पोखरा। १८औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा झापा–११ फुटबल क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ ।
बिहीबारदेखि पोखरा रंगशालामा सुरु प्रतियोगिताको दोस्रो दिन शुक्रबार नेपाल एपीएफ क्लबको चुनौती टाइब्रेकरमा ५–३ गोलअन्तरले पन्छाउँदै झापा–११ ले नेपाल आयाल निगम मनाङ मस्र्याङ्दी क्लबसँग भेट सुनिश्चित गरेको छ । ती दुवैको खेल २५ फागुनमा हुनेछ ।
अत्यन्तै प्रतिष्पर्धात्मक रहेको शुक्रबारको खेलमा झापा–११ र विभागीय एपीएफले गोलको प्रयास गरे पनि निर्धारित ९० मिनेटको समय खेर फालेका थिए । अतिरिक्त ३० मिनेटको खेलमा दुवैतर्फबाट १–१ को गोल निस्केपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
अतिरिक्त समयमा झापा–११ ले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि त्यो धेरैबेर टिक्न सकेन ।उसका लागि अभिषेक गुरुङको लामो क्रसमा सुनिल खड्काले विपक्षी पोस्टको जाली चुमाएका थिए ।
त्यस्तै, खेलको अन्तिम मिनेट १२० मा एपीएफले गोल गर्दै बराबरी खेले पनि टाइब्रेकरमा अभागी बन्यो । एपीएफका लागि आफूले हानेको रिबाउन्ड बललाई सदुपयोग गर्दै आकाश बुढामगरले गोलमा परिणत गरेका थिए ।
त्यसो त, खेल सुरुवातमा एपीएफले अग्रता लिने सुनौलो मौका गुमाएको थियो । खेलको आठौं मिनेटमा पाएको पेनाल्टी नवीन लामाले गोल गर्न सकेनन् । उनको प्रहार विपक्षी किपरले पन्च गरी बचाए ।
गत वर्षको खेल छुटाएको झापा–११ यसपालि पहिलो खेलमै भाग्यमानी बन्दै विजयी यात्रा सुरु ग¥यो । झापाका लागि हेमन्त थापामगर, मौसम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र सञ्जीत राईको पेनाल्टी सुटआउट गोलमा परिणत भएको हो ।
उता, एपीएफका सुदीप सिखांकरको प्रहार झापाका राजकुमार लिम्बुले उत्कृष्ट बचाउ गरे । एपीएफका नवीन लामा, राजीव लोप्चान र गोलकीपर राजु नगरकोटीले गोल गर्न सके ।खेलमा झापा–११ का किपर राजकुमार लिम्बु म्यान अफ दि म्याच घोषित भए ।
१० टिमको सहभागिता रहेको प्रतियोगितामा शनिबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुनेछन् । शनिबार पहिलो क्वार्टरफाइनलमा आयोजक सहारा क्लब पोखराले नेपाल पुलिस क्लबको सामना गर्नेछ । सहाराले उद्घाटन खेलमा ब्रिगेड ब्याइज क्लब (बीबीसी)लाई ३–२ ले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो ।






