एमाले एकताको सन्देश

आठ महिना अघिदेखि तीतो आन्तरिक विवाद झेल्दै फुटको सँघारसम्म पुगेको नेपाल कम्युनिस्ट पार्टी एमाले उतारचढावका शृंखला पार गर्दै फेरि एकताको लयमा फर्किएको छ । दोस्रो पुस्ताका नेताहरूले फुटको सट्टा एकतालाई आफ्नो भविष्य ठानेपछि एमालेमा पार्टी एकताको प्रक्रिया अघि बढेको हो । यसले आमजनतामाझ फुट र निराशा होइन, एकता र उज्ज्वल भविष्यको सन्देश प्रवाह गरेको छ । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीले पार गरेको ७२ वर्षको लामो इतिहासमा दर्जनौं पटक फुट र जुटको तीतोमीठो अनुभूति संगाल्दै आएको छ । पछिल्लो समयमा नेपालको इतिहासमै वामपन्थीबीच चुनावी गठबन्धन बनेर त्यसले बहुमत प्राप्त गरेसँगै अन्य पार्टीसँगको सहकार्यमा दुई तिहाइ बहुमतको सरकार निर्माण गर्न सफल भएको थियो । यो सरकारले देशमा ठुल्ठुला सुधारका काम गर्ने र त्यसको प्रतिफल जनताले पाउने अपेक्षा सबैमा थियो । तर, वाम गठबन्धनपछि एमाले र माओवादीबीच पार्टी एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक मतभेदले दरार पैदा गर्दै गयो । एकता गरी निर्माण भएको नेकपा फेरि साबिकको एमाले र माओवादी (केन्द्र)को पुरानै अवस्थामा फर्कने वातावरण बन्यो । त्यतिबेलासम्म साबिक एमालेभित्र पनि दुई खेमा देखिइसकेको थियो । एमाले पार्टीमा देखिएको दुई धारको दूरी टाढा हुँदै गइरह्यो ।

वाम एकताको सपना देख्ने र त्यसमा पनि सबैभन्दा ठूलो पार्टी एमाले एकताबद्ध भएको देख्न चाहने सबैका लागि यो पीडाको विषय बन्दै गयो । यसै सिलसिलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संरचनालाई २ जेठ २०७५ को अवस्थामा फर्काउने र पार्टी एक ढिक्का बनाउनेगरी गरेको प्रयासस्वरूप २०७८ भाद्र ८ गते आयोजित पार्टी स्थायी समितिको बैठकबाट एकता भई पार्टी पुरानो लयमा फर्कंदै गरेको छ । यसले कम्युनिस्टहरू फुटेर होइन, बरु जुटेर केही गर्न सक्छन् भन्ने देखाएको छ । यति हुँदाहुँदै पनि एमालेका पुराना नेताहरू माधव नेपाल र झलनाथ खनाल पक्ष भने एकतामा आउन सकिरहेको छैन । माधव–झलनाथ पक्षले नेकपा समाजवादी पार्टी दर्ता गरिसकेकाले एमालेमा बाँकी रहेको एकता प्रक्रिया थप अघि बढाउनुपर्ने देखिएको छ । एमाले अध्यक्ष ओलीले यो विभाजन नभएर चोइटिएको दाबी गरे पनि यसले एमाले एकतामा ठूलो मनोवैज्ञानिक असर पु¥याउनेछ । यसलाई समयमै ख्याल गरिनुपर्छ । संख्यात्मक वा सांगठनिक रूपमा मात्र अनुमान गर्न थालियो भने यसले एमाले पार्टी एकतालाई पूर्णतामा पु¥याउन व्यवधान खडा गर्नेछ ।

यसका लागि नेताहरूमा सहनशील व्यवहारको खाँचो छ । एकले अर्कालाई ठीक गर्ने, पेलेर तह लगाउने, निकालेर अस्तित्वविहीन बनाउने वा चुनावमा हराएर पार्टी एकतामा लैजानेजस्ता पूर्वाग्रहीपूर्ण सोच र तदनुरूपका काम गर्न थालियो भने यो एमाले पार्टीका लागि त घाटा नै हुने देखिन्छ, त्यसमा पनि सिंगो कम्युनिस्ट आन्दोलनका ठूलो घाटा हुन जानेछ । एमालेमा दोस्रो पुस्ताका नेताहरू सामेल भएपछि पारित प्रस्तावमा ‘एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास गरिहेका कमरेडलाई आग्रह गरिने’ भनिएकाले पार्टी एकताको प्रक्रियालाई जारी राखिने देखिएको छ । एमाले पार्टीभित्र आएको समस्या एकताबाट हल गरिनु सम्भव छ, फुटबाट होइन । हाल दोस्रो पुस्ता सम्मिलनसहितको एकताले बाँकी रहेको एकता प्रक्रिया पनि समयमै पूरा गर्दै जानुपर्ने सन्देश दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जो १ मतले विजयी भए…