सूचना र सञ्चार प्रविधिमा भएको तीव्र विकासले गर्दा अहिलेको आधुनिक विश्व नै एक गाउँमा रूपान्तरण भएको छ । दिगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अवलम्बन गरिएका रणनीतिको केन्द्रमा सूचना तथा सञ्चार प्रविधि रहँदै आएको छ । विश्वव्यापी रूपमा सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले सामाजिक अन्तरक्रिया तथा सेवा प्रवाहलगायतका सार्वजनिक महŒवका विषय सहज र सरल भएका छन् । यो प्रविधिको प्रयोगले विकासका अन्य पूर्वाधार व्यवस्थापनमा समेत सहजता
ल्याएको छ ।
प्रविधिको प्रयोगले खासगरी शिक्षण सिकाइमा आमूल परिवर्तन ल्याइ बृहत्तर राष्ट्रिय लक्ष्य हासिल गर्न प्रभावकारी सिद्ध भएको छ । वर्तमान परिवर्तित सन्दर्भमा विश्वका हरेक मुलुकले आफूलाई सूचना तथा सञ्चारको क्षेत्रमा अझ परिष्कृत बनाउने चाहना राख्नु स्वभाविकै हो । विश्व बजारको माग तथा बढ्दो जनचाहनाअनुसार जानका लागि सूचना तथा सञ्चारको सञ्जालमा प्रवेश गरी सो क्रममा आउने विविध चुनौतिलाई सामना गर्दै आफूलाई अद्यावधिक गर्दै जानुपर्ने अहिलेको टड्कारो आवश्यकता महसुस गरिएको विषय नै सूचना तथा सञ्चार प्रविधि बनेको छ ।
२१औं शताब्दीको जीवनयात्रा र जीवनपद्धतिसँग समायोजन हुन प्रत्येक मुलुकले आफ्नो शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिलाई भिœयाएका छन् । प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइ, शिक्षकको क्षमता विकास र विद्यालयको व्यवस्थापन प्रक्रियालाई सहज र प्रभावकारी बनाएको छ । रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, डिजिटल क्यामेराजस्ता सूचना सञ्चार प्रविधिका उपकरण शिक्षण सामग्रीका रूपमा परम्परागत सामग्रीभन्दा बढी सान्दर्भिक, उपयुक्त एवं प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ । सूचना प्रविधिमा चित्र, रङ र ध्वनिको सम्मिश्रण हुने हुनाले प्रभावकारी शिक्षा प्रदान गर्न सम्भव हुन्छ ।
विद्यालय र माथिल्लो तहको शिक्षाको प्रभावकारिताका लागि आवश्यक शैक्षिक सामग्री जस्तैः सफ्टवेयर, ई–बुक्स, भिडियो, अडियोजस्ता शिक्षण सामग्री तयार पारी प्रभावकारी रूपमा शिक्षण सिकाइमा प्रयोग गर्न सकिन्छ । विश्वभर शिक्षा क्षेत्रमा सूचना र सञ्चारक्षेत्र शिक्षाको विस्तार गर्ने, परिमार्जन गर्ने, नयाँपन दिने र प्रतिस्पर्धी बनाउन सहयोग गर्ने साधनका रूपमा प्रमाणित भइसकेको छ ।
प्रविधि प्रयोगको यस्तो अवस्था भएर पनि नेपालमा सूचना तथा सञ्चारको व्यवस्थित प्रयोग र यसको उच्चतम प्रतिफल लिन नसकिएको अवस्था विद्यमान छ । सीमित मात्रामा विद्यालय शिक्षा र उच्च शिक्षामा यससँग सम्बन्धित पाठ्यक्रम कार्यान्वयन हुँदै आएका छन् । जसले गर्दा शैक्षिक संस्था एवं शिक्षकले अत्यधिक रूपमा प्रविधिको प्रयोगमार्फत आफ्ना पठनपाठनका कार्य गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
विभिन्न आकासे प्रविधिका कारण परम्परागत प्राविधिक उपकरण विस्थापित हुने र दु्रत गतिमा चल्ने इन्टरनेटको सेवा प्रचलनमा आउनसक्ने अनुमान गर्न सकिन्छ । हरेक शैक्षिक संस्थामा दु्रत गतिमा चल्ने इन्टरनेट र प्रत्येक विद्यार्थीका हातमा अत्यधिक नयाँ उपकरण जस्तै आइप्याड, मोबाइल, ल्यापटपजस्ता सामग्रीबाट शिक्षण सिकाइमा आमूल परिवर्तन ल्याउन सक्ने अनुमान गरिएको छ । इन्टरनेट सेवाले विश्वलाई एउटा सानो गाउँजस्तो र प्रत्येक विद्यार्थी र शिक्षकलाई एक आपसमा जोड्ने कार्य गरेको छ ।
विश्वको कुनै एउटा कुनामा बसेर अर्को कुनाको हालखबर तथा ज्ञानगुनका विषय सहजै हासिल गर्न सकिने र आफ्ना प्रतिक्रिया पनि तुरुन्तै प्रदान गर्न सकिनेछ । यसका कारण शैक्षिक संस्थामा निकै ठूलो आर्थिक भार त पर्ने नै छ यसका अतिरिक्त शिक्षकले पनि आफूलाई प्रविधिमैत्री बनाउँदै लानुपर्नेछ । विकसित मुलुकका शैक्षिक संस्थाका कक्षाकोठा पूर्णरूपमा परिवर्तन हुनेछन् र कागजविहीन कक्षाकोठाको परिकल्पनाले भविष्यमा साकार रूप लिने अपेक्षा गर्न सकिन्छ । शिक्षकले आफूलाई पायक पर्ने कुनै पनि ठाउँबाट पढाउन सक्ने र विद्यार्थीले पनि आफूले चाहेको स्थानबाट शिक्षा ग्रहण गर्न सक्नेछन् ।
त्यसैगरी आफ्ना विद्यार्थीलाई आवश्यक पाठ्यसामग्री कुनै पनि बेला उनीहरूले डाउनलोड गर्न सक्नेछन् । ती पाठ्य सामग्रीमा चित्र, नक्सा, अडियो, भिडियो तथा अन्तरक्रियात्मक सामग्री हुन सक्नेछन् । जुन विद्यार्थीले आफ्ना मोबाइल ल्यापटप आदिमार्फत सहजै प्रयोग गर्न सक्नेछन् । यो विधि शिक्षक केन्द्रितभन्दा प्रविधि केन्द्रित हुनेछ, जसले विद्यार्थीलाई आफैं सिक्न प्रोत्साहन गर्नेछ । प्रविधि प्रयोगको यो अवस्थाले शिक्षकको परम्परागत भूमिकामा परिवर्तनको अपेक्षा गर्न सकिन्छ । विद्यार्थीले आवश्यकताअनुसार एकल अथवा समूहमा शैक्षिक क्रियाकलाप गर्नेछन् जसले गर्दा उनीहरूलाई बढी सामाजिकीकरण हुन सघाउनेछ । यस अवस्थामा शिक्षक र विद्यार्थीको प्रत्यक्ष भेटघाटको आवश्यकता पनि पर्दैन । विकसित राष्ट्रमा यस्तो प्रविधिको प्रयोग भइसकेको र यसबाट धेरै फाइदा पनि प्राप्त भएका उदाहरण छन् । आजको युग सूचना र सञ्चार प्रविधिको युग हो ।
युगानुकूल प्रविधिको विकास तथा उपयोग गर्ने मुलुकको शैक्षिक, आर्थिक, सामाजिकलगायत विभिन्न क्षेत्रमा भएको प्रगति र उन्नति तथा प्रविधिमा पछाडि रहेका र कम पहुँच हुने मुलुकबीच ठूलो खाडल रहेको वर्तमान सन्दर्भमा नेपालले पनि शिक्षामा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा देखिएको असमानता कम गर्दै प्रविधि प्रयोगको भविष्यलाई थप आशावादी बनाउनुपर्ने देखिन्छ । शिक्षा तथा सूचना र सञ्चार प्रविधिबीच अन्योन्याश्रित सम्बन्ध छ ।
शिक्षामा आईसीटीको प्रयोगबाट शैक्षिक अवसर विस्तारका साथै शैक्षिक गुणस्तर सुनिश्चित गर्ने, सिकाइलाई प्रभावकारी र दिगो बनाउनु तथा नवीनतम ज्ञानको संसारमा सहज प्रवेश गराउन सक्ने विषय प्रमाणित भइसकेको छ । यसका साथै प्रविधिको प्रयोगले शैक्षिक व्यवस्थापनमा प्रभावकारिता ल्याउन मूल्यांकन प्रणालीमा सुधार गर्ने, शैक्षिक सुशासनको प्रत्याभूति गर्नुका साथै शैक्षिक सेवा प्रवाहमा प्रभावकारिता ल्याउन सूचना तथा सञ्चार प्रविधिको प्रयोग अनिवार्य जस्तै भएको छ । त्यस्तै विद्यालय क्षेत्र सुधार कार्यक्रममा भएको व्यवस्था एवं राष्ट्रिय पाठ्यक्रम प्रारूपमा भएको व्यवस्थाले पनि आईसीटी प्रयोगको सान्दर्भिकतालाई थप पुष्टि गरेको छ ।
आव २०७५-७६ को बजेट वक्तव्यमा सूचना प्रविधिमैत्री शिक्षामार्फत सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न ग्रामीण दूर सञ्चार कोषको समेत उपयोग गरी सबै सामुदायिक विद्यालयमा उच्च गतिको निःशुल्क इन्टरनेट सेवा पु¥याइनेछ भन्ने व्यवस्थाले पनि शिक्षामा प्रविधि प्रयोगको भविष्यलाई सुनिश्चित गरेको छ । शिक्षण सिकाइका क्षेत्रमा दिनानुदिन अत्याधुनिक अवधारणा र सिद्धान्त प्रयोगमा आइरहेका छन् ।
अतः विश्व बजारमा फैलिएका अवसरलाई आत्मसात गर्न नसक्ने शैक्षिक उत्पादन शैक्षिक बेरोजगारमा परिणत हुन सक्छन् । यही अवस्थाले गर्दा शिक्षण सिकाइको क्षेत्रमा सूचना तथा सञ्चार प्रविधि प्रयोगको भविष्यलाई सुनिश्चित गर्दै वर्तमान नेपालको विद्यालय तहदेखि उच्च तहसम्म सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई बढाउनुपर्ने देखिन्छ ।
लेखक म्याङ्लुङ क्याम्पस तेह्रथुमका अध्यापक हुन्






