स्थानीय प्रविधिलाई आधुनिकीकरण गर्न जरुरी

कर्णाली प्रदेशका पहाडी जिल्लामा परम्परागत रूपमा काठको काम गरेर जीविकोपार्जन गर्दै आइरहेका चँदारा जाति र उनीहरूले अंगालेको पेसा अहिले चरम संकटमा परेको छ । मोही पार्ने ठेकी, पिठो मुछ्ने कोसी, कचौरा आदि बनाएर दैनिक गुजारा चलाउँदै आएका चँदारा अहिले के गरी जीविकोपार्जन गर्ने भन्ने चिन्तामा छन् । त्यसको मुख्य कारण हो, जंगलमा काठ पाइन छाड्नु, सामुदायिक वनमा काठ काट्न नदिनु र काठबाट बनेका सामान उचित मूल्यमा बिक्री नहुनु । चँदारा जातिले आफ्नो पेसालाई निरन्तरता दिन र परम्परागत सीप तथा क्षमतालाई कायमै राख्न काठको खोजीका लागि नयाँनयाँ जंगलमा जानुपर्छ । तर, सामुदायिक वनको अवधारणा आएपछि र उक्त अवधारणा सफलतापूर्वक लागू हुँदै गएपछि वनमा काठ काट्न प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्धले सबैभन्दा ठूलो नकारात्मक असर चँदारा जातिको पेसामा पर्न गएको छ । यो समस्या समाधानका लागि कि त काठको पेसामा आधुनिकीकरण गरिनु जरुरी छ कि त त्यस पेसाको विकल्पमा अन्य पेसा अपनाउनु जरुरी हुन आएको छ । तर, आत्मगत रूपमा चँदारा जाति न त परम्परागत पेसा त्याग्न तयार छन् । न त सरकारले उनीहरूको पेसा संरक्षण र जीविकोपार्जनका लागि नयाँ वैकल्पिक कार्यक्रम नै ल्याएको छ ।

एक त वनमा जान नदिने अर्कोतिर व्यक्तिका बारी तथा खरख¥यानमा भएका काठ खरिद गरेर ठेकी तथा कोसी बनाउँदा पनि तिनमा लागेको पारिश्रमिकसमेत नउठ्नुले चँदारा जाति खिन्न अवस्थामा छन् । फाटफुट रूपमा हुने बिक्री र मागले गर्दा उनीहरूको पेसा निकै संकटमा रहेको छ । परम्परागत पेसा र प्रविधिको जगेर्ना अबका दिनमा जातीय पेसाका आधारमा गरिन सम्भव छैन । अवस्था हिजोको जस्तो पनि छैन । आधुनिकीकरणले समाजलाई गाँजिरहेको छ । आधारभूत तथा सामाजिक आवश्यकताका सीमाहरू निकै फराकिलो हुँदै गइरहेको छ । परम्परागत सीपमा आधुनिकताको खाँचो देखिइरहेको छ । यसले आधुनिक उत्पादनका लागि नयाँ र आधुनिक उत्पादन सामग्रीको माग गरिरहेको छ । अर्कोतिर परिवर्तित समयसँगै सीप र कलामा आधुनिकपन आउनु जरुरी हुन गएको छ । मानिस मेसिनबाट उत्पादित सामानमा भर पर्न थालेका छन् । कृत्रिमतामा जीवन जिउन थालेका छन् । आफ्ना मौलिकता र मौलिक उत्पादनको पहिचान तथा संरक्षण र खपतसँगै तिनप्रतिको चासो र माया पनि हराउँदै जान थालेको छ । यसले गर्दा चँदारा जातिजस्ता काठको पेसामा निर्भर रहँदै आएकाहरू आफ्नो पुख्र्यौली पेसा छाड्न बाध्य भइरहेका छन् भने नेपाली मौलिकता पनि लोप हुँदै गइरहेको छ ।

अब त घर, डेरा र कोठामा काठका कोसी, मुसल, ठेकी फुरु, गिलास र कचौरा देखिन छाडेका छन् । धातुका भाँडा केही देखिन्छन् भने अधिकांश प्लास्टिकका सामानहरू प्रयोगमा आइरहेका छन् । काठको परम्परागत पेसा अवश्य पनि बदलिँदो समाज र सामाजिक मान्यताअनुरूप हुन नसकेको चँदारा जातिलाई पनि बोध भइरहेको छ । तर, यसको आधुनिकीकरणका लागि बजेट, नयाँ प्रविधि र तालिमको आवश्यकता छ । यसका लागि उनीहरूको न त आर्थिक हैसियत छ न त आधुनिक सीप र कला नै । त्यसैले यो परम्परागत सीपमा नयाँ कौशलता भर्न स्थानीय सरकार र संघीय सरकारको सहयोगमा काठ पेसामैत्री उपकरण, तालिम र अनुदान उपलब्ध गराउने काम जरुरी हुन आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 664 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन