काबुलमा जारी उद्धार कार्य पछिल्लो समय प्रभावित भएको छ । काबुल विमानस्थलमा भएको बम विस्फोटनपछि उद्धार कार्य ठप्पजस्तै हुन पुगेको छ । अमेरिकी सेना त्यहाँबाट फिर्ता हुने क्रममा अन्य देशका नागरिक तथा अफगानी नागरिक पनि काबुल छाड्न विमानस्थल ढाक्नेगरी उपस्थित हुन थालेपछि प्रभावित हुँदै गरेको उद्धार कार्य तालिवानीहरूले विमानस्थल प्रवेश गर्ने बाटोहरूमा काँडेतार बिछ्याएपछि त ठप्प नै हुन पुगेको छ । विदेशी नागरिक तथा तालिबानलाई मन नपराउने अफगानी नागरिक अहिले अलपत्रको अवस्था छन् । उद्धार भई स्वदेश फर्किएका नेपाली नागरिकका अनुसार विमानस्थलको ’round बन्दुक र राइफल पड्किइरहेको आवाज आइरहेको छ । मानिसहरू महाप्रलयमा परेझैं अलापविलाप गरिरहेका छन् । यस्तो कहालीलाग्दो दृश्य देखेर आएका नेपालीहरू नै काबुल भोलिका दिनमा कुन अवस्थामा फर्कने हुन् भन्दै अनिश्चितता र भय प्रकट गरिरहेका छन् । राजधानी काबुल तालिबानको हातमा पर्दा शान्तिपूर्णजस्तो देखिए पनि त्यसपछिको अवस्था भने महाप्रलयले ल्याएको परिणामझैं देखापर्न थालेको छ । यसले निम्त्याइरहेको मानवीय संवेदना विश्वका लागि निकै सोचनीय बनिरहेको छ ।
त्यसो त अफगानिस्तान इतिहासदेखि हालसम्म सबैभन्दा बढी अस्थिरता र अराजकता बेहोर्दै आइरहेको छ । भौगोलिक हिसाबले युरोपबाट थल मार्ग र घाँटी हुँदै दक्षिण एसिया प्रवेश गर्ने प्राचीन द्वारका रूपमा रहेको अफगानिस्तान हरेक शाताब्दीमा विदेशी शक्तिको अतिक्रमण, आक्रमण र उत्पीडनको सिकार बन्दै आइरहेको छ । प्राचीनकालमा पर्सियन, सिकन्दर, मंगोल, मुगललगायतका शासकहरूको हमला खेपेको अफगानिस्तानले पछिल्लो कालमा बेलायत, रुस र अमेरिकाको अतिक्रमण र शासन बेहोरिसकेको छ । यति मात्र होइन, विभिन्न समूहमा विभाजित घरेलु धार्मिक सम्प्रदाय र समूहको भिडन्तको अकल्पनीय पीडा पनि यसले बेहोर्दै आएको छ । भित्र हेर्दा अफगानीको लडाइँ तर विदेशी हतियारको प्रयोग र प्रदर्शनले अफगानी गृह कलह पनि कम पीडादायी हुने गरेको छैन । सन् १९८९ मा रुसी सेना मास्को फर्किए लगत्तै तत्कालीन मुजाहिद्दिन र तालिबानी लडाकुहरू रुसी एके–४७ बोकेर टी–५५ ट्यांकमा हतियार प्रदर्शन गर्दै हिँडेको दृश्य देखिने गथ्र्याे । अहिले सन् २०२१ मा आएर तालिबानी लडाकुहरूले अमेरिकी एम–१६ राइफल बोकेर अमेरिकी फौजी ट्यांकहरूमा बसेर प्रदर्शन गरिरहेको देखिएको छ । यसले अफगानी जनतामा मानवीय सन्त्रास खडा गरिरहेको सहजै अनुमान हुन्छ ।
अगस्ट ३१ सम्मको काबुल छाड्ने समय सीमा आउनुअगावै काबुल विमानस्थलमा भएको बम विस्फोटले अमेरिकी सेनालाई हतारहतार काबुल छाड्ने बनाएको छ । काबुल परित्याग गर्दै गर्दा अमेरिकी सेनाले जहाज, गाडी, हेलिकोप्टर, अत्याधुनिक सानाठूला हतियार र बन्दोबस्तीका सामान छोडेर गएपछि ती सबै तालिबान लडाकुको हातमा परेका छन् । आधुनिक हतियारले सुसज्जित तालिबानले फेरि ठूलो मात्रामा हतियार पाएका छन् । यसले त्यहाँ रहेको तालिबानविरोधी मत राख्ने अफगानीहरूमा थप त्रास सिर्जना गराएको छ । यी हतियार सरकारसँग रहनेछन् वा तालिवान लडाकुसँगै भन्ने यकिन हुन नसक्दा अफगानमा रहेका अन्य सशस्त्र समूहसँग हुन सक्ने झडपमा तालिबानले ती हतियार प्रयोग गर्न सक्ने चिन्ता छाएको छ ।






