जनकपुरधाम । प्रमुख स्वकीय सचिवको तलब खाँदै आएका प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायका छोरा दिनेशकुमार यादवको तलब रोक्का भएको छ ।
छोरा दिनेशलाई मन्त्री रायले प्रमुख स्वकीय सचिवको रुपमा नियुक्त गरेका थिए । उनीसँगै मन्त्रीका अर्का सचिव मैयुद्दीन अन्सारीको पनि तलब रोक्का गरिएको मन्त्रालयका लेखा अधिकृत परशुराम मिश्रले बताएका छन् । शैक्षिक प्रमाणपत्र पेश नै नगरेरै नियुक्ति गरिएकाले तलब रोक्का गरिएको बताइएको छ ।
यसअघिसम्म विना शैक्षिक प्रमाणपत्र नै मन्त्रीको सचिवालयका सदस्यलाई तलब खुवाउने गरिएको थियो तर महालेखा परीक्षकको कार्यालयले खुवाइएको पारिश्रमिक सबै बेरुजु ठहर गरिदिएको छ ।
‘सचिवालयका सबै सदस्यको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पत्राचार गरेर निर्देशन दिइएको छ,’ लेखा अधिकृत मिश्रले भने, ‘हामीले सोही निर्देशनानुसार शैक्षिक प्रमाणपत्रको कागजात पेश गर्न उहाँहरूलाई अनुरोध गरेका थियौं ।’ तर मन्त्रीका छोरा दिनेशकुमार यादव र अर्का स्वकीय सचिव अन्सारीले हालसम्म शैक्षिक प्रमाणपत्र पेश गर्न नसकेका कारण तलब रोक्का गरिएको उनले बताए ।
२०७६ मंसिरदेखि तलब रोकिएको छ । ‘गत आर्थिक वर्ष २०७५र०७६ मा मन्त्री तथा राज्यमन्त्रीको सचिवालयका सदस्यहरूको पारिश्रमिक मुख्यमन्त्री कार्यालयबाट नै खुवाउने गरिएको थियो,’ मिश्रले भने, ‘चालू आर्थिक वर्षमा भने मन्त्रालयबाट नै तलब खुवाउने गरिएको थियो ।’
मन्त्री रायका छोरा दिनेशले २०७६ असोजदेखि मंसिरसम्म प्रमुख स्वकीय सचिवको हैसियतमा उपसचिवस्तरको मासिक ४० हजार ३८० रुपैयाँ पारिश्रमिक बुझेका छन् । यसअघिसम्म उनले अधिकृत स्तरको तलब मासिक ३५ हजार ९९० रुपैयाँ बुझेका थिए । दिनेशसँगै मन्त्री रायका अर्का स्वकीय सचिव मैयुद्दीन अन्सारीको पनि तलब मंसिर महिनादेखि रोकिएको छ । उनले पनि शैक्षिक योग्यताको प्रमाणपत्र पेश नगरेका कारण तलब रोकिएको हो । उनले चालू आर्थिक वर्षको असोजदेखि मंसिरसम्म मासिक ३५ हजार ९९० रुपैयाँ बुझेका छन् ।
गत आर्थिक वर्षमा समेत तलब बुझेका केही सचिवालय सदस्यको पारिश्रमिक मुख्यमन्त्री कार्यालयले बेरुजु गरेका कारण सबैको कागजात एकसाथ जम्मा गर्ने भनेर ढिलाइ भएको मन्त्रीका छोरा दिनेश बताउँछन् । ‘यसअघिका स्वकीय सचिव सन्तोष प्रतिहस्तसहित केही साथीको समेत कागजात बुझाउन बाँकी छ,’ दिनेशले भने, ‘केही दिनभित्रै शैक्षिक प्रमाणपत्रको कागजात बुझाउने छु ।’
नेपालबाटै एसएलसी, जनकपुरधाम स्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसबाट आईए उत्तीर्ण गरेको उनले बताए । भारतको दिल्लीस्थित एक विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेको उनले दाबी गरेपनि क्याम्पसको नाम भने उनले बताउन सकेनन् । तत्काल रकम बेरुजु भएपनि कस्तो बेरुजु हो भन्ने कुरा महालेखा परीक्षक कार्यालयको प्रतिवेदन आएपछि नै असूलउपर गर्ने वा नगर्ने भन्ने कुरा प्रष्ट हुने मन्त्रालयका लेखा अधिकृत मिश्रले बताए । शैक्षिक प्रमाणपत्र पेश गरेका अन्य सचिवालय सदस्यको पारिश्रमिक भने माघ महिनासम्मको निकासा भएको छ ।