नक्कली अन्तःशुल्क स्टिकर प्रकरण : राजस्व अनुसन्धानको बेवास्तामाथि आन्तरिक राजस्वको प्रश्न

 

काठमाडौं । भैरहवाबाट २३ दिनअघि झन्डै साढे २ करोड रुपैयाँबराबरको नक्कली स्टिकर बरामद घटनाका अभियुक्तलाई कारबाही गर्न राजस्व अनुसन्धान विभागले आनाकानी गर्दै आएको पाइएको छ ।

आन्तरिक राजस्व विभागले यो विषयमा राजस्व अनुसन्धान विभागको ध्यानाकर्षण गराएको भए पनि राजस्व अनुसन्धानका महानिर्देशक रामप्रसाद आचार्यले यसलाई गम्भीर रूपमा नलिएको स्रोतको दाबी छ । यो विषयलाई लिएर आन्तरिक राजस्वका महानिर्देशक शोभाकान्त पौडेल र राजस्व अनुसन्धानका महानिर्देशक आचार्यबीच खटपट बढेको पनि स्रोतको दाबी छ ।

राजस्व अनुसन्धान एक अर्धन्यायिक निकाय हो । आन्तरिक राजस्व विभाग भने नियामक र प्रवद्र्धकका रूपमा काम गर्ने गर्छ । यता, राजस्व अनुसन्धान विभागसँग सशस्त्र प्रहरी तैनाथ हुन्छ । सशस्त्र प्रहरीले राजस्वसँग सम्बन्धित घटनाका अभियुक्त, बरामद सामान राजस्व अनुसन्धान विभागमा बुझाउने गर्छ ।

सशस्त्र प्रहरी बल नम्बर २७ गण रूपन्देही मातहतको बोर्डर आउट पोस्ट (बीओपी)बाट सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको नेतृत्वमा खटिएको नौ जनाको मोबाइल टोलीले ५ भदौको राति सिद्धार्थनगर नगरपालिका–३ दरखसवास्थित सहिद अन्सारीको घरबाट आन्तरिक राजस्व विभाग लेखिएको स्टिकर ८० रोल बरामद गरेको थियो ।

जसमा एक रोलमा ३ हजार वटा थिए । बरामद नक्कली स्टिकर २ लाख ४० हजार रहेको र बरामद स्टिकरबाट आयकरअन्तर्गत १० लाख, मूल्य अभिवृद्धि करअन्तर्गत ३१ लाख ६३ हजार र अन्तःशुल्कबापतको १ करोड ९४ लाख गरी २ करोड ३५ लाख ६३ हजार रुपैयाँ छली हुने देखिएको राजस्व अनुसन्धानले जनाएको गणका एसपी राजेश उप्रेतीको भनाइ थियो ।

नक्कली स्टिकर बरामद गर्ने क्रममा सशस्त्र प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–३ दरखसवा बस्ने २३ वर्षीय सहिद अन्सारी र सोही ठाउँ बस्ने २४ वर्षीय अमानत अलीलाई पक्राउ गरेको थियो । उनीहरूबाट लु२च २५० नम्बरको गाडीसमेत बरामद भएको थियो ।

स्रोतका अनुसार, राजस्व अनुसन्धानका महानिर्देशक आचार्यले अनुसन्धान कार्यलाई प्रभावकारी रूपमा अघि नबढाएपछि अन्तरिक राजस्व विभागले दुई जना उपसचिव बुटवल पठाएर त्यस’bout जानकारी लिएको थियो । ती दुई उपसचिवले राजस्व अनुसन्धान विभागका महानिर्देशक आचार्यले नै अनुसन्धान कार्य अघि नबढाएको रिपोर्टिङ गरेको स्रोतले बतायो ।

नक्कली स्टिकर ल्याउने उद्योग भैरहवाको क्रिस्टल डिस्टिलरी र उद्योगका मालिक फुलसिंह क्षत्री हुन् । उद्योगी क्षत्रीसँगको साँठगाँठका कारण राजस्व अनुसन्धानका महानिर्देशक आचार्यले अनुसन्धान अघि नबढाएको आन्तरिक राजस्वको ठहर छ ।

स्रोतका अनुसार अनुसन्धान र छानबिन प्रक्रिया अघि नबढेको भन्दै सोमबार दिउँसो आन्तरिक राजस्वका महानिर्देशक पौडेलले राजस्व अनुसन्धानका महानिर्देशक आचार्यलाई फोनमार्फत जानकारी लिएका थिए । पौडेलले यति ठूलो प्रकरणमा किन अनुसन्धान ढिलाइ भएको भनेर प्रश्नसमेत गरेका थिए । पौडेलले सो उद्योगमाथि आगामी दिनमा कुनै पनि अन्तःशुल्कको कारोबार गर्न नसक्ने गरी फाइल तयार गर्नसमेत भनेको, जवाफमा आचार्यले अनुसन्धान भइरहेको भन्दै उम्किने प्रयास गरेको स्रोतको भनाइ छ ।

राजस्व अनुसन्धानका महानिर्देशक आचार्यमाथि अन्तरिक राजस्वलाई धक्का लगाउने अन्तःशुल्क चुहावटको अन्य विषयमाथि समेत गम्भीर नभएको अन्तरिक राजस्व विभागको आरोप छ ।

देशको राजस्व अपचलन रोक्ने र संकलन गर्ने सरकारी निकायबीचको मनमुटावले अन्ततः करछलीलाई प्रश्रय मिल्ने स्रोतको दाबी छ ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका