दाङ । रुकुम पश्चिमको मुसिकोट–१ बागबजार नजिकै छेउमा मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको छ । सो झडपमा परी प्रहरी सहायक निरीक्षक (असई) कोमलराज बोहरा घाइते भएका छन् । युवा समूहले प्रहार गरेको ढुंगा लागेर उनी घाइते भएका हुन् । उनको टाउकोमा गहिरो चोट लागेको छ ।
युवाको आक्रमणबाट प्रहरी हवल्दार कालिबहादुर बोहरा, प्रहरी जवान लक्ष्मण गुरुङ पनि घाइते भएका छन् । अन्य चार जना प्रहरी जवान समान्य घाइते भएका छन् ।
सो घटनापछि प्रहरीले ढुंगामुढा गरेको अभियोगमा ६ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमे गाउँपालिका घर भइ हाल रूकुम पश्चिमको मुसिकोट नगरपालिका –५ बस्दै आएका २३ वर्षीय मर्कुश पुन मगर, मुसिकोट– १० का २४ वर्षीय खडानन्द केसी, मुसिकोट–१ का २५ वर्षीय हरिबहादुर घर्ती, पश्चिम मुसिकोट नगरपालिका– ५ का २० वर्षीय नरेश पुन मगर, वडा नं. १ खानेपानी टोलका १८ वर्षीय राजनप्रकाश गिरी र सोही ठाउँका २० वर्षीय आकाश परियार छन् ।
घटनामा संलग्नमध्ये धनिराम नेपाली र स्वयल विक भने फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती युवाले शुक्रबार राति ८ः४० बजेतिर मुसिकोट १ बागबजार नजिकै छेउमा पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकका सिसाहरू फुटाएका थिए । उनीहरुले बियरको सिसी प्रहार गरी ट्रकको अगाडि भागका सिसा फुटाइदिएका थिए ।
सो घटनापछि परिचालित प्रहरी टोलीमाथि एकाएक ढुंगामुढा गरेपछि प्रहरीले प्रतिकार गरेको थियो ।






