सुनसरी । तीन दिनको बेमौसमी बर्षाले सुनसरीको विभिन्न क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएपनि सुनसरी क्षेत्र नम्बर ३ की नेतृ भगवती चौधरी पिडित परिवारलाई राहत वितरण गर्न आफैं दौडिएकी छन् । सरकारले बाढी पिडितको उद्दार तथा राहतमा ढिलासुस्ती गरेपछि नेकपा एमाले नेतृ चौधरी आफैं राहतको ‘पोको’ बोकेर जनताका घरमा पुगेकी हुन् ।
दसैं जस्तो ठूलो चाडपर्वको समयमा अकस्मात आइपरेको विपत्तिबाट आफ्नो क्षेत्रका सयौं किसान आक्रान्त भएपछि बुधबार नेतृ चौधरीले डुवानमा परेका किसानहरुलाई तत्कालकालागि चाउचाउ, भुजा लगायतका राहत वितरण गरिन् ।
नेतृ चौधरीले सुनसरी क्षेत्र नम्बर ३ अन्तरगत पर्ने दुहवी, खनार, बर्जु तथा गढी गाउँपालिकामा बाढीको प्रकोपबाट आक्रान्त भएका परिवारलाई भेटेरै भुजा तथा चाउचाउ वितरण गरेकी स्थानीय युवा सदाम अन्सारीले बताए । दिनेश चौधरी स्मृति प्रतिष्ठानबाट बर्जु गाउँपालिका–६, गढी गाउँपालिका–३, दुहवी–९, दुहवी–१२ लगायतका वडाहरुमा बुधबार चौधरीले बाढीले पुर्याएको क्षतिको निरीक्षण समेत गर्दै पिडित परिवारलाई राहत वितरण गरेकी थिइन् । त्यससँगै कतिपय वडाहरुले प्रतिष्ठानसँग समन्वय गरेर पनि राहत लिएर वितरण गरेका छन् ।
‘सुनसरी क्षेत्र नं. ३ प्रायः हरेक वर्ष हुने अविरल वर्षामा डुवानमा पर्छ । यसपल्ट आएको बेमौसमी वर्षाले चाडवाड नै खल्लो बनाइदियो ।’ आफ्नो क्षेत्रका जनता डुवानमा परेको खबर पाउने वित्तिकै निरीक्षण र राहत वितरणमा लागेकी चौधरीले बताइन् । दुहवी–इनरुवा सडक खण्ड नै डुवानमा परेको बेला नेतृ चौधरी जोखिम मोलेर गाडी लिएर बाढी पिडितलाई राहत वितरण गर्दै थिइन् ।
चौधरीका अनुसार बाढीले बर्जु, गढी, सोनापुर, खनार, दुहवी लगायतका क्षेत्रमा किसानले लगाएको सयौं हेक्टरको धानबाली नष्ट भएको छ । खेतमा पाकेको धान दसैं सकिएपछि भित्र्याउने तयारीमा रहेका सयौं किसानको धानबाली नष्ट भएपछि अब उनीहरुलाई वर्षभरी कसरी परिवार पाल्ने चिन्ता थपिएको छ । ‘खेती किसानी गरेर जिविकोपार्जन गर्ने किसानहरुलाई अब वर्षभरी कसरी परिवार पाल्ने चिन्ता थपिएको छ । सरकारले तत्कालै राहतको व्यवस्था गरोस् ।’ चौधरीले भनिन् ।
स्थानीय, प्रदेश र केन्द्र सरकारले तत्कालै उद्दार तथा राहत व्यवस्थापनका कार्य अगाडी बढाउनु पर्ने बताउँदै चौधरीले विगतमा आएका प्रकोपहरुमा स्थानीय तहमा राहत वितरण गर्दा राजनीतिकरण भएको पाइएकोले जनताको जिउधन जोगाउन गरिने कुनैपनि कार्यमा राजनीतिकरण गर्न नहुने सुझाइन् । ‘जनताको जिउधन भन्दा ठूलो केही हैन, यस्ता विपत्तिहरुमा राजनीतिकरण गरिनु मानवता हैन । सबैले समान रुपमा राहत पाउनु पर्छ ।’ विगतमा कोभिड–१९ को बेला, त्यसअघिको बाढी पहिरोको प्रकोपसँगै स्थानीय स्तरमा जनताका कुनैपनि दुखःपिडामा नेतृ चौधरीले दिल खोलेर सहयोग गर्ने गरेकी छन् ।
दुहवीका स्थानीय खोलाहरुमा आएको बाढीले दुहवी १, २, ३, ८, ९, १०, ११, १२ वडाहरु जलमग्न भएका छन् भने, स्थानीयको घरभित्र समेत पानी पसेको छ । बुधबार मात्रै दुहवी–इनरुवा सडक खण्ड भत्काएर पानीको निकास दिइएको भएपनि पूर्णरुपमा पानीको निकास भइसकेको छैन । बाढीले दुहवी स्थित नेपाल विद्युत प्राधिकरणको स्टेशन डुवानमा पर्दा पूर्वाञ्चल नै मंगलबारदेखि अन्धकारमा छ ।
नेतृ चौधरीको राहत वितरणलाई बर्जु –६ का वडाध्यक्ष बिनोदकुमार चौधरीले साथ दिएका थिए । उनी समेत बाढी पिडितको अनुगमन र निरीक्षणमा हिँडेका थिए ।