अधिकार दिनेगरी नयाँ कानुन बनाऔं । अहिलेको सरकार र सरकारका रहेकाले सधैं विधि पद्धतिको कुरा उठाउँदै आइरहेका छन् । उनीहरूले यदि साँच्चै नै विधि र पद्धतिको कुरा उठाएका हुन् भने त्यसलाई व्यवहारमा चरितार्थ गर्न पनि हरेक निकायमा पदाधिकारी नियुक्त गर्दा स्वच्छ प्रतिस्पर्धाका आधारमा गर्ने प्रणालीको विकास गर्नुपर्छ ।
यदि लोकसेवा आयोगलाई त्यसको जिम्मेवारी दिनेगरी नयाँ कानुन ल्याउन सकेमा राजनीतिक नियुक्तिका आधारमा आएका व्यक्तिसँग सजिलै राजीनामा माग्न सकिन्छ र उनीहरू पद छोड्न पनि बाध्य हुनेछन् । तर, नयाँ सरकारले यो कार्य गर्ला भन्ने विश्वास छैन् । किनकि सरकारमा धेरै राजनीतिक दल रहेकाले तिनका कार्यकर्ता र आसेपासेलाई पोस्न पनि पुरानै नियुक्ति प्रणाली यथावत् राखिनेछ । यदि त्यस्तै प्रणाली जारी राखेको खण्डमा यो सरकारमा संलग्न रहेका नेताहरूले विधि पद्धतिको कुरा उठाउनु बेकार हुनेछ ।
जब जब मन्त्रीले सचिव छनोट गर्छन् र कर्मचारी सरुवामा बढी ध्यान दिन थाल्छन्, त्यस्ता मन्त्रीहरू कम्मल ओढेर घिउ खान खप्पिस हुन्छन् भन्ने कुरा स्पष्ट रूपमा बुझ्न जरुरी छ ।
पहिलेको सरकारले जे ग¥यो हामी पनि त्यही गर्छौं भनेर सरकारका मान्छेहरू प्रतिशोधपूर्ण रूपमा हिँड्नुहँुदैन् । हिजोको सरकारलाई प्रतिगमनकारी भन्नेहरूले आफूहरूले अग्रगमन गरेर देखाइदिनुपर्छ । ब्युरोक्रेसी कसैको पनि हँुदैन । उसले जुन सरकार आयो त्यही सरकारलाई सहयोग गर्ने शपथ खाएको हुन्छ । त्यसैले हिजोको दिनमा त्यो कर्मचारी राम्रो ठाउँमा भएकाले त्यो हिजोकै सरकारको मान्छे हो भन्ने गलत सोचबाट वर्तमान सरकार मुक्त हुनुपर्छ । अन्यथा कर्मचारीतन्त्रबाट काम लिन सरकारलाई निकै कठिन हुन सक्छ । अहिले सरकारका मन्त्रीहरूले कर्मचारी सरुवामा ठाडै हस्तक्षेप गर्न थालेका छन् । यद्यपि यो प्रवृत्ति हिजो पनि थियो र आज पनि छ । तर, यो सरकारले आफूलाई अग्रगमनकारी भनिरहेकै अवस्थामा हिजोको ‘प्रतिगमनकारी सरकार’कै जसरी अहिलेको अग्रगमनकारी सरकारले कर्मचारीतन्त्रमा हस्तक्षेप गर्न मिल्ला र ? नत्र त हिजोको सरकार र अहिलेको सरकारमा के नै पो फरक रह्यो र ?
जब जब मन्त्रीले सचिव छनोट गर्छन् र कर्मचारी सरुवामा बढी ध्यान दिन थाल्छन्, त्यस्ता मन्त्रीहरू कम्मल ओढेर घिउ खान खप्पिस हुन्छन् भन्ने कुरा स्पष्ट रूपमा बुझ्न जरुरी छ । त्यसैले प्रधानमन्त्रीले सचिवको सरुवा गर्ने जिम्मेवारी मुख्य सचिवलाई दिनुपर्छ र मन्त्रीलाई कर्मचारी सरुवामा ¥याल चुहाउने प्रवृत्तिबाट मुक्त गराउनुपर्छ । राजनीतिक नेतृत्वका रूपमा आउने मन्त्रीहरूले नीतिगत रूपमा सरुवाको वैज्ञानिक मापदण्ड बनाएर सरुवा गर्ने अधिकार कर्मचारी संयन्त्रलाई नै दिनुपर्छ । यदि मापदण्डविपरीतको सरुवा भएको खण्डमा सरुवा गर्ने पदाधिकारीलाई नै कारबाही गर्ने गरी नयाँ सिस्टमको विकास हुन जरुरी छ ।
अहिले सचिव तथा कर्मचारीको सरुवामा मन्त्री हावी हुन थालेका छन् । यसले प्रशासनमा व्यापक विकृति ल्याउनेछ । मन्त्रीहरूलाई प्रधानमन्त्रीले लगाम लगाउन जरुरी छ । प्रधानमन्त्री देउवाले विगतमा गरेका गल्ती र कमजोरीबाट पाठ सिकेर अहिले इतिहास रच्ने सुनौलो अवसर पाइरहेका छन् । त्यसैले उनले आगामी दिनमा समेत आफ्नो र उनको दल कांग्रेसको साख बचाउन पनि सरकार र मन्त्रीबाट कुनै प्रकारका विकृति हुन दिनुहँुदैन । कर्मचारी तथा प्रहरीको सरुवामा पैसाको चलखेल हुने अवस्था आउनै दिनुहँुदैन । अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सबै मन्त्रीको टुप्पीमा हाइटेक प्रविधि प्रयोग गरी सुशासनको पारो नाप्ने एन्टेना जडान गर्न सक्नुपर्छ । कम्मल ओढेर घिउ खाने प्रवृत्तिविरुद्ध नागरिक समाजका सदस्यले पनि निरन्तर आवाज बुलन्द गरिरहनुपर्छ । त्यस्ता शासक प्रशासकलाई जनतासमक्ष ल्याएर कारबाही गर्नुपर्छ भने अख्तियारले पनि ठाउँका ठाउँ समाउन सक्ने गरी आफ्नो संयन्त्र विकास गर्नुपर्छ ।






