सिन्धुली । जिल्लामा हुन लागेका ठुला सार्वजनिक कार्यक्रमहरु रोकिएका छन् । विश्वभर फैलदै गएको कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै तय गरिएका कार्यक्रमहरु स्थगित गरिएका हुन् ।
सिन्धुलीमाडीमा हुन लागेको फुड फेस्टिवल, तिनपाटन गाउँपालिकामा फागुन २३ गतेदेखि हुन लागेको तिनपाटन महोत्सव लगायतका सार्वजनिक कार्यक्रम तथा मेला महोत्सवहरु रोकिएका छन् । यस्तै हरिहरपुरगढी गाउँपालिकाले भ्रमण वर्षलाई लक्षित गरि आयोजना गर्न थालेको हरिहरपुरगढी महोत्सव पनि स्थगित गरिएको जनाएको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीले फागुन २१ गतेको बैठक र २२ गते आयोजना गर्ने भनेको कार्यकर्ता प्रशिक्षण समेत स्थगित गरेको छ । मानिसको आवात जावत बढी हुने ठाउँमा नजान र आवश्यक काम बाहेक हिडडुल नगर्न सरकारले आग्रह गरेपछि जिल्लाका सबै खालका सार्वजनिक कार्यक्रम स्थगित भएका हुन् । सिन्धुलीका स्थानीय तहले महिला दिवस (८ मार्च) का अवसरमा मानिस धेरै जम्मा हुने खालका कार्यक्रम समेत नगर्ने भएका छन ।
यसैबिच जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बुधबार एक सूचना जारी गर्दै जिल्लामा तय गरिएका सार्वजनिक कार्यक्रमहरु स्थगित गर्न अनुरोध समेत गरेको छ । जसका कारण यस अघि तय भएका कार्यक्रमहरु समेत नहुने भएका हुन् । सवै क्षेत्रमा पछिल्लो समयमा विश्वलाई नै चुनौति दिएको कोरोना भाईरसको संक्रमण हुन सक्ने भन्दै यस्ता मेला, महोत्सव तथा सार्वजनिक कार्यक्रम नगर्न प्रशासनले विज्ञप्ती मार्फत अनुरोध गरेको हो ।
प्रशासनद्धारा जारि गरिएको सूचनामा मित्र राष्ट्र चीनमा सर्वप्रथम देखा परेको कोरोना भईरस विश्वका विभिन्न मूलुकमा फैलँदै विश्वव्यापि चुनौती बन्न पुगेको भन्दै उक्त भाईरसबाट संक्रमित हुनबाट जोगिन जात्रा, पर्व, मेला महोत्सव नगर्न नगराउन जिल्लाबासी आम नागरिक समक्ष जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अनुरोध गरेको छ उल्लेख गरिएको छ ।
कोरोना भाईरसको संभावित संक्रमण एवं भाग नलिई तथा व्यक्तिगत सरसफाईमा ध्यान दिई सम्भावित संक्रमण रोक्न सहयोग गर्न सम्पुर्ण जिल्लाबासीलाई प्रशासनले अपिल समेत गरेको छ ।






