धनगढी । कैलालीको भजनी नगरपालिका–५ लालबोझीनजिकै बग्ने कान्द्रा नदी मानव बस्तीसम्मै आइपुगेको छ । बस्तीका केही घरकै आँगनमा पानी पुगिसकेको छ । आफ्नो घर आँगनमै कान्द्रा नदी पुग्न लागेको दृश्य एकोहोरो हेरिरहेकी लक्ष्मी चौधरीले भनिन्, ‘आँगनमै नदी पुग्न लागिसक्यो, नदी कटान रोक्न कतैबाट पनि पहल हुँदैन ।’
लक्ष्मीले हरेक वर्षा याममा यस्तै दृश्य देख्दै भोग्दै आएकी छन्् । कान्द्रा नदीको कटानका कारण हरेक वर्ष दर्जनांै परिवार विस्थापित हुने गरेका छन्् । धानबाली लगाएको सयौं बिघा जमिन डुबानमा पर्ने गरेको छ । हरेक वर्ष कान्द्रा नदीको कटान र घरपरिवारको विस्थापन देखेकी लक्ष्मीले विरक्त हुँदै भनिन्, ‘घरबास नदीले कटान गरे कहाँ बस्ने होला ?’
लालबोझीका लक्ष्मण चौधरी नदीको बहावले खाल्टाखुल्टी बनाएको ठाँउमा खुट्टाले छामेर खाल्डा पुर्ने प्रयासमा थिए । उनले भने ‘नदीले गर्दा बाटो निकै कमजोर भएको छ । हिलाम्मे बाटोमा बच्चा हिँड्दा कहिलेकाहीँ धस्सिन सक्छन्् । त्यसैले यो गरिरहेको छु ।’
भगतपुर बस्तीमा पसल गर्ने विपदराम चौधरी केही स्थानीयसँगै कान्द्रा नदीको कटान रोक्न नदीमा माटो हालिरहेका थिए । नदीको बहाव बढेसँगै धार परिवर्तन गर्दा कटान हुनबाट रोक्न उनीहरूले माटो भरिरहेको बताए । विपदरामले भने, ‘नदीको आवाज आयो र बहाव हेर्दा बढेको थियो । कटान हुन नदिन माटो ल्याएर सम्सम्याइरहेका छौं ।’
भजनी नगरपालिकाको पूर्वतर्फ कर्णाली नदी बग्छ । दक्षिणमा मोहना नदी छ । उत्तरबाट कान्द्रा, काँडा र पथरैया नदी बग्छन्् । बीचमा भजनी नगरपालिका छ । हरेक वर्षायाममा केही बेर अविरल र भारी वर्षा हुँदा नगरपालिकाका अधिकांश स्थानीय आत्तिन्छन्् ।
‘चारैतिर नदी नै नदी भएपछि वर्षायाममा सुरक्षित हुने कुरै भएन,’ भजनी नगरपालिका–४ का प्रविन चौधरीले भने, ‘हरेक वर्ष वर्षा याम सुरु हुनेबित्तिकै बाढीको चिन्ताले तर्साउँछ । तीन महिना राम्ररी सुत्नै सक्दैनौं । रातभरी जागै बस्नुपर्छ ।’
कुनै पनि सरकारले नदी कटान रोक्न पहल नगरेको उनको गुनासो छ । उनले भने, ‘कटान रोक्न तटबन्धनका योजना ल्याउनुपर्छ तर कोही कसैले पनि पहल नै गरेका छैनन् ।’
गत साउन ४ गते परेको अविरल वर्षाले विस्थापित आशाराम चौधरीले घरका सामान छिमेकीको घरमा राखेर मामाघरमा आश्रय लिइरहेका छन् । उनकै बस्तीका बा“धुराम चौधरीको परिवार पनि आफन्तकहाँ आश्रय लिएर बसेको छ ।
आशारामले भने, ‘अरूको घरमा कति दिन बस्ने होला ?’ उनले तीनवटा सरकार भए पनि कसैले समस्या बुझ्न नआएको बताए । उनले भने, ‘हामीलाई राहत होइन सरकारले सुरक्षित बसोबासको व्यवस्था गरिदिनुपर्छ ।’
आशारामले संघ, प्रदेश र स्थानीय सरकार भए पनि कसैले समस्या नसुनेको गुनासो गरे । ‘अहिले त मामाको घरमा आश्रय लिएर बसेको छु । कति सामान सडकमै छन्् । कति सामान छिमेकीका घरमा राखेको छु,’ उनले भने, ‘बस्नका लागि दुई कठ्ठा जग्गा थियो । नदी कटानले गर्दा अब चार धुर जति मात्रै बचेको छ ।’
आशारामका दुई भाइ, श्रीमती, छोराछोरी र नातिनातिना सो घरमा बस्दै आएका थिए । बाधुरामकी श्रीमती गीता चौधरीले भनिन्, ‘पाँच जनाको परिवार छ । भएको जग्गा कान्द्राले लग्यो । अहिले त माइत बसेको छु । कति दिन त्यतै बस्ने होला ?’ उनले बस्न अब जग्गाको व्यवस्था गर्नुपर्ने बताइन् ।
भजनी नगरपालिका–५ का वडा सदस्य शेरबहादुर बोहराले वडा नम्बर ५ को पुलियापुर बस्ती विगतदेखि नै नदीका कारण विस्थापित घरधुरी रहेको बताए । उनले भने, ‘पुलियापुर बस्ती विगतदेखि नै विस्थापित भइरहेका छन् । यस वर्ष थप दुई घर विस्थापित भएका छन् ।’ उनले विस्थापित परिवारको व्यवस्थापनका लागि कुनै टुंगो नभएको बताए ।
उनले भने, ‘प्रमुख जिल्ला अधिकारीसँग पनि पटकपटक भेट गरिसकेका छौं । तर, विस्थापित परिवारलाई कता लिएर राख्ने भन्ने टुंगो छैन ।’ उनले घर जग्गा कटान भएका व्यक्तिहरूलाई जग्गा उपलब्ध गराउने विषयमा पनि पहल नभएको बताए ।
भजनीका नगर प्रमुख शेरबहादुर चौधरीले यो वर्ष बाढीभन्दा पनि नदी कटानको समस्या स्थानीयले समस्या झेल्नुपरेको बताए । उनले भने, ‘यो वर्ष बाढी तथा डुबान भएको छैन । नदी कटानले समस्या ल्याएको छ ।’ उनका अनुसार भजनीका झन्डै १३ घरपरिवार कटानका कारण विस्थापित भएका छन् ।






