महामारीलाई नजरअन्दाज नगरौं

सरकारले देशभर कुनै न कुनै उपायका निषेधाज्ञा लागू गरी सामूहिक बसाइ र भेटघाटका कार्यक्रम नगर्न निर्देशन जारी गरिरहेकै बेला हुलका हुल विद्यार्थी परीक्षा केन्द्रमा परीक्षा दिन गइरहेका छन् । पहिले खोप अनि परीक्षा भनी माग राखेका विद्यार्थीहरू परीक्षा हलमा बस्न बाध्य भएका छन् । तर, उनीहरू खोपबाट वञ्चित छन् । परीक्षाको यो बाध्यता कति आवश्यक छ, त्यो बहसको विषय बनेको छ । तर, परीक्षाले संक्रमणलाई कत्तिको बल पु¥याइरहेको छ यो भने निकै सोचनीय बनिरहेको छ । स्वास्थ्य ठूलो कि परीक्षा भन्ने विषय पनि बहसमा आएको छ । विद्यार्थीको पहिला खोप त्यसपछि परीक्षा भन्ने माग अवश्य पनि नाजायज थिएन । सरकारले पनि यस विषयमा सोच्नुपर्ने थियो र स्कुल तथा क्याम्पस सञ्चालकहरूले पनि नजरअन्दाज गर्न हुने थिएन । तर, भएरै छाड्यो त्यही र त्यस्तै । परीक्षाका विविध उपाय र विकल्पको खोजी भइरहेका बेला पुरानै विधि र उपायको जबर्जस्त प्रयोग उचित पनि देखिएको छैन । शिक्षाविद्हरू पनि यसमा मन्जुर छैनन् । उनीहरूको भनाइ छ, बाध्यताका नाममा ज्यानै संकटमा पार्नेगरी प्रक्रिया पूरा गर्नु उचित होइन ।

परीक्षापूर्व खोप लगाउनु कोरोना संक्रमण रोकथामको भरपर्दो उपाय पनि हो । कम्तीमा पनि यसले संक्रमण रोकथामका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । आत्मविश्वासमा बढोत्तरी ल्याउँछ । रोकथामको एक प्रक्रिया पनि पूरा गर्छ । त्यसैले पनि परीक्षा हुनु दुई÷तीन दिनअघि खोप उपलब्ध गराउनुपर्ने माग विद्यार्थीमाझ रहेको थियो । यसले विद्यार्थीमा परीक्षा दिँदै गर्दाको मनोविज्ञानमा केही जटिलता पैदा गरिदिएको छ । त्रिभुव विश्वविद्यालयअन्तर्गत भइरहेका परीक्षामा सहभागी विद्यार्थी यति बेला दुईखाले मनोवैज्ञानिक दबाबमा रहेका छन् ः एउटा त जाँच पास कसरी गर्ने, अर्को कोरोना संक्रमण भएमा बाँच्ने हो कि मर्ने । यस अतिरिक्त परीक्षा हलमा प्रवेश गरेका विद्यार्थीले मास्क लगाएका त छन् नै । तर, परीक्षा हलमा सेनिटाइजर, तातोपानी र ज्वरो नाप्ने यन्त्र नराखिएकोमा विद्यार्थीले गुनासो गरिरहेका छन् । सरकारले ढिलो गरी विद्यार्थीका लागि खोप केन्द्र तोकिदियो । परीक्षाको तयारी गर्नु छ, घण्टौं लाइन लाग्ने समय छैन । परीक्षा केन्द्रहरूमा खोप केन्द्र राखिएको पनि छैन । खोप पनि विश्व विद्यालयस्तरका ६० हजार परीक्षार्थीलाई मात्रै लिन पाउने किटान गरिएको छ ।

परीक्षाको घनचक्करसँगै विद्यार्थीहरू विश्वविद्यालयस्तर र लोकसेवाले सञ्चालन गरेका परीक्षा भौतिक रूपमा हलभित्र उपस्थित भइरहेका छन् । विभिन्न कारणले गर्दा अधिकांश परीक्षार्थी खोपबाट वञ्चित छन् । कुरा परीक्षार्थीको मात्र होइन, आमजनताको पंक्ति खोपको प्रतीक्षामा छ । डेल्टा भेरियन्ट अमेरिकी बालबालिकालाई सताउँदै फैलिइरहेको छ । नेपालमा पनि ‘अघोषित’ तेस्रो लहर चलिसकेको अनुमान छ । यसले समाजमा ठूलो हिस्सामा रहेका बालबालिकालाई संक्रमण गर्ने विज्ञको अनुमान छ । हाल नेपालमा संक्रमणको उच्च चरणमा रहेको कोरोना महामारीको प्रकार उही डेल्टा भेरियन्ट नै हो । त्यसैले खोप आमरूपमा विस्तार गर्न र पछिल्लो समयमा बालबालिकाका लागि पनि तयार पारिएको खोपको मात्रा आयात गर्न ढिलाइ गर्नुहुँदैन । महामारी संक्रमणलाई नजरअन्दाज नगरौं ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

epaper

ताजा समाचार

आज जनैपूर्णिमा पर्व मनाइँदै