हुलाकी राजमार्ग : हट्यो बसन्ताको अवरोध

धनगढी । निर्माणाधीन हुलाकी राजमार्गअन्तर्गतको कैलालीको बसन्ता क्षेत्रमा विगत चार वर्षदेखिको अवरोध हटेको छ । बसन्ता वनक्षेत्रका साथै अन्तर्राष्ट्रिय जैविक मार्ग पर्ने भएकोले रुख कटानका कारण हुलाकी सडकमा अबरुद्ध हुनपुगेको थियो ।

बसन्ता वनक्षेत्रमा सरोकारवाला निकाय वनमन्त्रालयले रुख कटान गर्न अनुमति दिएपछि बसन्ता क्षेत्रमा रहेको २ किलोमिटर बाटोको ट्रयाक खुलाउन अबरोध हटी सडक निर्माणले गति लिएको हो ।

कैलालीको रहेको ६२ किलोमिटर हुलाकी सडकमध्ये ६० किलोमटिर सडक निर्माण भइसक्दा समेत बसन्ता क्षेत्रमा रुख कटानी हुननसक्दा ४ वर्षदेखि हुलाकी सडकको निर्माण रोकिएको थियो । बसन्ताका रुख काट्नका लागि सडक विभाग र वन मन्त्रालयबीच चार वर्षसम्म फाइल ओहोर–दोहोर नै चलेको थियो ।

बसन्ता वनका रुख काट्न गत फागुनमा मन्त्रिपरिषद्को बैठकले आदेश दिएको थियो । कटान आदेशपछि रुख कटान गरी कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ । वर्षायामका कारण कालोपत्रे गर्न समस्या भएको र वर्षायाम सकिनेबित्तिकै कालोपत्रेको काम हुने हुलाकी आयोजना कार्यालय धनगढीले जनाएको छ ।

बसन्ता सडकअन्तर्गत एक सयवटा रुख काटिएका छन् । यसमध्ये ७० वटा सालका रुख र अन्य कुकाठ रहेको हुलाकी सडक आयोजनाका इन्जिनियर पदम मडैले बताए । ‘रुख काटेर ट्रयाक खोलेपछि एक लेयरसम्म माटो फिलिङ गर्ने कार्य भयो,’ इन्जिनियर मडैले भने, ‘बर्खा लागेपछि काम रोकिएको छ । अब चाँडै अबरुद्ध कामले गति लिनेछ ।’

कैलालीको कैलारी गाउँपालिका–५ को कटैनी नदीदेखि छटकपुर बसन्तासम्म पर्ने दुई किलोमिटर खण्डमा रुख कटानको आदेश नहुँदा चार वर्षदेखि काम रोकिएको थियो । कैलारीको कटैनी नदीदेखि भजनी नगरपालिकाको लालबोझीसम्म बसन्ता वनक्षेत्रमा जम्मा १८ मध्ये १६ किलोमिटरमा राजमार्ग निर्माण भइसकेको छ । तर, कानुनी अड्चनका कारण दुई किलोमिटर खण्डमा भने काम रोकिएको थियो । जसले गर्दा उक्त सडक भएर जानुपर्दा घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता थियो ।

सो खण्डमा राजमार्ग निर्माणका लागि २०७३ सालमै ठेक्का भए पनि काम अगाडि बढ्न सकेको थिएन । जिल्लाका अरु सबैतिर हुलाकी राजमार्ग बनिसक्दा सो खण्डमा ट्रयाकसमेत खोल्न नसक्दा स्थानीय आक्रोशित भएका थिए ।

बसन्ता वन क्षेत्र करिडोर भएको भन्दै धेरै बहस भएपनि अन्तिममा सरकारले नै रुख काट्न आदेश दिएको हो । बसन्ता करिडोर वन्यजन्तुको पुरानो जैविकमार्ग रहेकाले राजमार्ग विस्तार गर्दा अण्डरपास र ओभरपास पुल हुनुपर्ने अडान राख्दै डिभिजन वन कार्यालयले रुख कटान आदेश प्राप्तिका लागि फाइल अड्काएको थियो ।

उक्त खण्डमा तुण्डी, प्रेरा, चन्द्रा एण्ड वसन्ता जेभीले राजमार्ग निर्माणको ठेक्का पाएका थिए । गत जेठ मसान्तमा ठेक्का अवधि सकिएको छ । बाँकी रहेको काम पनि यसै निर्माण कम्पनीले गर्ने आयोजनाका इन्जिनियर मडैले बताए । रुख काटिसकेपछि निर्माण कार्यले तीव्रता पाएको निर्माण कम्पनीका प्रोजेक्ट व्यवस्थापक जलेश कुमार बोगटीले बताए ।
कैलालीमा सन् २०१० देखि हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो । एक दशक पूरा भइसके पनि निर्माण कार्य भने अझै पूरा हुन सकेको छैन ।

चार लेनको राजमार्ग बन्दै

कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । धनगढीको क्याम्पस चोकदेखि कालिका मन्दिरसम्म चार लेनको सडक बनाउने काम धमाधम भइरहेको छ । बजार क्षेत्रमा हुलाकी राजमार्गलाई चौडा बनाउने सरकारको निर्णयअनुसार धनगढीमा चार लेनमा राजमार्ग विस्तार गर्ने कार्य अगाडि बढाइएको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । हुलाकी आयोजना कार्यालयका अनुसार फोर लेन सडकमा २० प्रतिशत भौतिक प्रगति भएको छ ।

‘काम तीव्र गतिमा अगाडि बढेको छ,’ आयोजनाका इन्जिनिर मडैले भने, ‘साढे तीन किलोमिटर दूरीमा चार लेनको सडक बन्ने हो ।’ यो खण्डमा चार लेनको हुलाकी राजमार्ग बनाउनका लागि ०७७ असारमा ठेक्का सम्झौता भएको थियो । हाल नाली, पर्खाल र कल्भर्ट बनाउने कार्य भइरहेको छ । इन्जिनियर मडैका अनुसार चार लेन राजमार्गमा बीचमा दुई मिटर मेडियन र त्यसको दायाँबायाँ दुवैतिर सात–सात मिटरको कालोपत्रे हुनेछ । त्यसैगरी, राजमार्गको दुवैतिर नाली र नालीमाथि फुटपाथ बाटो निर्माण हुनेछ । फुटपाथ बाटो साढे तीन–तीन मिटर चौडा रहने इन्जिनियर मडैले बताए ।

चार लेनको राजमार्ग निर्माणका लागि स्वच्छन्द जोशी जेभीले भ्याटसहित ३७ करोड ४३ लाख रुपैयाँमा ठेक्का पाएर काम गरिरहेको छ । यो राजमार्ग निर्माणको समायवधि ३० महिना रहेको छ । यसैगरी, धनगढीदेखि सत्तीसम्मको ४४ किलोमिटर हुलाकी राजमार्गको बाँकी खण्डमा दुई लेनमा सडक विस्तार गर्ने कार्य पनि अगाडि बढेको छ ।

विभिन्न खण्डमा विभाजन गरेर काम भइरहेको जनाइएको छ । दुई लेन सडकको चौडाइ १२ मिटर रहने आयोजनाको कार्यालयले जानकारी दिएको छ । दुई लेनमा सात मिटरको कालोपत्रे रहने र सडकको दुवैतिर अढाइ–अढाइ मिटर ग्राभेल रहने इन्जिनियर मडैले बताए । ‘बजार क्षेत्रमा नाली पनि निर्माण हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान