कोरोना संक्रमित दिन दिनै थपिँदै, आइसोलेशन सेन्टरमा बस्न मान्दैनन्

सप्तरी, राजविराज । कोरोनाको तेश्रो लहरमा सप्तरीमा डेढ साता यता दैनिक संक्रमित थपिदै गएका छन् । पछिल्लो पटक शनिबार एक दर्जन संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालामा शनिबार २५ जनाको स्वाव परिक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा तीन महिला र ९ जना पुरुष छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार संक्रमण पुष्टि भएकाहरुमा कंचनरुप नगरपालिकाका सर्वाधिक ६, राजविराज नगरपालिकाका ३ तथा डाक्नेश्वरी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका एक÷एक जना छन् ।

यो सँगै कोरोनाको तेश्रो लहरमा संक्रमित हुनेको संख्या १ सय ८८ पुगेको छ । यस अवधीमा दुई संक्रमितको मृत्यु समेत भएको उनले जानकारी दिए । उनका अनुसार सबै संक्रमित होमआइसोलेशनमै छन् ।

संक्रमितहरु घरमै बस्ने इच्छा चाहना राखेकाले अस्पताल तथा विभिन्न स्थानिय तहहरुद्वारा संचालनमा ल्याइएको आइसोलेशन सेन्टर खाली अवस्थामा छन् । यहाँ गजेन्द्र नारायण सिंह अस्पताल, साई कृष्णा मेडिकल, भारदह अस्पताल, छिन्नमस्ता अस्पताल, युनिक अस्पताल, शत्रुघन अस्पताल, हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका र खडक नगरपालिकामा गरि ९ स्थानमा आइसोलेशन सेन्टर संचालनमा ल्याइएको भएपनि संक्रमित बस्न नरुचाउँदा सबै रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।

उनले भने, “अस्पताल र विभिन्न स्थानिय तहले आवश्यक सुविधासहितको कोभिड वार्ड तयारी अवस्थामा राखेपनि संक्रमित बस्न मान्दैनन् ।” उनले होमआइसोलेशनका नाममा संक्रमित घरमै बस्न थालेपछि सबैको निगरानी गर्न समस्या भएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

epaper

ताजा समाचार

पर्सामा पनि हटाइयो निषेधाज्ञा