विश्वनाथ खरेल
पृथ्वीमा मानवको उत्पति भएदेखि नै नर र नारीको उत्पत्ति भएको कुरा इतिहासले प्रमाणित गरिसकेको छ । महिला पुरुष एक सिक्काको दुई भाग हुन् । कुनै रथ चल्नका लागि जसरी दुई पांग्राको आवश्यकता छ त्यसरी नै समाज चल्नका लागि महिला र पुरुषको सहयोग अपरिहार्य छ । महिला दिवस ग्रामीण महिलाको आँखामा छारो हाल्ने काम मात्र भएको छ । महिलाको हकहित गर्ने भनी खोलिएका थुप्रै गैरसरकारी संघ, संस्था मूकदर्शक भएर बसेका छन् ।
विश्व एक्काइसौं शताव्दीमा पुगे पनि पितृसत्तात्मक हाम्रो समाजमा भने महिलाप्रति गरिने भेदभाव र त्यसबाट उत्पन्न समस्या गम्भीर चिन्ताको विषय हो । हाम्रो समाजमा चेतनाको अभाव छ । जबकी राष्ट्रको उत्थानका लागि महिलाको योगदान पुरुषको भन्दा कम देखिँदैन । नेपोलियन बोनापार्टले भनेका पनि छन्, ‘एउटी असल आमाबाटै असल राष्ट्र निर्मित हुन्छ ।’ यो भनाइ कति सान्दर्भिक छ । हाम्रो देशमा मात्र हैन, संसारकै आधाभन्दा बढी खाद्यान्न मागको पूर्ति महिलाले नै गर्दछन् । महिला परिवारको सृष्टिकर्ता मात्र नभएर पालनकर्ता पनि हुन् ।
सन् १९१० मार्च ८ तारिखका दिन महिलाले पनि पुरुषसरह शैक्षिक, सामाजिक, आर्थिक र राजनैतिक अधिकार पाउनुपर्छ भनी सर्वप्रथम आवाज उठाएको सन्दर्भमा सोही दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाउन थालिएको हो । संसारका धेरैजसो देशमा महिला र पुरुषको संख्या बराबर भए पनि महिलाप्रति असमान व्यवहार भएको र प्रत्येक क्षेत्रमा महिलापछि परेको हुनाले आजभन्दा १ सय १० वर्षअघि चीन, ब्राजिल, डोमिनिकन गणतन्त्र र संयुक्त राज्य अमेरिकाका केही महिलाले सर्वप्रथम संगठित भएर महिलामाथि भएको व्यवहारप्रति चिन्तन गरेका थिए ।
त्यसैगरी सन् १९४५ मा संयुक्त राष्ट्र संघले सिद्धान्तको आधारमा महिला र पुरुषमा समानता कायम हुनुपर्छ भनी स्पष्ट गरिएको बडापत्र पारित गरेको थियो । सोहीअनुसार सन् १९४६ मा महिलाको स्थितिसम्बन्धी आयोगको गठन, सन् १९५१ म समान ज्यालासम्बन्धी महासन्धि, सन् १९५२ मा मत दिन पाउने राजनीतिक अधिकारसम्बन्धी महासन्धि, सन् १९५७ मा महिलाको नागरिकतासम्बन्धी महासन्धि, सन् १९६० मा पेसागत भेदभाव उन्मूलन, सन् १९६७ मा महिला उपर हुने सबै प्रकारको भेदभाव उन्मूलनजस्ता अन्तर्राष्ट्रिय निर्णय भए ।
हाम्रो बेद, धर्म ग्रन्थ र विभिन्न विद्धानले नारीहरूको उथानमा जोड दिएको पाइन्छ । त्यसैगरी, हिन्दू संस्कृतिमा पनि ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः’ अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ ईश्वर रमाउँछन् भनी नारीवर्गलाई उच्चस्थानमा राखिएको छ । यसै परिप्रेक्ष्यमा विकासको अग्रणी भूमिका निर्वाह गरी महिला तथा पुरुषको समान योगदान हुनुपर्ने कुरा महसुस गरिएको छ ।
तर, पनि हामी नेपालका अधिकांश ग्रामीण नारी निरक्षरताको अँध्यारोमा पूर्वाग्रह पीडित धारणाको धुवाँमा आफूले आफंैलाई भेट्टाउन नसकी परिचयहीन जिन्दगी बाँचिरहेका यथार्थ हामी कसैबाट लुकेको छैन । कति नारीले त भान्छा, पधेंरा र गोठ र दाउराभन्दा पर पनि संसार छ भन्ने कुराको चाल नै पाएका छैनन् । आज हामी एक्काइसौं शताब्दीको संघारमा आएर पनि कति नारीवर्ग त दासीपूर्ण जीवनयापन गर्नमा नै बाध्य हुन्छन् । वास्तवमा भन्ने हो भने समाज, संस्कार, संस्कृति, धर्म सबै पक्षले नेपाली नारीलाई यस्तै जीवन बाँच्न सिकाइरहेछ ।
नेपाली नारीमा सामान्य परिर्वतन ल्याउन, नारीप्रति पुरुष र समाजको धारणा, सोचाइ, मनोभावना, दृष्टिकोेण अथवा वैचारिक परिवर्तन नै जरुरी छ
आज मुलुकमा विद्यमान महिला समस्याको सरसर्ती मात्र अध्ययन गर्ने हो भने पनि सन्तोष गर्ने ठाउँ कतै नभएको कुरा नेपाली नारीले आभाष गरिरहेका छन् । परिवार, समाज, राष्ट्र सबैले नारीलाई गौण स्थान दिएको देखिन्छ । घर परिवारमा मात्र होइन देशको कृषि, उद्योग, शिक्षा, स्वास्थ्यजस्ता हरक्षेत्रमा नारीवर्गको देन छरिएको कुरा कसैबाट छिपेको छैन तर पनि यस कुराको सही मूल्यांकन कतै गरिएको पाइँदैन । नेपाली नारीको सामान्य परिर्वतन ल्याउन, नारीप्रति पुरुष र समाजको धारणा, सोचाइ, मनोभावना, दृष्टिकोेण अथवा वैचारिक परिवर्तन नै जरुरी छ ।
यसरी विभिन्न तहमा कार्यमूलक योजनाका प्रभावकारी कार्यान्वयनको आवश्यक छ । यो खाली भाषण नारा र प्रस्तावमा मात्र सीमित रहेर पुग्दैन । यसमा योजनाको कार्यान्वयका लागि ठोस कार्य गरिनुपर्ने आवश्यक देखिन्छ ।
विश्वमा एक्काइसौं शताब्दीको चपेटामा हँुदा पनि महिलाको दयनीय स्थिति हुनु सबैका लागि लाजमर्दो कुरा हो । यसरी महिलाको पछौटेपन र उनीहरूको शोषणका लागि मुख्यतः हाम्रो सामाजिक, आर्थिक र पारिवारिक संरचना नै जिम्मेवार भए पनि समाधानका लागि हालसम्म अपनाएका प्रतिरोधात्मक र उपचारात्मक दुवै किसिमका उपाय परिमाणमुखी हुनसकेका छैनन् ।
विगत केही वर्षयता नेपाली महिलाको हक, हित, तथा अधिकारका लागि नेपाली विधायकले पनि जनताको ध्यान वहसमा सीमित गर्न थालेका छन् । यसबेला महिला मुक्तिका अभियान पनि प्रशस्तै चलाइरहेका छन् । भनिन्छ, एउटा पुरुषलाई शिक्षित बनाउनु भनेको केवल एक व्यक्तिलाई मात्र शिक्षित गराउनु हो, तर एउटी नारीलाई शिक्षित बनाउनु भनेको पुरै परिवार नै शिक्षित बनाउनु हो । समान हक र समान अधिकारको नाराले मात्र चेतना विकास हँुदैन ।
नेपालमा त्यस्ता थुप्रै गाँउबस्ती छन् जहाँ बालबालिका र महिलाको दैनिक जीवन दाउरा धाँस काट्ने, स्याउला बोक्ने, गाई भैंसी चराउने योभन्दा बाहिरी धारमा आउन सकेका छैनन् । त्यहाँ स्कुल, शिक्षा, कुन चराको नाम भनेर भनिदिने कसले ? एक ग्रागी पानी लिन चार घण्टा हिड्नुपर्ने त्यस्तो दुर्भाग्यपूर्ण जीवन बाँचिरहेका ग्रामीणबासी पनि नेपालकै एक परिवेश हो । त्यस्ता ठाउँहरूमा न सरकार पुग्छ, न त एनजीओ, आईएनजीओ नै पुग्छ । महिला दिवसको नाममा ठूलाठूला व्यक्तिले ठूलाठूला पाँचतारे होटलमा गएर तीन चार लाइन बोलेका भाषणले मात्र महिला समस्या समाधान हँुदैन । यसका लागि त महिला चेतनाको विकास जरुरी छ । त्यसकारण हरेकको लागि शिक्षाको किरण प्रखर पार्नुप¥यो ।
अन्त्यमा भन्नु पर्दा यो दिन संसारभरि विभित्र कार्यक्रम गरेर सामाजिक, आर्थिकलगायत विकासका अन्य धेरै आयाममा नारीको सक्रिय सहभागिता अनि नेतृत्वको प्रशंसा गरिन्छ । संसारमा लैंगिक समानता एउटा अभियान केवल लमतन्न नारा मात्र भएको छ, निकै विकसित भनिएका देश पनि महिला उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् ।
मूलतः शक्तिराष्ट्र अनि प्रजातान्त्रिक अभ्यासको अद्वितीय देश अमेरिकाले समेत आजको दिनसम्म महिला राष्ट्रप्रमुखको स्वागत गर्न नसकेको इतिहासमा नेपालले महिला लैंगिक समानताबीचको एउटा गजब उदाहरण बनाएकै हो । यसको साथसाथै संसारले यस अर्थमा महिला दिवसको यो दिन नेपालीले राष्ट्रको महŒवपूर्ण नेतृत्व तहमा मातृŒवलाई गरेको छनोटलाई बेवास्ता गर्न सक्दैन । तर, पनि कमजोर कानुनी प्रावधान अनि नेपाली समाजको पैतृक लैंगिक संरचनाका कारण दैनिकजसोका समाचारमा महिला हिंसाका कैंयन घटना सार्वजनिक हुन्छन्, कति कानुनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखौटाबीच लुकाइन्छ, दबाइन्छ । अतः महिला एक गृहणी मात्र नभएर समाजको आधा बोझ थाम्ने दरिलो आधार पनि हो ।
तसर्थ, नारीका सम्पूर्ण समस्याको निराकरणका लागि नारीवर्ग नै शिक्षित एवं जागृत हुन एकातिर आवश्यक छ भने अर्कोतिर महिला समानताका जति कुरा गरे पनि व्यवहारमा नारीवर्ग माथि देखिने भेदभाव, शोषण र अन्याय अत्याचार भइरहेका छन् । औपचारिक पक्षलाई हेर्दा पनि समानताका लागि सरकारले कानुन समेत ल्याउन सकेको छैन । यसैले जनसंख्याको यो आधि भागलाई समानता र मुक्ति दिलाउन विश्वव्यापी रूपमै संघर्षको एउटा लहरको अझै आवश्यकता छ ।