सेवाप्रवाह र विकास निर्माणमा किन बेवास्ता ?

देशमा पाँचदलीय गठबन्धनको सरकार भए पनि यो सरकार अन्योलग्रस्त देखिएको छ । अहिले मुलुकका विभिन्न स्थानमा विकास निर्माणका कार्यहरूमा जस्तै अवरुद्ध छ । सरकारी संयन्त्रले प्रभावकारी रूपमा काम गरिरहेका छैनन् । प्रशासनिक संयन्त्र अत्यन्तै सुस्त छ । जनताका जनजीविकाका सवालहरू ओझेल परिरहेका छन् । जबसम्म आमजनताका जनजिविकाका सवालहरू ओझेलमा पर्छन् तबसम्म जनताले सरकारप्रति अपनत्व जाहेर गर्न सक्दैनन् । जनताको अपनत्व ग्रहण गर्न नसक्ने सरकार कमजोर बन्छ । अहिले सरकारमा रहेकाले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुभन्दा पनि आफ्नै स्वार्थसिद्ध गर्ने कार्यमा नै लागिरहेको देखिन्छ ।

यदि, सरकारले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सकेन भने जनताको मतको अवमूल्यन भएको समेत ठहर्छ भने त्यस्तो सरकारमा रहेको दलललाई जनताले अर्को निर्वाचनमा नराम्ररी पराजित समेत गराइदिन सक्छन् । जनतामा ठूलो तागत र बल छ । जनताको तागत र बललाई कुनै पनि राजनीतिक दलले कम आक्नु हुँदैन ।

मानिसका आधारभूत आवश्यकतामा गास, बास, कपास मात्रै होइन अब त्यससँगै स्वास्थ्य, शिक्षा, सुरक्षा र प्रविधि समेत जोडिएर आउन थालेको छ । आफ्ना जनताले यी आधारभूत आवश्यकताको सहज प्रयोग गर्न पाएका छन् कि छैनन् भन्ने विषयमा सरकारी संयन्त्रले गम्भीरतापूर्वक मनन गर्न जरुरी छ । सरकार नागरिकका आधारभूत आवश्यकता परिपूर्ति नगरिकन एकैचोटी समाजलाई बदल्ने दिशामा जान सक्दैन ।

समाजमा माफियातन्त्र हावी छ । विचौलिया र भ्रष्टको रजगज छ । शासन सञ्चालन गर्दै आएका शासक प्रशासकमा स्वार्थ र अवसरवादिता हावी छ । समाज पनि बिस्तारै बिस्तारै नकारात्मकताको सिकार बन्दै गइरहेको छ । सिर्जनात्मक चरित्र बोकेका व्यक्ति पाउनै कठिन हुन थालेको छ । जताततै आवेग र उत्तेजना मात्रै देख्नुपर्ने बाध्यात्मक अवस्था छ । राजनीतिक नेतृत्व असल बन्न सकेमा कर्मचारीतन्त्र पनि असल बन्छ तर राजनीतिक नेतृत्व बद्मास र फटाहा भएमा कर्मचारीतन्त्र पनि त्यस्तै प्रकृतिको हुन्छ ।

त्यसैले अहिले प्रधानमन्त्री, मन्त्री तथा सत्तारूढ दलका नेतामा इमानदारीता, नैतिकता र पारदर्शीताको खाँचो देखिएको छ । उनीहरूले रातदिन काम गरेर जनतालाई केही न केही उपलब्धि दिनुपर्ने अवस्था छ । राजनीतिक नेतृत्वले प्रशासन क्षेत्रबाट प्रभावकारी रूपमा काम भए नभएको अनुगमन गरी परिणाम माग्नुपर्छ । कर्मचारीतन्त्रलाई विश्वासमा लिन सक्नुपर्छ । यसका साथै राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई कडाइका साथ दण्डको व्यवस्था गरिनुपर्छ ।

प्रधानमन्त्री, मन्त्रीहरूले सानातिना विषयमा ध्यान दिनुभन्दा पनि रातदिन खटिएर जनताका आधारभूत आवश्यकतालाई कसरी सुलभ रूपमा जनतासमक्ष पु¥याउन सकिन्छ भन्ने विषयमा सोचविचार गरी सोहीअनुसार नीतिनियम बनाउँदै त्यसको सशक्त र प्रभावकारी कार्यान्वयनका लागि ब्युरोक्रेसीलाई चलायमान गराउन सक्नुपर्छ । वर्षौदेखि थाती रहेका विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्छ ।

मुलुकको समग्र विकासमा केन्द्रित भई विकासलाई खरायो गतिमा दौडाउन सकियो र जनताका आधारभूत आवश्यकतालाई सहज रूपमा परिपूर्ति गराउन सकियो भने मात्रै सरकार सफल बन्न सक्छ । सबै प्रकारका स्वार्थलाई बिर्सिएर सरकारमा रहेकाले यस विषयमा गम्भीरतापूर्वक सोचविचार गरून् ।

तपाइको प्रतिक्रिया
(Visited 339 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पहिले जसलाई पराजित गरे, अहिले उसैबाट सपथ खाए