बतासको गतिमा बढ्दै कोरोना

     खोकी, थकान र नाकबाट पानी बग्ने वा बन्द हुने लक्षण नै ओमिक्रोन संक्रमणका मुख्य लक्षण हुन्

पुस ३० गते शुक्रबार नेपालमा २० हजार ५ सय ६० नमुनामा पीसीआरबाट ४ हजार २ सय ४ र एन्टिजेनबाट ८ सय ८३ गरी कुल ५ हजार ८७ जना संक्रमित थपिएका छन् भने तीन जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा १ हजार ९ सय १३, ललितपुरमा ३ सय ७७ र भक्तपुरमा ३ सय १७ जना गरी उपत्यकामा २ हजार ६ सय ७ संक्रमित थपिएका छन् । जबकि, पुस २२ मा ५ सय ४०, पुस २७ गते २ हजार ४४ तथा पुस २९ मा ३ हजार ७५ जनामा पोजिटिभ पुष्टि भएको थियो । देशभर सक्रिय संक्रमित १८ हजार २ सय ३५ पुगेको छ ।
तेस्रो लहरको पूर्वसन्ध्यामा काठमाडौंसहित देशभरका स्वास्थ्य संस्थामा कार्यरत ठूलो संख्यामा स्वास्थ्यकर्मी र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ । तीव्र गतिमा फैलिरहेको ओमिक्रोन संक्रमणको नियन्त्रणको प्रभावकारी पहल नभए बिरामी उपचार प्रणाली नै प्रभावित हुने जोखिम छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । फ्रान्सका प्रधानमन्त्री जँ कास्टेक्सले ओमिक्रोनको संक्रमण बिजुली चम्केको गतिमा रहेको बताएका छन् ।

बढी संक्रामक

रुघाखोकी, ज्वरो, टाउको र राति सुत्नै नसक्ने गरी जिउ दुख्ने गरेको छ तर पीसीआर गर्न वा रिर्पाेट आउन बाँकी छ भन्ने यत्रतत्र भेटिन्छन् । मेरो पीसीआर पोजेटिभ आएकाले सम्पर्कमा आउनुभएका सबै साथीलाई सुरक्षा सावधानी अपनाउन आग्रह गरेका पनि सामाजिक सञ्जालमा बग्रेल्ती देखिन्छ । पहिलो र दोस्रो लहरमा लुकाउने नेपाली समाज हाल सकारात्मक र जिम्मेवार बनेको छ ।

डेल्टाबाट भन्दा ओमिक्रोन संक्रमणको दर ८० गुणा बढी तर मृत्यु हुने दर १० गुणा कम देखिएको छ


पहिलो लहरमा भाइरसले एक जनाबाट अर्काे दुई जनालाई, दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट पाँच जनासम्म संक्रमित गराउथ्यो भने तेस्रो अर्थात् ओमिक्रोनले १ जनाबाट १० जनालाई संक्रमित गराउने क्षमता राख्छ । त्यस्तै, खोप नलगाउनेमा लगाएको व्यक्तिमा भन्दा १० गुणा बढी संक्रमण, अस्पतालमा भर्ना भएर गाह्रो बनाउने १७ गुणा र मृत्यु हुने सम्भावना २० गुणाले बढी हुन सक्ने सम्भावना रहेको देखिएको छ । दोस्रो तथा डेल्टाबाट भन्दा ओमिक्रोनले भर्ना हुने दर ८० गुणा र मृत्यु हुने सम्भावना १० गुणा कम देखिएको छ ।
डेल्टाभन्दा फोक्सोमा नभई श्वासनलीमा आक्रमण गर्ने ओमिक्रोन ७० गुणा तीव्र गतिले फैलिने भए पनि मानव स्वास्थ्यका लागि विशेषत खोप लगाएकामा धेरै घातक देखिएको छैन । संक्रमण भएको २४ घण्टामै श्वासनलीमा भाइरस पाइएको छ । ओमिक्रोनले फोक्सोमा नभई श्वासनलीमा आक्रमण गर्नै र फोक्सोलाई कम असर देखाएकाले संक्रमित गम्भीर हुने खतरा पनि कम देखिन्छ ।

ज्वरोबिनाको ओमिक्रोन ?

कोरोनामा समयक्रमसँगै नयाँनयाँ भेरियन्टसँगै लक्षणमा पनि परिवर्तन हुँदै आएको छ । सुरुवाती समयतिर ज्वरो, खोकी र श्वासप्रश्वासमा अवरोध मुख्य लक्षण रह्यो भनेपछि स्वाद र गन्ध थाहा नपाउने समस्या थपियो । डेल्टाको लहरसम्म आइपुग्दा उपरोक्त तीन लक्षण मुख्य लक्षणका रूपमा निरन्तर देखिरहे तर ओमिक्रोन भेरियन्ट फैलिदै जाँदा यी तीन क्लास्किल लक्षण पछाडि पर्दै गएको खोजहरूले देखाइरहेका छन् । हालै बीबीसीले बेलायतमा गरेको सर्वेमा कसैलाई रुघाखोकी देखिए, त्यो ओमिक्रोन संक्रमण पनि हुन सक्ने समाचार प्रेषित भयो र त्यसपछिका अन्य देशमा समेत त्यस्तै लक्षणहरू देखिएको बताइएको छ ।

बेलायतको सर्वेमा ओमिक्रोन संक्रमितहरूमा सबैभन्दा बढी नाकबाट पानी बग्ने, बन्द हुने, टाउको दुख्ने, अत्यधिक थकान हुने, हाच्छिउँ आउने तथा घाँटी दुख्नेजस्ता समस्या देखिएका छन् । दक्षिण अफ्रिकामा जिउ, छाती, ढाड, जोर्नी, घाँटी दुख्ने र थकितजस्ता लक्षणहरू देखिएका छन् । नर्वेको समारोहमा फैलिएको ओमिक्रोनबाट संक्रमितहरूमा खोकी, नाकबाट पानी आउने, बन्द हुने, थकित, घाँटी र टाउको दुख्नेजस्ता लक्षण देखिएका थिए, ज्वरो प्रमुख लक्षण थिएन । त्यसो त अमेरिकाको सीडीसीले पनि खोकी, थकान र नाकबाट पानी बग्ने वा बन्द हुने लक्षण नै मुख्य लक्षण बताइसकेको छ ।

सरकारको पूर्वाधार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय २ आइसोलेसन, ३ हजार ८ सय ४६ एचडीयू, २ हजार ७ सय ९७ आईसीयू र भेन्टिलेटर १ हजार ८ छन् । १३ हजार ९ सय ३९ अक्सिजन सिलिन्डर, ६ सय ९३ अक्सिजन कन्सेन्ट्रेटर, ४७ अक्सिजन प्लान्ट तयारी अवस्थामै छन् । काठमाडौं उपत्यकामा मात्र २ हजार ४ सय ९४ आइसोलेसन बेड, ३ सय २४ एचडीयू, ४ सय ४५ आईसीयू र २ सय ५४ भेन्टिलेटर छन् । विश्वमा २ सय बढी देशमा संक्रमित २९ करोड ५७ लाख बढी र मृत्यु ५४ लाख ७६ हजार बढी भइसकेको छ । हाइफ्लो अक्सिजन, अक्सिजन कन्सेन्ट्रेटर खासै नभएको दोस्रो लहरबाट हाल ६ सय ९३ र क्यानुला ६ सय बढी छ । २५ अक्सिजन ट्यांकमा १९ वटा र १ सय ७ अक्सिजन प्लान्टमध्ये ८७ प्लान्ट सञ्चालनमा आइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुसदेखि आउने, माघको दोस्रोदेखि तेस्रो सातामा ऊत्कर्षमा पुग्ने र वैशाखसम्म सरकारले तेस्रो लहरमा कुल जनसंख्याको ४० प्रतिशत जनसंख्या संक्रमित हुन सक्ने आँकलन गरेको छ । माघमा मात्रै डेढ लाख बढी संक्रमित थपिने अनुमान छ । सामान्य संक्रमित २ लाख ४० हजार, गम्भीर संक्रमित १५ हजार, मध्यम लक्षण भएका ४५ हजार पुग्नेछन् । यसलाई हाल रहेको स्रोत र साधनले पुग्छ नै । दोस्रो लहरको उत्कर्षमा दैनिक २० हजार सिलिन्डर माग भएकोमा १० हजार मात्र पु¥याउन सकिएको थियो तथा यसपटक दैनिक ४० हजार सिलिन्डर अक्सिजनको आपूर्ति गर्न सकिन्छ ।

पहिलो लहरमा पूर्वाधार नै बनिसकेका थिएनन् र स्वास्थ्यसंस्थाहरू तयारीमै जुटे तर दोस्रो लहरमा अक्सिजन र बेडको अभाव निकै बढ्यो । तेस्रो लहरको आँकलनअनुसारको तयारीमा त छ ।

तेस्रो लहरको साइरन ?

विगत १ सातादेखि निरन्तर सयबाट हजारमा अर्थात् तेब्बर उकालो लाग्दै छ कोरोना संक्रमणदर । जसले तेस्रो लहरको साइरनका रूपमा लिइँदै छ । संक्रमण तीव्र रूपमा बढ्न थालेपछि २०७८ पौस २५ गते सीसीएमसीसीले १५ माघसम्म देशभरका आधारभूत र माध्यमिक विद्यालय वार्षिक बिदामा जोडिनेगरी बन्द गर्ने, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टेर र वार्षिक परीक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न, बिदाकै समयमा १२ देखि १७ वर्षका विद्यार्थी, अभिभावक, कर्मचारी र शिक्षकलाई खोप लगाउने, संक्रमणको चेन ब्रेक गर्न भिडभाड हुन नदिन २५ जनाभन्दा बढी भेला हुन नदिने, स्मार्ट लकडाउनको निर्णय स्थानीय सीडीओलाई दिनेसहित १३ बुँदे सिफारिस सम्बन्धित मन्त्रालयलाई दिएको थियो । जसअनुसार शिक्षा मन्त्रालयले र गृह मन्त्रालयले निर्णय नै गरिसकेका छन् । त्यस्तै, आन्तरिक उडानमा खोप तथा बाह्य उडानमा ७२ घण्टाभित्रको पीसीआर रिर्पाेट तथा सार्वजनिक सेवा लिन माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरिएको छ ।

अन्तमा, ओमिक्रोन पहिलाको कोरोनाजस्तो खतरा छैन मान्छे मार्ने होइन, अस्पतालसम्म पु¥याउने हो त्यही पनि खोप लगाइसकेकाले केही हुँदैन भन्ने कुरा यत्रतत्र सुन्नमा आइरहेको छ । समयक्रमसँगै छुवाछुत, भेदभाव र सेवाको पहुँचमा फरकता आएको होला । तर, यस्तै रे र सुन्नमा आएको विश्वास गर्नेले पहिला कोरोना संक्रमित भएका, अस्पताल भर्ना भएकालाई सुनांै कति उराठलाग्दो र डरलाग्दो छ कोरोना भनेर । आईसीयू भर्ना भएर आएका मजस्ता बिरामीलाई सोध्नुहोस्, अस्पताल पुग्नु के हो ? आफन्त र प्रियजन गुमाएकाको भनाइ सुनांै तब थाहा हुन्छ कति पीडादायक छ कोरोना भनेर । संक्रमणको समाधान अस्पतालमा नभई समुदाय, घर र आपूmमा खोज्नुपर्छ । जनस्वास्थ्यका मापदण्ड पालना नगरेसम्म संक्रमित हुनबाट बच्न सकिँदैन र रोकथाम पनि असम्भव छ ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुराका तीनै धाममा यस वर्ष १० हजार बढी तीर्थ यात्री सहभागी

कुरी-कुरी