मारुती सिमेन्ट गुुणस्तरहीन

काठमाडौं । गुणस्तरविपरीत सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टलाई कारबाही गरेको छ । विभागले बुधबार मारुती सिमेन्ट, सिराहालाई ओपीसी ४३ ग्रेडको सिमेन्ट बिक्री वितरणमा रोक लगाउँदै कारबाही गरेको हो ।

विभागले नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको भन्दै यसअघि पनि मारुती सिमेन्टलाई कारबाही गरेको थियो । मारुती सिमेन्टले आफूले नपाएको गुणस्तर प्रमाण पाएको भन्दै गलत विज्ञापन गरेको थियो । यस विषयमा विभागमा उपभोक्ताको उजुरी परेपछि विभागले मारुतीलाई कारबाही गरेको थियो ।

सरकारद्वारा बिक्री वितरणमा रोक, सबै सिमेन्ट बजारबाट उठाउन निर्देशन

उता, विभागले मंगलबार सो सिमेन्ट कम्पनीबाट उत्पादित सिमेन्ट प्रयोगमा रोक लगाएको छ । सो कम्पनीबाट उत्पादित ४३ ग्रेडको ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन पनि विभागले कम्पनीलाई निर्देशन दिएको छ ।

विभागले विभिन्न मितिमा बजार अनुगमन गरी संकलन गरिएको सो कम्पनीको ओपीसी ४३ ग्रेडको सिमेन्ट गुणस्तरहीन भएकाले सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन निर्देशन दिएको छ ।

नेपाल गुणस्तर चिह्न प्राप्त सो कम्पनीको सिमेन्ट नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन २०३७ तथा नियमावली २०४० बमोजिम कारबाहीको दायरामा ल्याएको पनि विभागले भनेको छ ।

विभागबाट विभिन्न समयमा बजार अनुुगमन क्रममा संकलित नेपाल गुुणस्तर चिह्न प्राप्त वस्तुको नमुना विभागको प्रयोगशाला तथा उद्योग परीक्षण गर्दा गुणस्तरबमोजिम नपाएको हो ।

नेपाल गुणस्तर प्रमाण चिह्न लिएर सोही आधारमा बजारमा झुुठ फैलाई उपभोक्ता ठग्ने गरेको र उपभोक्ताले जीवनमा एकचोटि बनाउने घर निर्माणमा खेलाची गरी ज्यानसमेत जोखिममा पारेको बुधबारको कारबाहीले पुष्टि गरेको छ ।

संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्ज्थ (एमपीए) ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । नेपाल गुुणस्तर ५ सय ७२ बमोजिम नभएपछि विभागले सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ ।

यसअघि २०७६ असारमा पनि नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै मारुती सिमेन्टलाई कारबाही गरेको थियो । सोबेला अधिकतम ५ प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नाप जाँचका क्रममा त्योभन्दा बढी भएकाले सो सिमेन्ट गुणस्तरहीन भएको भन्दै कारबाही गरिएको थियो । ५ प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरको मानिँदैन ।

ओपीसी र पीपीसी सिमेन्टमा पाइने तत्वहरूमा म्याग्नेसियम अक्साइड अर्थात् एमजीओ पनि एक तत्व हो । म्याग्नेसियम अक्साइड प्रकृतिमै हुने भएकाले सिमेन्ट उत्पादन गर्दा यसलाई नियन्त्रण गर्नुपर्छ । सरकारले सिमेन्टमा एमजीओको मात्रा ५ प्रतिशतसम्मलाई ठीकै मान्दै आएको छ । सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई त्यति राम्रो मानिन्छ ।

अधिकांश विकासशील र विकसित देशमा भने एमजीओको मात्रा ४ प्रतिशत मात्रै राखिएको पाइएको छ । सिमेन्टमा एमजीओको मात्रा बढी भएमा यसले गिट्टी, बालुवा तथा इँट्टालाई राम्रोसँग नसमात्ने र सुकेलगत्तै फुट्ने वा चर्कने गर्छ । लामो समयसम्म बलियो नहुने भएकाले सिमेन्टमा एमजीओको मात्रा कम हुनु आवश्यक छ ।

यसैबीच विभागले धनुषाको जानकी केवल ई. प्रालि र बाराको श्री ग्यास वान प्रालिलाई पनि कारबाही गरेको छ । विभागले सो प्रालिले वितरण गर्दै आएको पीभीसी केवल बिक्री वितरण रोक्न र हालै वितरण गरिएका केवल फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

त्यस्तै, बाराको पिलुवाबाट उत्पादित श्री ग्यास वान प्रालिबाट वितरण गरिएका सबै ग्यास फिर्ता लिन पनि निर्देशन दिएको छ ।

सो कम्पनीले बोटलिङ गरी बजारमा पठाएको ग्यासमा क्याप नलगाएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको, सीभीटी मेसिन प्रयोग नभएको, एचएसटी मेसिन प्रयोग गर्नुपर्नेमा सोको प्रयोग नभएको, सिलिन्डर धुने पखाल्ने व्यवस्था नभएको, भल्भसमेत मर्मत नगरेको विभागले जनाएको छ ।

विभागले सो प्रालिलाई तत्कालै उत्पादन बन्द गर्न र १५ दिनभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 986 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित