कहिलेकाहीँ जीवनले मानिसलाई यस्तो क्षण देखाउँछ, जहाँ आँखाअगाडि मृत्यु हुन्छ र ओठमा भगवान्को नाम मात्र आउँछ।
गोसाइँकुण्ड पुग्ने सपना बोकेर म यात्रामा निस्किएकी थिएँ। मनमा उत्साह थियो, आँखामा सुन्दर यात्राको सपना थियो। तर त्रिशूली नजिक पुगेपछि केही सेकेन्डमै सबै कुरा बदलियो।
त्रिशूलीको त्यो भयावह बाढी, पानीको डरलाग्दो गर्जन, भेलको अकल्पनीय वेग र चारैतिर फैलिएको त्रास-मैले आफ्नै आँखाले देखेको त्यो दृश्य आज पनि सम्झँदा शरीर सिरिङ्ग हुन्छ। त्यो खोलामा पानी बगेको थिएन, मानौँ मृत्यु नै राक्षस बनेर दौडिरहेको थियो।
एकछिन अघिसम्म सुरक्षित लागेको हाम्रो गाडी त्यहीँ छोडेर ज्यान जोगाउन डाँडातिर दौडिनुपर्यो। पछाडि फर्केर हेर्दा देखिएको त्यो दृश्य आज पनि आँखाअगाडि झल्झली आउँछ। त्यो क्षणमा जीवन र मृत्युबीचको दूरी सायद केही सेकेन्ड मात्र थियो।
त्यो दिन मैले पहिलोपटक मृत्यु यति नजिकबाट देखेँ। अरूले ज्यान गुमाएको ठाउँमा आफू बाँचेर उभिन पाउनु मेरो जीवनकै सबैभन्दा ठूलो अनुभव बनेको छ। कतिपय क्षणहरू यस्ता हुन्छन्, जसले मानिसलाई भित्रैदेखि बदलिदिन्छन्। मेरो जीवनमा त्यो क्षण त्यही थियो।
जिन्दगी र मृत्युबीच कहिलेकाहीँ वर्षौँको दूरी हुँदैन रहेछ, केवल केही सेकेन्डको फरक हुँदो रहेछ। गोसाइँकुण्ड पुग्ने मेरो सपना थियो। तर भगवान्ले सायद मलाई त्यहाँ पुग्नुभन्दा अगाडि नै अर्को सत्य देखाउन चाहनुभयो-जीवन आफैँ सबैभन्दा ठूलो तीर्थ रहेछ।
आज घर फर्केर आफ्ना परिवार, आफन्त र आफूले माया गर्ने मानिसहरूलाई हेर्दा हिजोसम्म सामान्य लागेका हरेक कुरा असाध्यै मूल्यवान् लाग्छन्। हरेक सास, हरेक मुस्कान, हरेक भेट र हरेक पल अब ईश्वरले दिएको आशीर्वादजस्तो लाग्छ।
म किन बाँचेँ ? यसको उत्तर मसँग छैन।तर म बाँचेँ। र यो मेरो लागि भगवान्को सबैभन्दा ठूलो उपहार हो। त्यो दिनदेखि म पहिलेकी म रहेकी छैन। केही सपनाहरू अधुरा रहे, केही बाटाहरू फेरि नहिँड्ने निर्णय गरेँ। तर एउटा कुरा सधैँ सम्झिरहनेछु—“जिन्दगी पल–पलको संयोग हो,तर भगवान्ले मलाई अर्को जीवन दिनुभयो।”
मृत्युको मुखबाट फर्किएपछि मैले महसुस गरेँ-यो केवल भाग्यको कुरा थिएन, यो भगवान्को कृपा थियो । उहाँले मलाई जीवनलाई अझ गहिरोसँग बुझ्ने, आफ्ना प्रियजनहरूसँग फेरि भेट्ने र बाँकी जीवनप्रति कृतज्ञ भएर बाँच्ने अर्को अवसर दिनुभयो । त्यसैले आज म पशुपतिनाथको शरणमा कुनै ठूलो इच्छा लिएर होइन, केवल कृतज्ञता व्यक्त गर्न पुगेकी छु।
हे भगवान्, मलाई अर्को जीवन दिनुभएकोमा धन्यवाद ।
म असहाय भएको त्यो क्षणमा मेरो रक्षा गर्नुभएकोमा धन्यवाद ।
मलाई सुरक्षित रूपमा मेरा प्रियजनहरूमाझ फर्काउनुभएकोमा धन्यवाद ।
अब मेरो जीवनको हरेक सासप्रति सधैँ कृतज्ञ भएर बाँच्न सक्ने शक्ति दिनुहोस् ।
कतिपय यात्राहरू गन्तव्यमा पुगेर मात्र सफल हुँदैनन्। केही यात्राले हामीलाई जीवनको अर्थ सिकाउँछन्, जीवनको मूल्य बुझाउँछन् र आफूभित्र नयाँ चेतना जन्माउँछन्। मेरो यात्रा पनि त्यस्तै रह्यो। म घरबाट गोेसाइँकुण्ड पुग्ने एउटा सपना बोकेर निस्किएकी थिएँ, तर फर्किँदा कृतज्ञता बोकेर फर्किएँ।
म एउटा पवित्र गन्तव्य खोज्दै हिँडेकी थिएँ, तर फर्किँदा बुझें- जीवन स्वयं सबैभन्दा ठूलो आशीर्वाद रहेछ। जिन्दगी साँच्चिकै पल–पलको संयोग रहेछ।
सम्बन्धित समाचार
इरानद्वारा खाडी देशलाई नयाँ चेतावनी : सैन्य तनाव थप बढ्ने संकेत
दिनहुँ बढ्दै अमेरिकी डलरको मूल्य
सरकारका साढे पाँच महिनाः नागरिकदेखि आफ्नै सांसदसम्म असन्तुष्ट
बागमतीका मुख्यमन्त्री किरण थापा मगरले भोलि विश्वासको मत लिँदै, मत दिन नेकपाद्वारा ह्विप जारी
अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्ध, इरानी शासनका आम्दानीका स्रोत रोक्नु नै प्रमुख लक्ष्य
भोटेकोशीमा बाढी आउँदा प्रहरी र सशस्त्रका २८ जना सम्पर्कविहीन
लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु, गगन थापा, प्रचण्डसहित शीर्ष नेता सहभागी, ओली गएनन्
भेटिएनन् आफन्त, रोकिएनन् आँशु






