लोगोनास अर्थात् ल्वाङ

भिरालो पाखोको दक्षिणतर्फ झुरुप्पको बस्ती । ढुंगाको आँगन अनि ढुँगाकै छानो । सेतो र गेरु रङका भित्ता । आँगनमा बौद्ध ध्वजा फरफर गरेको दृश्य । भवन निर्माणमा मौलिकता र आधुनिकताको गज्जबको मिश्रण । सिंगो गाउँ एउटै घरझैं । आँगनमा पाइला टेक्न नभ्याउँदै आइपुग्छन्, लामा गुन्द्री र राडी ।

घरमा जे छन्, ‘हाँसीखुसी खुवाउन पाए हुन्थ्यो’ भन्ने मनकारी गाउँले । दिलदार उनीहरूसँग गफिँदा दिन ढल्केको पत्तै हुन्न । गाउँमा पहिलोचोटी पुग्नेले अर्को फेरो नपुगी धरै पाउँदैन । हाँस्यो, खेल्यो, रम्यो के छ र दुई दिनको जिन्दगीमा ।
गाउँनजिककै वनजंगलतिरबाट एकाबिहानै सुनिने चराचुरुंगीका चिरबिरले मनै प्रफुल्ल बनाउँछ । चरासँगै मितेरी गाँसुझैं हुन्छ । साँच्ची यी चराचुरुंगी नभए कति निरस हुन्थ्यो, जीवन । त्यसैले त लोकले उहिल्यैदेखि गीतका फँुदामा चराचुरुंगीलाई प्रयुक्त गरेको भेटिन्छन्,

आफू त जुरेली
हाँगामाथि बसेर
डालीडाली चालेर
टिकुली ट्याकटिकुली
ट्याक भन्छ है चरीले
माया मा¥यो च्याट्टै

न्याउली बास्यो त्यो रानी वनैमा
सम्झना नाच्यो यो मेरो मनैमा

बिहान उठ्नासाथ हिउँचुली, अन्नपूर्ण साउथ र माछापुच्छ«ेले खिसिक्क हाँसीदिँदा मनै चञ्चल बनिदिन्छ । उषाकिरण ती हिमालमाथि ठोकिँदा ‘पहेंलपुर’ सुनझैं लाग्छ । मुन्तिर पूर्वको अग्लो रिभान डाँडामाथि एक चोक्टो कालो बादलले एकैछिन ग्वाम्लाङ ढाकिदिँदा मन ठुस्केर आउँछ । दक्षिणतिर मैदानमा मर्दी र इदी खोलाले फेरो मारेर मित लाएको देख्दा खुसियालीमा पररर ताली बजाउझैं लाग्छ ।

ल्वाङ गाउँको होमस्टेमा एकरात बस्न पाउँदासमेत यतिविघ्न मोहनी लाउँला भनेर कदापि सोचेकै थिइनँ । टाढैबाट कैयन चोटी दूर पाखाको ल्वाङ बस्ती दृष्टिगोचर गरेता पनि सम्मुखमै लुटपुटिन भने अवसर हात परेकै थिएन । इदी र मर्दी खोलामा धेरै पानी बगी सके पनि कतै मेरो ल्वाङको सपना ‘साकार नहुने त हैन ?’ भनी निराशाका पुलिन्दा चुलिँदै जान्थे । पुर्खाको यही उक्तिले शायद काम ग¥यो यसपालि ‘सबै चिज खानु, हरेस नखानु ।’

पोखरादेखि धम्पुस डाँडो धेरैचोटी उक्लिँदा सिरानमा सोम गुरुङले सञ्चालन गरेको ‘होटल होलिडे’मा बास बस्थें । उत्तरपूर्वतिर इदी खोला र पाखोमा ल्वाङ गाउँ प्रस्टै देखिन्थ्यो । ल्वाङमा ‘होमस्टे छ, चिया बगान छ’ भन्ने समाचारले एकतमास मन आकर्षित गरिराख्यो ।

महेन्द्रपुलमा पत्रिका किनेर आर्ट ग्यालरीतिर लम्कँदैगर्दा बाटैमा भेटिए, लालबहादुर परियार । हिजो कुनै समय हामी एमाले कास्की जिल्ला कमिटी सदस्य थियौं । तर्कनापूर्ण शैलीमा मिठास लवजका साथ प्रस्तुत हुने, मसिनोगरी मिहिनतसाथ योजना बनाउने उनको विशेषता थियो । तावेदारी गरेर नेता रिझाउनभन्दा पनि दिइएको जिम्मेवारी इमानसाथ ‘फत्ते’ गर्ने उनको प्रवृत्ति । त्यसैले क्षणभरमै मेरा मनका असल साथी बनेर बस्न सफल भएका हुन् ।

मलाई धेरैले भन्ने गर्छन् ‘कति घुमफिर गर्न सकेको ? हामीलाई पनि लानुस्न !’

लालबहादुरजीलाई फुत्त बिसाइँहालें, ‘कतै घुम्न जाउँ न सर, मनभरिका गफ मारौंला ।’ उनले सहमति जनाइहालें, ‘मेरै गाउँ ल्वाङ जाउँ न त †’ के खोज्छस् कानो आँखो’ भनेझैं भो मलाई । अब भने ‘ल्वाङ सपना’ साकार होलाझैं छ । तुरुन्त मन मिल्ने साथीहरूलाई सम्झिएँ– प्रकाश सिग्देल, धनप्रसाद तामाङ र पत्रकार श्रीराम सिग्देल ।’ अन्तिममा काम विशेषले प्रकाशजी भने छुट्नुभो ।

दुईटा बाइकमा हामी चार । हेम्जा गुम्बा उकालो कट्न पाइएको छैन, पानीका बाछिटाले चुट्नसम्म चुटिहाल्यो । बिसियौं । बिदो हुन पनि घन्टौं लाग्यो । बेलुकी पाँच बजे बल्ल मर्दी किनारैकिनार गुड्यौं ।

धिताल खहरेमा पुग्दा घ्याच्च रोक्यौं बाइक । निर्वाचित जनप्रतिनिधि नवीन रानामगरको रहेछ, हिमालयन रेष्टुरेण्ट । इदी खोला पश्चिमतर्फ मोटरबाटोनेर । शान्त वातावरणमा गफिँदै ‘ब्ल्याक टि’ चुस्की लियौं ।

‘ऊ त्यही मास्तिरको पाखोको बस्ती हो ल्वाङ । त्यसैको उत्तरतर्फ परको घलेल,’ लालबहादुरजीले बेलिबिस्तार लाए । इदी खोला पूर्वतर्फ रिभान डाँडा काखमै रहेछ, डाँडाको गाउँ । पूर्वसांसद सीता गिरीको माइतीघर ।

गत वर्ष घलेल गाउँ जाँदा इदी खोलामा पुल निर्माण हुँदै थियो । अहिले भने पुलमाथि नै बाइक गुडाउन पायौं । पुल तर्नासाथ आइपुग्यो, खोराको मुख । यो पुरानो बजार रहेछ ।

अब भने ल्वाङ जाने उकाली बाटोतर्फ मोड्यौं, बाइक । ल्वाङ पुग्दा झिमिक्क साँझ खस्नै आँटेको थियो । गाउँको मुखैमा रहेछ, स्वागत द्वार ।

बीसौं लाख खर्चेर देउराज गुरुङ र डमरकुमारी गुरुङ दम्पत्तीले गाउँमा होमस्टे सञ्चालन गरेका छन् । उनका छोराछोरी पोखरा र विदेशतिर छन् । युवापुस्ता गाउँ फिरेर ‘आफ्नो व्यवसायलाई निरन्तरता नदिने हो कि ?’ भन्ने पिरलो रहेछ । उनका घर निकै कलात्मक लाग्छ । आँगनमै बाथरुम । दलिनमा छानो अड्याइएका काठको खम्बामा कलात्मक बुट्टा खोपिएको छ । दम्पत्ती मिजासिला छन् । हामीलाई त्यही बस्न अग्रह भए पनि पूर्वसूचना दिइ सकिएकाले टोल सुधार समिति अध्यक्ष बोनी गुरुङको होमस्टेतर्फ पाइला बढायौं ।

बोनी गुरुङको होमस्टेमा पुग्नासाथ डोकोले छोपेर राखेका रातो लोकल भाले भान्छामा तैयारी हुन थाल्यो । धनप्रसादजी र मेरो ९ बजै घुप्लुक्क हुने बानी । लालबहादुरजी विगतमा स्थानीय निकायसमेत सम्हालेर बसेका हुनाले ‘बजेट फाँटबारी कसरी मिलान गर्ने ? कुन योजनालाई पहिलो प्राथमिकता दिने ?’ भन्ने’bout राम्रो दख्खल राख्थे । बोनी गुरुङ र उनीबीच ‘गाउँको समस्या कसरी हल गर्ने ?’ भन्ने’boutमै केन्द्रीत थियो ।

विकास र समृद्धिमा बहस केन्द्रीत भएकाले यहाँ भने श्रीराम भाइले राजेश हमालको ‘डायलग’ भन्न भुसुक्क बिर्सन पुगे । साँढे ९ बजेतिर बल्ल चरेसका थालमा लोकल जर्नली चामलको भात, चरेसकै खुट्टे बटुकीमा लोकल कुखुराको झोल मासु आइपुग्यो ।

सिल्टुङको दाल, गोलभेडाको अचार कम्ती स्वादिलो थिएन । ट्वाक्क–ट्वाक्क जिब्रो फड्कार्दै मीठो मानी–मानी खायौं । गार्मी याम, गर्मी नै लोकल कुखुराको मासु, लोकलले नै ज्यान तताएका र प्रेसरको बिरामीसमेत भएकाले कोदोको ढिँडो खाने प्रस्ताव सर्वसम्मत अस्वीकृत ग¥यौं ।

माछापुच्छ«े गाउँपालिका–८ मा अवस्थित छ, ल्वाङ टोल । कुल घरधुरी १ सय ६० । ल्वाङटोलमा दलितका ६०, गुरुङका २५ र मगर राना, छन्त्यालका १÷१ घर छन् । बाँकी बाहुन÷क्षत्रीका । वडा ८ मा ल्वाङ टोल, इदीखोला, तीजको पाखा, कर्मु, साखु, लुम्रे, कोलेली चाउजे टोल अवस्थित छन् । ७ घरमा होमस्टे सञ्चालन गरेका थिए, ल्वाङ टोलवासीले । हाल, १२ घरमा होमस्टे छन् । जसमा एकघर छन्त्याल र बाँकी सबै गुरुङका ।

होमस्टे प्रवद्र्धनमा एक्यापले उत्तिकै सघाउ पु¥याएको ल्वाङ सामुदायिक होमस्टे अध्यक्ष हिमकुमारी गुरुङ बताउँछिन् ।

झुरुप्पको बस्ती भएकाले समूहमा आउने पाहुना बाँडेर होमस्टेमा राख्दा पनि एकै होमस्टेमा बसेझैं भान हुने निर्वाचित जनप्रतिनिधि वडा सदस्य पुष्पा गुरुङले बताइन् ।

हालसम्म देशी–विदेशी ६ हजार पाहुनाले पाइला टेकेका छन् । विदेशीमा बढी फ्रान्सका छन् भन्ने होमस्टे सचिव थमन छन्त्यालले जानकारी दिए । आन्तरिक पर्यटकमा बढी पोखराकै छन् । शुक्रबार त होमस्टेमा पाहुनाको चाप थेगी नसक्नु हुन्छ ।

होमस्टेमा बारीकै उत्पादन खुवाइन्छ । जर्नली, नौली, सिजाली, धम्पुुसे, ठिमा, अन्दी (रातो) रैथाने चामलको भात खान पाउँदा स्वाद नै अर्कै हुन्छ । बारीकै हरिया सागसब्जी, घरकै लोकल कुखुरा र कोदो, मकैको ढिँडोसँग कुलुक–कुलुक निल्न पाउँदा ‘जंकफूड’ नै माथ खान्छ ।

बेलुकी जाडोमा कोदोको ‘नारेपा’ले रनक्क जिउ रन्काउँदा ऊर्जा नै थपिन्छ । सुखदुःखका गफ गाम्लेसँग अबेरसम्म चल्छन् । पाहुनालाई आफन्तकहाँ बास बस्न पुगेझैं अनुभूत हुन्छ ।

यहाँका कृषक औघी मेहनती छन् । गोलभेडा, नास्पती, आरु, आरुबुखडा, खुर्पा, प्याज, लसुन, निबुवा, सुन्तला, सिजनमा बारीमै लटरम्म फलाउँछन् । ती सबै गाउँमै खपत हुन्छ । व्यवसायिक खेती गर्दैनन् । बेसार भने भारीको भारी सहरतिर निर्यात हुन्छ । भट्ट, मास, गहत, सिल्टुङ पनि राम्रै उब्जनी हुन्छ । ताङग्रा, टुसा, कुरिलो जंगलतिर छ्यापछ्याप्ती पाइन्छन् । बगाले, सिंगलनजस्ता १२ प्रजातिका च्याउ वनजंगलमा उपलब्ध हुन्छ ।

गाउँमास्तिर भिरालो पाखोमा १३ सय रोपनीमा चिया बगान छ । चिया गाउँमै प्रशोधन हुन्छ । बगान सामुदायिक भएपनि ‘ङ्खयाक्ट्री’ निजी हो ।

३० वर्षअघि चियाको बोट रोपिएको थियो । रोपेको पाँच वर्षपछि टिप्न मिल्छ । सातामा एकचोटी मुना नटिपे अग्लो भएर आउँछ । काँटछाँट गरेर ङ्खयाक्नुपर्ने हुन्छ । विगतमा ‘नम्बर १’ को चिया जर्मनी, अष्ट्रियामा निर्यात हुन्थ्यो, प्रतिकिलो ४ हजार रुपैयाँमा । मागबमोजिम पूर्ति गर्न नसक्नाले हाल निर्यात बन्द छ ।

स्वदेशभित्रै खपत हुन्छ । अन्नपूर्ण अग्र्यानिक चियाको नामबाट प्याकिङ गरी स्वदेशमै खपत भए पनि बजारीकरण अपेक्षाअनुपरुप हुन सकिरहेको छैन ।

बोनी गुरुङको निर्देशनमा त ‘ल्वाङ गाउँ राम्रो चिया बारी’ भन्ने गाउँ चिनारी गीतको ‘भिजुअल’ नै बन्यो । त्यसको तीन वर्षपछि गुरुङभाषी फिल्म ‘कर्म’मा ‘ल्वाङ गाउँमा फूलै फुलेको’ भन्ने गीत नै थियो । चियाबारीमाथि प्याराग्लाइडिङ स्पट छ । त्यहाँबाट ग्लाइड उडाएर फेवाताल किनारमा अवतरण गर्न सकिन्छ ।

गाउँमुन्तिर घट्टेखोलामा दुई ठूल्ठूला ३९ मिटर ७० मिटरका झरना छन् । ड्रिमल्याण्ड ल्वाङ क्यानोनिङ कम्पनीले दुवैमा क्यानेनिङ गराउँछ । डोरीमा तुर्लुंङ झुण्डिएर झरनासँगै माथिबाट झर्ने सहासिक खेल ‘क्यानोनिङ’ हो ।

तीन वर्षअघि सञ्चालित क्यानोनिङमा हालसमम्म ५ हजारजतिले मज्जा लिइसकेका छन् । लामो दूरीकोमा विदेशीलाई ४५ सय र नेपालीलाई ३५ सय कायम गरिएको छ । असारदेखि कात्तिकसम्म उपयुक्त समय हो, यो खेललाई । दसैं–तिहार र जेठमा पनि क्यानोनिङ गर्नेको संख्या वृद्धि भएको देखिन्छ । सुरुमा कम्पनीले १३ लाख लगानी गरेको बोनी गुरुङ बताउँछन् ।

डाँडामा चौबिसे राज्यकालको गढी छ । गाउँ प्रवेश गर्नुवरै बाटैनेर खेतका गरामा विशाल ढुंगाको स्तम्भ गाडिएको देख्न सकिन्छ । चौबिसे राजाको साँध किल्ला हुनसक्ने गाम्ले अनुमान छ । सो ढुंगा सत्यगुगमा हिमालबाट सुत्केरीले ङ्खयाँकेको किंवदन्ती प्रचलित छ । ती सुत्केरीले एकछाकमा ७ माना चामलको भात खाने गरेको कथन छ ।

उसो त, संस्कृतिकर्मी एवं साहित्यकार धनप्रसाद तामाङ गाडिएका ढुंगे स्तम्भ पूर्वी नेपालमा समेत देख्ने गरेको सुनाउँछन् । ‘सुत्केरीले त यत्रो ढुंगा ङ्खयाँके’ भने युवाले झन् हरेश नखाइ जाँगर चलाउनुपर्ने सन्देश दिएको उनको ठहर छ ।

गाउँमा हेर्न लायक अरु पनि धेरै छन् । गुम्बा, च्योर्तेन, शिव मन्दिर । गाउँमास्तिर पश्चिमतर्फ विशाल वृक्ष फेदनेर छेताक्यु बहार मन्दिर छ । पुरानो धारामा बाह्रैमास मूलको पानी रसाउँछ । गर्मीमा चिसो र जाडोमा न्यानो पानी आउने गर्छ । जहाँ छैतक्यु बराह युवा क्लब साइनबोर्ड देख्न सकिन्छ ।

पुर्खा डाँडा, भिरालो र समथरमा आएर ‘कुन बुटामुनि कस्तो स्वादको जरुवा पानी रसाएर आएको छ ?’ भनी चाख्ने गर्थे । पानी सुरुमा जिब्रोको टुप्पाले मात्र चाखिन्थ्यो । त्यसपछि घाँटीमा अड्काएर अनुभूत गर्थे । त्यसपछि बल्ल घुटुक्क निल्थे । जमिनको माटो कोट्याएर हेर्ने गर्थे । ‘कस्तो बालीका निम्ति उपयुक्र छ, यो माटो ?’ भनी खुट्याउँथे । पानी चाख्नुपूर्व हावा छालाले स्पर्श गरेर ‘कस्तो हावा बहेको छ ?’ अनुभूत गर्ने गर्थे ।

यन्त्र अविष्कार नभएको बखत पनि कति वैज्ञानिक रहेछन्, हाम्रा पुर्खा । यो चाख्ने काम चिवीले गर्थे । चिवी नै कालान्तरमा मुखिया कहलिए । अझै गाउँघरतिर ‘कुन खोलाको पानी खान हुन्छ र हुन्न ?’ भन्ने मान्यता विद्यमान छ ।

ल्वाङ गाउँ ६ सय वर्ष पुरानो भएको अनुमान छ । दुई सय वर्षअघिसम्म यहाँ गुरुङमात्र थिए । विगतमा ‘६ सय ल्वाङ’ भनेरसमेत चिन्ने गरिन्थ्यो । ‘ल्वाङ’ ‘नामाकरण कसरी भयो ?’ भन्ने सम्बन्धमा आ–आफेनै तर्क छन् । ल्वाङको बोटबाटै गाउँको नामाकरण भएको बूढापाकाका उखान प्रस्तुत गर्छन्, स्थानीय ।

‘ल्वाङ’लाई गुरुङ भाषामा ‘लोगोनास’ भन्ने गरिन्छ । यसै सेरोफेरोमा फ्रान्सेली छात्राले त पिएचडीको थेसिस नै गरिन् । उसो त, पुरानो नाम ‘ल्हो’ हो । धेरै पहिले ल्वाङमा १२ घरमात्र बस्थे भने छिमेकमा ६ घर थिए । कुनै समय पाहुना यो गाउँमा आउँदा तान बुनेको, चोयाले डोको बुनेको देखेछन् । उनीहरूले गुरुङ भाषामा यहाँको मान्छे त ‘ल्हो’ त मात्र गर्ने भनेछन् । यसैबाट अपभ्रश भइ ‘ल्वाङ’ रहन गएको भनिन्छ ।

यहाँबाट धम्पुस, धिताल, रिभान, मर्दी हिमाल, माछापुच्छ«े, हिउँचुली, अन्नपूर्ण साउथ, सराङकोट, लामाचौर, पुरुन्चौरको भू–भाग देख्न सकिन्छ । सूर्योदय हेर्नसमेत उपयुक्त स्थल हो ।

मर्दी र इदी नदीलाई दूधे बादलले ग्वाम्लाङ छोपेको देख्दा बन्दीपुरबाट डुम्रे, याम्पाफाँट बादलले ढाकेझै झल्को दिन्छ । धम्पुसभन्दा न्यानो छ, ल्वाङ । यहाँबाट मर्दी पदयात्रा गर्न सकिन्छ । उत्तरतिर अवस्थित कोकाराफेदी गौंडा दुई दिनमा आउजाउ गर्न सकिन्छ । जहाँ स्लेटको ढुंगाखानी छ ।

थुप्रै सम्भावना हुँदाहुँदै चुनौती पनि उत्तिकै छन्, ल्वाङमा । मर्दी पदयात्राकै निम्ति भनी झाँगिएको झाँडी फडानी गरे पनि जस्ताको तस्तै छ । ल्वाङदेखि पितम देउराली हुँदै मर्दी हिमाल पदयात्रा सहज हुने थियो । यहाँबाट पितम देउराली पुग्न दुई घन्टा बनेली बाटो छिचोल्नुपर्ने हुन्छ ।

गाउँमै गुरुङ संग्रहालय स्थापना गर्नुपर्ने देखिन्छ । हेम्जादेखि ल्वाङ पुग्ने मोटरबाटो पिच अत्यावश्यक छ । रैथाने प्रजातिका बीउबिजन विश्वबाटै लोप हुने खतरा छ । यसप्रति सचेत बन्नुपर्दछ, ल्वाङवासी । सकभर पाहुनालई गाम्ले परिवेशमा अग्र्यानिक खाना खुवाउन जोड दिनुपर्छ ।

मौलिक संस्कृति नाचगान लोप भएका छन् । यसलाई त्यसैले पुनर्जीवित गर्नुपर्छ । नवपुस्तालई पुर्खाको नासो हस्तान्तरण गर्नमा कुनै कञ्जुसाइ गर्नुहुन्न । स्थानीय सीप, कला संरक्षण र प्रवद्र्धन गर्नुपर्छ । ल्वाङ गाउँको ‘ब्राण्ड’ अन्नपूर्ण अग्र्यानिक चियाको परिमाणमा जोड दिँदै प्रचार–प्रसारमा व्यापकता गर्नुपर्छ । जसबाट समुदाय भविष्यमा लाभान्वीत हुन सकून् । पशुपालनमा समेत जोड गर्नुपर्ने देखिन्छ ।

अन्यत्र गाउँबाट विस्थापित भइ सहर पस्ने महामारी नै चलेको छ । ढुंगेघर बस्ने मानिसका अभावमा जीर्ण भइ भत्कने अवस्थामा पुगेका छन् । खेतबारीका पाटा बाँझो छन् । ज्यालादारी गर्ने मान्छे नै पाउन मुश्किल छ ।

यद्यपि, यी समस्याबाट धेरै हद भने ल्वाङबासी मुक्त भएको भेटियो । स्थानीय र सामाजिक अभियन्तामा ‘गाउँको मुहार कसरी उज्यालो तुल्याउन सकिन्छ ?’ भनी चिन्तन र चासो भएको पाइयो, जुन सकारात्मक पक्ष हो ।

‘नजिकको तीर्थ हेला’ भनेझैं झनै नजिक भएर पनि कतिपय नगएका हुन सक्छन्, ल्वाङ होमस्टेमा । जानूस्, अविलम्व । अग्र्यानिक खाना पाइन्छ । परम्परागत ढुंगेघरमा केही आधुनिकता थपेको देख्दा तपाईंका आँखा मोहित भइ एकटक ठोकिन्छन् । आँगनमै बसी–बसी चराचुरुंगीले रनवन घन्काएको सुन्दा बारुले कम्मर मरक्क मर्काउँदै आँगनमै फनफनी नाँचुनाँचुझैं पार्छ ।

गाम्लेसँग भलाकुसारी गर्दा पीर–वेदना पखालिएर मन सङ्लो भएर आउँछ । उकालिँदा पसिनाका धारा छुटे पनि सिरसिरे बतासले शितलता प्रदान गर्छ । पर मैदानमा इदी र मर्दी नदीले मित लाएको देख्दा समाजमा मिलेर बस्न हौस्याउँछ ।

छिनभरमै पखेटा हालेर उडेर पुगुझैं कल्पनामा बहकिन मन लाग्छ । कति गुनगान गाउनु हौ, ल्वाङको ? जति गाए पनि अपूरो नै हुन्छ । हामी त पुगेर आयौं, तपाईं नि ?

तपाइको प्रतिक्रिया
(Visited 687 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर