टोकियो । कोरोना भाइरस (कोभिड –१९)को त्रासका बाबजुत सतर्कता अपनाउँदै बन्द रंगशालाबाटै विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक खेलकुद आइतबार जापानको टोकियोमा सम्पन्न भएको छ । गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोनाका कारण एक वर्षपछि सारिँदा कोरोनाको त्रास नहटे पनि विभिन्न सतर्कता अपनाउँदै जापानको राजधानी टोकियोमा एक भव्य कार्यक्रमबीच ‘टोकियो ओलम्पिक २०२०’ को भव्य समापन भएको हो । टोकियो ओलम्पिकमा २ सय ६ राष्ट्रसँगै शरणार्थी टोलीका ११ हजार ३ सयभन्दा बढी एथलिटले ३३ खेलमा विभिन्न ३ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए ।
अब ३३औं संस्करणको ओलम्पिक फ्रान्सको पेरिसमा सन् २०२४ मा हुनेछ । ओलम्पिकको उद्घाटनमा नेपालबाट पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले नेपालको झन्डा बोकेका थिए । समापनमा नेपालको झन्डा भोलेन्टरले बोकेका थिए । विश्व खेलकुदको कुम्भमेलामा वर्चस्व जमाउने अमेरिका यसपटक पनि पदक तालिकामा शीर्षस्थानमा रह्यो । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्य गरी कुल १ सय १३ पदक जित्न सफल भयो । चीनले अन्तिम दिन स्वर्ण जित्न नसकेपछि दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो ।
चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी ८८ पदक जित्न सफल भयो । आयोजक जापान २७, स्वर्ण १४ रजत र १७ कास्य गरी कुल ५८ पदक जित्दै तेस्रो स्थानमा रह्यो । दक्षिण एसियाली राष्ट्रबाट भारतले १ स्वर्ण पदकसहित कुल ७ पदक जितेको छ । टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तर, सदा झंै टोकियो ओलम्पिकमा पनि नेपालको चुनौती सहभागितामै सीमित रह्यो । सहभागी पाँचै खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न सकेनन् । तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो । पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका थिए । जुडोकी सोनिया भट्ट र एथलेटिक्सकी सरस्वती चौधरीको फितलो प्रदर्शन रह्यो ।

अमेरिका पदक तालिकाको शीर्ष स्थानमा
विश्व खेलकुदको कुम्भमेला ३२औं ग्रीष्मकालीन ओलम्पिक ‘टोकियो ओलम्पिक २०२०’ को अन्तिम दिन अमेरिकाले ३ स्वर्ण थप्दै शीर्षस्थानमा ओलम्पिक सकाएको छ । सुरुवाती दिनदेखि नै अधिकांश समय दोस्रो स्थानमा रहेको अमेरिकाले अन्तिम दिन ३ स्वर्ण थपेपछि ओलम्पिकको सुरुवाती दिनदेखि नै अग्रतस्थानमा रहेको चीनलाई पछि पार्दै शीर्ष स्थानमा ओलम्पिक टुंग्याएको हो ।
ओलम्पिकको अन्तिम दिन सबै ३ सय ४० स्वर्ण ३ सय ३८ रजत र ४ सय २ कास्य गरी १ हजार ८० पदकको छिनोफानो भएको छ । ओलम्पिकमा २ सय ५ राष्ट्र र शरणार्थी टोलीका ११ हजार ९० एथलिटले ३३ खेलमा विभिन्न ३ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । नेपालसहित १ सय १२ राष्ट्र पदकविहीन बन्यो ।
टोकियो ओलम्पिकमा २ सय ५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ६५ राष्ट्रले स्वर्ण जित्दा ९३ राष्ट्रले पदक जित्न सफल भए । ओलम्पिक जापानको टोकियो सहरका २३ जुलाईदेखि ८ अगस्टसम्म भएको थियो । ३३औं संस्करणको ओलम्पिक सन् २०२४ मा फ्रान्सको पेरिसमा हुनेछ ।
टोकियो ओलम्पिकको अन्तिम दिन अमेरिकाले पदक तालिकामा अग्रता लियो । चीनलाई पछि पार्दै अमेरिकाले शीर्ष स्थान ओगटेको हो । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्य गरी कुल १ सय १३ पदक जित्न सफल भयो । चीनले अन्तिम दिन स्वर्ण जित्न नसकेपछि दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी ८८ पदक जित्न सफल भयो । आयोजक जापान २७, स्वर्ण १४ रजत र १७ कास्य गरी कुल ५८ पदक जित्दै तेस्रो स्थानमा रह्यो । इंग्ल्यान्ड २२ स्वर्ण २१ रजत र २२ कास्य गरी ६५ पदक जित्दै चौथो स्थानमा रह्यो ।

रसियन ओलम्पिक कमिटी टोली (आरओसी) २० स्वर्ण, २८ रजत र २३ कास्यसहित ७१ पदक जित्दै शीर्ष पाँचमा रह्यो । १७ स्वर्ण, ७ रजत र २२ कास्य गरी कुल ४६ पदक जितेर अस्ट्रेलिया छैटांै स्थानमा रह्यो । नेदरल्यान्ड्स १० स्वर्ण, १२ रजत र १४ कास्य गरी ३६ पदक जित्दै सातौं स्थानमा रहँदा फ्रान्स १० स्वर्ण, १२ रजत र ११ कास्यसहित ३३ पदक जितेर आठौं स्थानमा रह्यो । जर्मनी १० स्वर्ण, ११ रजत र १६ कास्य गरी ३७ पदकसहित शीर्ष नवौं स्थानमा रह्यो । १० स्वर्ण, १० रजत र २० कास्य गरी ४० पदक जित्दै इटाली शीर्ष १० मा रह्यो । क्यानडाले ७ स्वर्ण, ६ रजत र ११ कास्य गरी २४ पदक हात पा¥यो ।
ब्राजिल ७ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल २१ दिक जित्दै १२औं स्थानमा रह्यो । न्युजिल्यान्डले ७ स्वर्ण, ६ रजत र ७ कास्य गरी २० पदक जित्यो । क्युबाले ७ स्वर्ण, ३ रजत र ५ कास्य गरी १५ पदक जित्दै १४औं स्थानमा रह्यो । हंगेरीले ६ स्वर्ण, ७ रजत र ७ कास्य गरी २० पदक जित्यो । दक्षिण कोरिया ६ स्वर्ण ४ रजत र १० कास्य गरी कुल २० पदकसहित १५औं स्थानमा रह्यो । पोल्यान्डले ४ स्वर्ण, ५ रजत र ५ कास्य गरी १४ पदक जित्यो । चेक रिपब्लिकले ४ स्वर्ण, ४ रजत र ३ कास्य गरी ११ पदक जितेको छ । केन्याले ४ स्वर्ण, ४ रजत र २ कास्य गरी १० पदक जित्यो । नर्वेले ४ स्वर्ण, २ रजत र २ कास्य गरी ८ पदक जित्दै शीर्ष २० मा रह्यो । जमैकाले ४ स्वर्ण, १ रजत र ४ कास्य गरी ९ पदक जित्यो ।
स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, डेनमार्क, क्रोएसिया, इरान, सर्बिया बेल्जियम, बुल्गेरिया, स्लोभेनिया र उज्वेकिस्तान गरी ११ राष्ट्रले समान ३–३ स्वर्ण जित्न सफल भयो । जर्जिया, चाइनिज ताइपेइ, टर्की, ग्रिस, युगान्डा, इक्वेडर, आयरल्यान्ड, इजरायल, कतार, बहमास र कोसोभो गरी ११ राष्ट्रले समान २–२ स्वर्ण जित्न सफल भयो । युक्रेन, बेलारुस, रोमानिया, भेनेजुएला, भारत, हङकङ, फिलिपिन्स, स्लोभाकिया, दक्षिण अफ्रिका, अस्ट्रिया, इजिप्ट, इन्डोनेसिया, इथियोपिया, पोर्चुगल, ट्युनिसिया, इस्टोनिया, फिजी, लात्भिया, थाइल्यान्ड, बर्मुडा, मोरोक्को, प्युरेटो रिको गरी २२ राष्ट्रले समान १–१ स्वर्ण जित्न सफल भयो ।
किपचोगेलाई ओलम्पिक म्याराथनमा स्वर्ण
विश्व कीर्तिमानी केन्याका इलुड किपचोगेले टोकियो ओलम्पिक २०२० अन्तर्गतको पुरुष म्याराथनतर्फ स्वर्ण पदक जितेका छन् । ओलम्पिक म्याराथनमा दोस्रो स्वर्ण जित्ते क्रममा ३६ वर्षीय इलुडले निर्धारित दूरी २ घन्टा ८ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई १ मिनेट १७ सेकेन्डले पछि पारे । उनले सन् २०१६ को रियो ओलम्पिकमा स्वर्ण जितेका थिए । उनले रियो ओलम्पिकभन्दा ६ सेकेन्डको समय सुधार गरेका छन् ।
ओलम्पिकमा उनको यो चौथो पदक हो । उनले यसअघि २००४ को एथेन्स ओलम्पिकमा ५ हजार मिटरमा कास्य तथा २००८ को बेइजिङ ओलम्पिकमा रजत पदक जितेका थिए । उनी पुरुष म्याराथनमा धेरै पदक जित्ने तेस्रो एथलिट बनेका छन् । उनको नाममा २ घन्टा १ मिनेट ३९ सेकेन्डको कीर्तिमान छ । उनले सन् २०१८ मा बर्लिन म्याराथनमा यो विश्व कीर्तिमान कायम गरेका थिए । नेदरल्यान्ड्सका एब्डी नाजिइले २ घन्टा ९ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्दै रजत पदक हात पारे । बेल्जियमका बासिर एब्डीले २ घन्टा १० मिनेटमा दूरी पार गर्दै कास्यपदक जित्न सफल भए । अन्तिम समयमा फिनिसिङमा चुक्दा लरेन्स चेरोनोले चौथो स्थानमा चित्त बुझाए ।






