चिलिमे—त्रिशूली थ्री बी साउनभित्र सञ्चालनमा आउने

काठमाडौं । रसुवा तथा नुवाकोटमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २ सय २० केभी प्रसारण लाइन र सबस्टेसनको समग्र निर्माण ६० प्रतिशत सकिएको छ । प्रसारण लाइनको निर्माण आगामी साउनभित्र सक्नेगरी काम धमाधम भइरहेको छ ।

आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीमा २२०÷१३२÷३३ केभीको क्रमश ः चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण भइरहेको छ । साथै, चिलिमे–त्रिशूली थ्री बी हब २ सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छन् ।

दुवै सबस्टेसनको सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआईएसलगायतका महत्वपूर्ण उपकरणहरूको आपूर्ति ६५ प्रतिशत भइसकेको छ । प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ । ६ वटा टावर खडा गरिएको छ । आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली थ्री बी हबसम्म आठ किलोमिटर चार सर्किट निर्माण गर्नेछ ।

भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ लगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ । आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनिज र परामर्शदाता पावर ग्रिड, भारत हुन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीले निर्माणाधीन सबस्टेसन र प्रसारण लाइनको स्थलगत अनुगमन गरी साउनभित्र काम सक्न निर्देशन दिएको छ । टोलीले आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी कुनै पनि बहानामा निर्माण कार्यमा ढिलाइ नगर्न र कामदार थपेर कामलाई तीव्रता दिन आग्रह गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले यो प्रसारण लाइन अत्यन्तै संवेदनशील र उच्च प्राथमिकतामा रहेकाले पटक पटक जनाएको प्रतिबद्धताअनुसार निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आग्रह गरे । ‘यसै प्रसारण लाइनमा जोडिने तीनवटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन्, यो या त्यो बहाना बनाएर निर्माणमा ढिलाइ गर्ने छुट कसैलाई छैन, त्यसैले निर्माणलाई तीव्रता दिनुहोस् हैन भने हामी नसक्ने भयौं भन्दै हात उठाएर हिँड्नुहोस्,’ उनले भने । ‘नगद प्रवाहको समस्या समाधान गर्न, साइटमा हुने अवरोध हटाउन हाम्रोतर्फबाट सक्दो सहयोग गर्नेछौं, निर्माण ढिलाइ भएर उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी ठेकेदारले लिनुपर्नेछ ।’

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत् चिलिमे हबमा जोडिनेछ । प्रसारण लाइन अभावमा आयोजनाको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङसहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत अनुगमनमा गएको थियो ।

टोलीले प्रसारण लाइन निर्माणमा आमाछोदिङ्मो गाउँपालिका—१ हाकुका बासिन्दाले बाहिरबाट कामदार ल्याएर काम लगाउन नहुने भन्दै गर्दै आएको अवरोधलाई हटाउन छलफल गरेको थियो । गाउँपालिका अध्यक्ष बुचुङ तामाङ, वडाध्यक्ष निमा दिन्डु तामाङ र स्थानीयवासीसँग हाकुमा छलफल गरिएको थियो । प्रसारण लाइनको अभावमा रसुवावासीको पनि लगानी रहेको आयोजनाको बिजुली खेर जाँदा यसबाट कसैले प्रतिफल नपाउने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले काममा अवरोध नगरी निर्माण कार्यमा सहभागी भई जतिसक्दो छिट्टो काम सक्न दिन आग्रह गरे । हाकु क्षेत्रमा १२ वटा टावर निर्माण गर्नुपर्नेछ । अहिले दुईवटा टावरको निर्माण सुरु भएको छ ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङ्गाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।

आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैंक, युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋण रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 447 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेमकिपाको घोषणा पत्र : नेपाली मौलिक शैलीको आवासमा जोड