भनिन्छ, राजनीतिले समाजलाई डो-याउँछ, समाजले राजनीतिलाई स्थान दिन्छ । तर, समाजलाई डो-याउन नसक्ने राजनीति र राजनीतिलाई स्थान नदिने समाज भयो भने के हुन्छ ? त्यो राजनीति कस्तो होला ? आज यसै सन्दर्भमा केही छलफल गर्न खोजिएको छ । आज प्राकृतिक विपद्सहित हाम्रा नकारात्मक सोच र व्यवहारबाट नेपाली समाज ग्रसित छ । हाम्रो समाज समस्या र चुनौतीका पहाडले घेरिएको अवस्था छ । तर, अहिले राज्यका जिम्मेवार व्यक्ति राजनीतिक प्रतिस्पर्धाका नाममा अरू पार्टीले गरेको राम्रो काम देख्नै नसक्ने, अरूको खेदो खन्ने, खुट्टा तान्ने, वैयक्तिक, टीकाटिप्पणी आलोचना गर्नमा नै व्यस्त छन् ।
यति मात्र होइन एउटा कार्यकर्तालाई वर्षाैंसम्म नहुने कामको आशा देखाएर झुलाइरहने, जनतालाई झुटा आश्वासन बाँडेर भोट लिइरहने र पछि सो घरगाउँलाई फर्केर पनि नहेर्ने व्यवहार, गरी आएका छन् भने त्यसरी जनताले दिएको भोटमार्फत पाएका राजनीतिक पदप्रतिष्ठालाई आफ्नो निजी स्वार्थमा मात्र प्रयोग गरी अकुत सम्पति आर्जन गरिरहेका छन् । तर, जनताको जीवनमा अहिले पनि खानापानी, वातावरण, प्रकृति, स्वास्थ्य र सुरक्षाजस्ता विषय अहं सवाल बनिरहेका छन् । अहिले समाजका हरेक क्षेत्रमा आर्थिक अनियमितता भ्रष्टाचार एवं सेटिङका समाचार आउने गरेका छन् । यसतर्फ कसेको चासो, चिन्ता बहस छलफल छैन । वर्तमान नेपाली समाजमा महामारी व्याधीका रूपमा रहेको कोरना कहरको तेस्रो लहर आयो भने कसरी सामना गर्ने ? बाढीपहिरोको समस्याको दीर्घकालीन समाधान के हुन सक्छ ? जलवायु परिवर्तन, वातावरण प्रदूषणमा कसरी न्यूनीकरण गर्न सकिन्छ ? नेपालको कृषि उपजले यहाँको जनतालाई कति महिना खान पुग्छ ? देशलाई कसरी स्वाधीन र आत्मनिर्भर बनाउने भन्ने विषयमा बहस छलफल चलाउँदैनन् ।
आफ्नो देशको सीमा र भूमिको कसरी रक्षा गर्ने भन्ने बहस हुँदैन, सुखी नेपाली र समृद्ध नेपाल कसरी बन्छ भन्ने छलफलका एजेन्डा बन्दैनन् । वर्तमान अवस्थामा काठमाडौंवासीलाई मेलम्चीको पानीको चासो छ तर त्यो कसरी छिटो ल्याउन सकिन्छ र के गर्नुपर्ने हो भन्नेमा छलफल चलाउँदैनन् । चलाउँछन् छलफल बैठक केवल कांग्रेस कसरी बनाउने, कम्युनिस्ट कसरी बनाउने, भोट कसरी बढाउने ? आफू सत्तामा कसरी पुग्ने र ढुकुटी कसरी रित्याउने भन्नेमा नै ।
यस्तै जालसाजी कपटपूर्ण एजेन्डाका छलफल, भेला, बैठकमा नै सबै दल केन्द्रित छन् र सबै जनता कार्यकर्ता त्यसैको पछि लागेर हिँडिरहेको देखिन्छ । अलिअलि भएका सफा सडक र फुल बगानमा पनि जुलुस गर्ने, रूख बिरुवा भाँचिदिने र फोहोर थुपारेर कुरूप पारिदिने अनि त्यत्तिकै छोडेर हिँडिदिने, राजनीतिक नेता कार्यकर्ताको संस्कार छ । सार्वजनिक स्थानको सरसफाइ गर्ने कार्यक्रम त राख्तै राख्तैनन् । केवल चउरमा भाषण ठोक्ने र जनतासँग चन्दा असुली गर्ने नै दैनिकी बनेको छ । यस्तो राजनीतिक संस्कारले कस्तो संगठन निर्माण होला ? र, समाजले यसलाई कसरी स्वीकार गर्ला ? सोचनीय विषय भएको छ । सभ्य समाज, सामुदायिक कल्याण र सामुदायिक सोचाइका लागि असल नागरिक पहिलो सर्त हो । असल मानिस हुनु भनेको असल व्यवहार हुनु हो । दार्शनिक प्लेटोले ‘द पोलिटिक्स’मा असल नागरिकका लागि शासन गर्न र अनुशासित हुन जान्नुपर्छ भनेका थिए । असल मानिस भनेको स्वतन्त्रता, समानता, स्वायत्तता, सुखीपना, दयाभाव र आफ्नै आत्माप्रति प्रेम भाव राख्ने स्वभावको हुन्छ भन्ने गरिन्छ ।
समाज विकासको अनन्त प्रक्रियामा राज्य मात्र होइन, नागरिक समाजका अंग तथा असल मानिस पनि उदाहरणीय रूपमा अग्रसर हुनु आवश्यक छ
वास्तवमा लोकतन्त्र जीवन पद्धति हो र लोकतान्त्रिक शिक्षा संस्कारले नै त्यस पद्धतिलाई सहज र संस्थागत गर्छ । भूमिका, नियम, मूल्यमान्यता र लोकतान्त्रिक संस्था’boutको जानकारी असल नागरिकका लागि आवश्यक हुन्छन् । मतदान र अभिमत निर्माण गर्नु नागरिक जीवनका प्राथमिक क्रियाकलाप हुन् । असल नागरिक हुनु भनेको राजनीतिक प्रणालीमा विवेकपूर्ण सहभागिता मात्र होइन, व्यक्तिगत आचरण र व्यवहार पनि असल हुनुपर्छ । वैयक्तिक स्वार्थलाई सामूहिक स्वार्थमा समर्पण गर्न सक्नुपर्छ । असल मानसिकता र असल आचरणको समष्टि रूप नै असल व्यक्ति हो । सार्वजनिक जीवनका क्रियाकलापजस्तो सहभागिता, समझदारी, सहकार्य, सक्रियता, सबै राजनीतिक संस्कार र संस्कृति निर्माणसँग सम्बन्धित रहन्छन् । सिर्जनात्मक आलोचना र संवादले संस्कार निर्माणमा सहयोग पु¥याउँछ ।
यस सन्दर्भमा पहिले छलफल विचार गोष्ठी र पत्रपत्रिका मात्र परिचालन हुने गर्थे । अहिले सूचना प्रविधिको बरदानस्वरूप विद्युतीय माध्यम सेलफोन क्यामेरा टेलिभिजन भिडियो टेप कम्प्युटरसमेत प्रत्यक्ष अन्तरक्रियाका माध्यम भइसकेका छन् । विश्व सञ्जालमय भएको छ । तसर्थ, अब सभ्य समाज निर्माणका निम्ति असल कार्य गर्ने समुदायको सक्रियताको मात्र खाँचो छ । हामी सभ्य समाजका लागि सचेत मात्र छौं, सक्रिय हुन सकेका छैनौं । समाजमा नागरिक समाज बुद्धिजीवीलगायत सर्वसाधारण जनताको तहमा चियाचौतारी मेलापात भेटघाटमा राजनीतिक चियोचर्चाे भएको जस्तो देखिए पनि सशक्त ढंगले सक्रिय भएको पाइँदैन । सिंगो नेपाली समाज एकजुट भएर भोगेका देखेका विकृति र विसंगतिको अन्त्यका लागि दबाब सिर्जना गर्न सकेको अवस्था छैन । सक्रिय असल व्यक्ति जहिले पनि अरूप्रति सचेत र आफ्ना कामबाट अरूमा पर्ने असरप्रति संवेदनशील हुने गर्छ । यसो भयो भने समाज आफसे आफ सभ्य र शिष्ट हुन थाल्नेछ ।
हामी सबै कानुन र नियमको अनुसरण गर्न थाल्नेछौं । वास्तवमा कानुन र नियम नै सामाजिक आचरणका संयन्त्र हुन् । यस्ता संयन्त्रले असल नागरिक र असल राज्य व्यवस्था निर्माणका लागि मापदण्डको काम गर्छ । यो नै विधिको शासनको आधार पनि हो । हाम्रो समाज विविधताको भण्डार हो । समाजका मानिसमा भिन्नखाले इच्छा आकांक्षा आवश्यक्ता र मूल्य संस्कृति हुन सक्छन् । यी विविधताबीच यदाकदा विरोध विवाद र प्रतिस्पर्धाको सम्भावना पनि रहने गर्छ । तर, समूहमा रहँदा ती विविधताबीच साझा सहमति साझा इच्छा र साझा अपेक्षा स्थापित गर्न कतिपय व्यक्तिगत विषय समर्पण गर्नुपर्ने हुन सक्छ । त्यो गर्न तयार हुनु नै असल नागरिकको गुण हो । व्यक्तिको गोपनीयताको विषय उसको नैसर्गिक सम्पति हो भने पारदर्शिता चाहिँ समाजको अपेक्षा हो । कानुनप्रति आदरभाव उसको दायित्व हो भने यसप्रति असहमति जनाउन पाउनु नै नागरिक हक हो । असल नागरिकको संस्कार हामीमा भयो भने विविध चाहना र मान्यताबीच सन्तुलन ल्याउने, विविधतामा एकता कायम गर्ने र साझा मान्यता स्थापित गर्ने भावना सीप र साहस हामीमा स्वतः स्थापना गराउँछ । बहुलवादी समाजमा सामाजिक सहभावका लागि राजनीतिक संस्कारको आवश्यकता खड्किँदै गएको छ । सामाजिक राजनीतिक प्रक्रियालाई निर्दिष्ट गर्न र कतिपय अवस्थामा राज्य प्रणालिमाथि पहरेदारी गर्न उच्च राजनीतिक संस्कार प्रदर्शित गर्न सक्नुपर्छ ।
यसका लागि स्वस्थ प्रतिस्पर्धा, आपसी विश्वास र पारिस्परिक सम्बन्ध, संयमता, लोकतान्त्रिक चरित्र मूल्यमान्यता विचारप्रतिको आस्था, जनताप्रतिको समर्पण, नैतिक सदाचार प्रवद्र्धन, गर्न सक्नुपर्छ । यसो भयो भने घर परिवार समाज राष्ट्र र विश्व तहमा मानवता समझदारी नैतिक आचरण र सार्थक सक्रियताबाट सभ्य नागरिक समाज र संगठन निर्माण गर्न सकिन्छ । यो अनन्त प्रक्रियामा राज्य मात्र होइन, नागरिक समाजका अंग र असल मानिस पनि उदाहरणीय रूपमा अग्रसर हुनु आवश्यक छ । यदि यसो गर्न सक्रिय भएनांै भने आजको देखिएको गलत राजनीतिक संस्कारले भोलिको हाम्रो समाज कस्तो निर्माण गर्ला ? अहिल नै सोचांै ।






