परिवर्तन यहाँ गर्नु छ

नेपालका ग्रामीण जाँतो, ढिकी, कोल स्वचालित बनाउनु छ । किसानले चलाउने हलो, कुटो कोदालो आधुनिक मेसिनबाट स्वचालित चल्ने प्रविधिको विकास गर्नु छ । विदेशबाट महँगोमा किनेर ल्याएको कीटनाशक औषधिले बालीनालीमा लाग्ने शत्रु कीरा मात्र होइन, मित्र कीरासमेत मार्न प्रयोग भएको छ । जसले बालीनालीमा प्रजनन प्रक्रियामा नै असर गरेको छ र उत्पादन शक्तिमा ह्रास आएको छ । अत्यधिक विषादीको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याएको छ । त्यसभन्दा पनि विषादीको प्रयोगले मानव शरीरमा भयानक असर गरेको छ । यसैको कारण मानवीय स्वास्थ्यमा घातक रोग क्यान्सर, छालाजन्य रोग, आँखाको रोग, अपांग, बाँझोपन आदि दिनप्रतिदिन बढिरहेको छ ।

सुरुवात यहाँबाट भएको छः मानिस स्वार्थी प्राणीमध्ये एक हो । त्यही स्वार्थी स्वभावले उसलाई कालान्तरमा अन्त्यको बाटोतिर डो-याएको छ । उसलाई छिटो धनी हुनु छ । अनि उसले अनेक हत्कण्डा रचना गर्न थाल्छ । जसलाई बुझ्न सजिलोका लागि केही उदाहरण प्रस्तृत गर्नु सान्दर्भिक होला । गाउँले मान्छे भन्नासाथ सबैको नजरमा सोझो, इमानदार, परिश्रमी भन्ने हुन्छ । तर, ऊ छिटो धनी बन्ने लालसाले अखाद्य वस्तुको प्रयोग गर्न पुग्छ । गाउँले भाषामा यसलाई पाप भनिन्छ । बूढापाकाको भाषामा पाप गर्नुहुँदैन । पाप गरेमा पुस्तौंपुस्ता (सन्तान दरसन्तान) सम्मलाई पोल्छ भन्ने चलन छ । ती बूढापाकाको भनाइ बेवास्ता गरेर अहिले सबैभन्दा पाप कार्य सुरु भएको छ । तरकारीमा अत्यधिक विषादी, छिटो बढ्ने औषधिको प्रयोग, रक्सी कडा (झ्याप्प लाग्ने) बनाउन कानेगुजी, केराको रस, मोजा डुबाउने, महमा चिनीको मात्रा बढी प्रयोग, घिउमा पिडालु, वनस्पति घिउ आदि मिसाउने खराब आचरणले प्रश्रय पाएको छ । यिनै खानामा अखाद्य वस्तु मिसावटको कारण मानिसको स्वास्थ्यमा प्रतिकूल असरस्वरूप विविध रोग देखिन थालेका छन् । यो स्वार्थी खराब आचरणले एकातिर आफ्नै स्वास्थ्यमा असर गरिरहेको छ भने अर्कोतिर त्यसको उपभोक्ताले स्वास्थ्यमा ठूलो क्षति बेहोर्नुपरेको छ ।

दैनिक मानवीय जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषयमै विकृति भएको कारण आजसम्म नेपाल गरिबको सूचीमा अग्रपंक्तिमा सूचीकृत हुन बाध्य छ ।

आधुनिक प्रविधिको विकासको आवश्यकताः हामीले प्रयोग गर्दै आइरहेको घरेलु हतियार मानिसद्वारा सञ्चालन गर्नुपर्ने बाध्यता छ । उत्पादनशील जमिन बढ्दैन, बरु प्राकृतिक विपत्तिको कारण घटिरहेको छ । जनसंख्या भने दिनप्रतिदिन बढिरहेको छ । यो सदाबहार एकै किसिमको जमिनले बढिरहेको जनसंख्यालाई पाल्न सक्ने बनाउने चुनौती छ । यो चुनौती चिर्न हामीले प्रयोग गर्दै आइरहेको उत्पादनका साधन र यो जनशक्तिलाई आमूल परिवर्तनको जरुरी छ । जुन नेपालमा अहिले सिकाइरहेको शिक्षाले हाम्रो घरेलु हतियार, हाम्रा स्थानीय स्रोतसाधनको पहिचान गर्न सकेन । यी मानिसद्वारा सञ्चालित औजारलाई कसरी आधुनिक बनाउन सकिन्छ भन्नेतिर कुनै पनि विद्वानको ध्यान पुग्न सकेन । जसको फलस्वरूप आज नेपाल प्राकृतिक रूपमा धनी हुँदाहुँदै पनि गरिबको दर्जा पाउन बाध्य छ । त्यसको सजाय आमगरिबीमा पिल्सिन बाध्य नेपाली जनताले भोग्न बाध्य भएको छ ।

अहिले स्वास्थ्य चेतनाको कारण अर्गानिक (जैविक) खानाको प्रयोगमा अत्यधिक वृद्धि भइरहेको छ । यस्तोसम्म भइसकेको छ कि जैविक खाना भनेर बजारमा प्रचारप्रसार गरिदिनुस् त्यसको खोजीमा मान्छे आफंै दौडिएर आइपुग्छ । तर, त्यो अर्गानिक छ वा छैन त्यसको जाँच गर्ने चलन छैन । कुनै एउटा दुर्गम क्षेत्रको नाममा अन्यत्रको सामानको बिक्री वितरण भएको पनि हुन सक्छ वा वास्तविक अर्गानिक नहुन पनि सक्छ ।

विदेशी सहुलियत र आधुनिक प्रविधियुक्त उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर नेपाली उत्पादन हेलामा परेको छ

त्यसलाई पहिचान गर्ने प्रविधिको विकास गरेर मात्र पुग्दैन । वास्तविक अर्गानिक खेतीको लागि सहुलियत दिएर मात्र पनि पुग्नेवाला छैन । दुर्गम क्षेत्रमा त्यस्ता अर्गानिक खेतीको कमी छैन । अभाव छ त खाली बजारको । त्यसलाई बजारसम्म ल्याउन कम्पनी दर्ताको आवश्यकता पर्छ । दुर्गम क्षेत्रमा उत्पादित खाद्य वस्तुलाई बजारको व्यवस्थित पहुँचको आवश्यकता छ । बजारको व्यवस्थित गरेसँगै उत्पादनमा आधुनिक प्रणाली भिœयाउनु छ । अनि त्यसमा प्रयोग गरिने घरेलु औजारलाई समयानुकूल परिमार्जन र सकेसम्म स्वचालित बनाउनु छ । नेपालमा काम नपाएर बेरोजगार हुनुको प्रमुख कारण उत्पादित वस्तुले बजारमा खपत नभएर हो । नेपालका युवा बेरोजगार जनशक्तिलाई बाह्रैमास रोजगार उपलब्ध हुनेगरी कृषि उत्पादनमा विविधीकरणसँगै त्यसलाई बजारको पहुँच बनाउन जरुरी छ ।

सुधारको आवश्यकताः नेपालमा पहिलो सुधार गर्नुपर्ने लिस्टमा शिक्षा प्रणाली नै हो । शिक्षा रोजगारोन्मुख भएर मात्र पुग्दैन भन्ने अहिलेको प्राप्त प्राविधिक ज्ञानबाट प्रस्ट भइसकेको छ । प्रविधियुक्त शिक्षा र तालिमसँगै त्यस शिक्षण संस्थाले उत्पादन पनि गर्नु जरुरी छ । शिक्षा र तालिमसँगै काम पनि ग¥यो भने त्यो कुरा प्रत्यक्ष सिक्ने र व्यावहारिक ज्ञान प्राप्त गर्छ । व्यावहारिक ज्ञानको अभावमा नेपाल सरकारअन्तर्गत सञ्चालित तालिम र शिक्षाबाट खासै उपलब्धि हासिल हुन नसकेको तिनै तालिम प्राप्त युवाबाट प्रस्ट हुन्छ । नेपाल कृषिप्रधान देश भनेर पहिलेका पाठ्यसामग्री बनेको कुरा धेरै लामो भएको छैन । आज त्यही कृषि नेपालीका लागि घाडो साबित भएको छ । विदेशबाट सहुलियत र आधुनिक प्रविधियुक्त उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर नेपाली उत्पादन हेलासी भएको छ । नेपाली कृषक उत्पादक र औद्योगिक उत्पादन छोडेर विदेशतिर पलायन हुन बाध्य छन् । नेपाल सरकारले त्यसलाई रोक्न ती उत्पादन प्रतिपर्धी र बजारमा खपत गर्ने वातावरण बनाउनुको साटो युवा जनशक्तिलाई विदेश पठाउनमा फाइदा देख्छ ।

नेपालमा कृषि, शिक्षा, स्वास्थ्य र प्रविधिमा अधिक सुधारको खाँचो छ । मानवीय दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषयमै विकृति भएको कारण आजसम्म नेपाल गरिबीको सूचीमा अग्रपंक्तिमा सूचीकृत हुन बाध्य छ ।

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

epaper

ताजा समाचार

'मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोला'