कालिकोट । उमेरले २४ वर्ष मात्र पुगिन्, रास्कोट–७ की रामपुरा विक । १४ वर्षकै कलिलो उमेरमा विवाह गरेकी विक अहिले चार सन्तानकी आमा बनिसकेकी छन् ।
कक्षा ८ मा पढ्दै गर्दा कलिलो उमेरमै प्रेममा फसेर सोही नगरपालिका–८ मा विवाह गरेकी विकले अहिले पाउनुसम्म दुःख पाएकी छन् ।
उमेर नपुगी विवाह गर्दा २४ वर्षमै उनी चार सन्तानकी आमा बनिसकिन् । पहिलो छोरी जन्माएकी रामपुराले दोस्रो र तेस्रोपटक पनि छोरी नै जन्माइन् । तीनपटकसम्म छोरी जन्मिँदा छोराकै लागि तीन गर्भ तुवाउन बाध्य भइन् अन्तमा एक छोरा जन्माइन् घरमा भव्य खुसीयाली छायो ।
छोरा नभए अपुतो रहिन्छ भन्ने यहाँका समुदायको कुसंस्कारले गर्दा २४ वर्षको कलिलो उमेरमै चार सन्तानकी आमा बन्नु प¥यो । अन्तमा छोरा जन्मिँदा रामपुरालाई घरपरिवारबाट खुसी मनले बाँच्न पाउने आशा पलायो । छोरा जन्माएर घरपरिवारलाई त खुसी दिन सकिनन् तर, कलिलो उमेरमै चार सन्तानकी आमा बन्नुपर्दा शारीरिक रूपमा कमजोर भएको पीडा उनीबाहेक अरू कसैलाई थाहा छैन ।
कक्षा ८ मा पढ्दै गर्दा विवाह गरेकी रामुपुराको पढ्ने रहर त गुम्यो नै आर्थिक, रूपमा पनि निकै कमजोर बन्न पुगिन् ।
छिटो विवाहले उनले पढ्न न पाइन् न त उनका श्रीमान थप पुवारले पढ्न पाए । बीचैमा पढाइ पनि छाड्नु प¥यो । रहरै रहरमा विवाह गरी १५ वर्षको उमेरमा पहिलो सन्तान छोरी जन्माएकी उनलाई बिस्तारै घरको आर्थिक भार समेत थपिन थाल्यो ।
श्रीमान भारतमा मजदुरी गर्न गएका छन् । म स्थानीय बजारमा कपडा सिलाइ गरेर परिवार बालबच्चा पालिरहेकी छु । घरको जेठो छोरो कमाउने र पढाउने आर्थिक स्रोत नहुँदा घरपरिवार पाल्ल भारत जानुप¥यो । दैनिकी घर चलाउन श्रीमती, बालबच्चा, र घरपरिवार छोडेर भारतमा लेवरी गरेर अहिले परिवार पाल्ल परेको रामपुराले बताइन् । संगीसाथीले पढेर जागिर खाँदै गर्दा आफ्नो यो हालत देख्दा मन खिन्न हुन्छ ।
रामपुरा एउटा प्रतिनिधि पात्र मात्र हुन् । सानै उमेरमा विवाह गरेर आमा बन्नेको संख्या थुप्रै छ । सोही नगरपालिका–२ की कुमालको पनि व्यथा उस्तै छ । १५ वर्षको उमेरमा विवाह गरेकी कुमाल अहिले ५ सन्तानकी आमा बनिसकेकी छन् ।






