कोरोना महामारीकोे पछिल्लो रिपोर्टमा संख्यात्मक रूपमा केही सुधार आएको देखिए पनि सरकारले सतर्कतामा केही कडाइ हुने गरी निर्णय लिएको छ । भाद्र १६ गतेसम्मका लागि थपिएको निषेधाज्ञामा विभिन्न सेक्टर हेरी आवश्यकताअनुसार कतै खुकुलो त कतै कडाइ गरिएको छ । दैनिक गरिने पीसीआर परीक्षणमा कमी भएकाले पनि संख्या घटेको जस्तो देखिएको हो तर अवस्थामा खासै सुधार भने आइनसकेकाले लापर्बाही गर्ने अवस्था छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो २४ घण्टे रिपोर्टमा ९ हजार ९ सय ९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९ सय १ एन्टिजेन परीक्षणमा ५ सय ५ जना गरी २ हजार ५ सय २५ जनामा संक्रमण पुष्टि भएको देखिएको छ । कोरोना संक्रमित र निको हुनेको संख्यामा केही फरक देखिए पनि संक्रमणबाट निको हुनेको संख्या उल्लेख्य भएको मान्नुपर्नेहुन्छ । तर, पनि महामारी संक्रमणबाट मृत्यु हुनेको संख्यामा खासै फरक आउन सकिरहेको छैन । दिनहुँ हुने सरदरको संख्याले कोरोना संक्रमण र निको हुनेको संख्यामा अस्थायी रूपमा निरन्तरता देखिएको छ ।
कोरोना महामारीबाट बच्न अपनाइएका उपाय आमजनताका लागि नौलो नभएकाले पनि सबैजसोले मास्क लगाउने गरेको, आवश्यक भौतिक दूरी कायम गर्न सतर्क रहेको र खोप लिन इच्छुक रहेको देखिएको छ । खोप केन्द्रहरूमा दैनिक मानिस उपस्थित भइरहेकाले खोप नै महामारी नियन्त्रणका लागि अन्तिम विकल्प भएको आमजनतामा चेतना पसिसकेको देखिन्छ । यही स्तरको सचेतनामा महामारीको विभिन्न भेरियन्टसँगै जुध्दै जाँदा अपनाउनुपर्ने थप सतर्कता व्यवहारतः विकास गरिँदै र प्रयोगमा ल्याइँदै गरेमा आगामी दिनमा महामारीको पहिलो लहर आउँदाको बखतझैं सन्त्रास र विनासले घर बनाउन सक्नेछैन । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० रहेको छ । यो कुल संक्रमित संख्यामध्ये ३५ हजार १ सय ४५ जना होम आइसोलेसनमा रहनुले पनि आमजनता अब हिजोको जस्तो त्रास र अज्ञानतामा छैनन् भन्ने देखिन्छ । होम आइसोलेसनमा स्वयंले सतर्कतापूर्वक आफ्नो स्याहार र रेखदेख गर्न थाले भने अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा हुने अनावश्यक भार कम भएर जानेछ । यसले आमजनतामा फैलिएको कोरोना संक्रमणको महामारी रोक्न सहभागितामूलक प्रतिरोध बढाएर लैजानेछ ।
महामारीको तेस्रो लहर आउने र यसले अस्पतालका बेड तथा विशेष उपचार कक्ष भरिने र संक्रमितको उपचार गर्न नसकिने पूर्वआँकलन कम त्रासदीपूर्ण बनाउँदै लैजान थालेको छ । संक्रमणको उच्च चाप रहँदा पनि संस्थागत आइसोलेसनमा केवल ३ हजार १ सय ५ जना मात्र रहनुले पनि यो कुरालाई पुष्टि गरिसकेको देखिन्छ । देशका कुल बिरामीमध्ये ६ सय २० जना आईसीयू र १ सय ७० जना भेन्टिलेटरमा उपचाररत रहनु पनि रोकथामका उपायहरूको सिर्जनात्मक र सचेतन प्रयोग हुनु हो । तथापि, बालबालिकामाथि संक्रमण ल्याउने भनी आँकलन गरिएको तेस्रो लहर आउँदा हामीले अपनाएको अहिलेको झैं होम आइसोलेसन र सचेतन प्रयत्नले काम गर्ला कि नगर्ला भन्ने कुरा शंकाको घेरामा राखिदिएको छ । तैपनि खोपको विस्तार र त्यसले जनताको मनोबलमा ल्याएको वृद्धि तथा रोकथामका उपायको सहज प्रयोग र त्रासदीको कमीका कारण सम्भावित संक्रमणसँग लड्न सक्ने देखिन्छ । यसका लागि अझै पनि थप सतर्कता भने जरुरी छ ।