काठमाडौं । कोरोना महामारीको तेस्रो लहरसँगै आएको नयाँ भेरियन्ट ओमिक्रोन सबै प्रदेशमा फैलिएको छ । पछिल्लो अवस्थामा कोरोनाको नयाँ भेरियन्ट सबै प्रदेशमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्रले जानकारी दिइन् ।
‘अझै खोप लगाउन बाँकी हुनुहुन्छ । संक्रमणको नयाँ भेरियन्टको जोखिम छ, सबै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको छ,’ प्रवक्ता मिश्रले भनिन् । उनले २४ वा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन र तीन जनामा डेल्टा भेरियन्ट पुष्टि भएको बताइन् । डा. मिश्रको अनुसार हालसम्म कोरोना संक्रमणदर ३३.९ प्रतिशतमा झरेको छ ।
हाल कोरोना संक्रमणदर घटे पनि जोखिम भने कायमै रहेको उनले बताइन् । पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमण दर घट्दो क्रममा छ । बुधबार मात्रै थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट एकै दिन १२ जनाको मृत्यु भएको छ ।
४ लाख ८४ हजार ४ सय ७९ जनाले लगाए बुस्टर डोज
मन्त्रालयका अनुसार देशभर करिब ५ लाख जनाले कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज लगाएका छन् । कोरोनाविरुद्धको पूर्ण खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्ति, ज्येष्ठ नागरिकसहितलाई सरकारले बुस्टर डोज दिइरहेको छ । हालसम्म ४ लाख ८४ हजार ४ सय ७९ जनाले बुस्टर डोज लगाएको मन्त्रालयकी प्रवक्ता डा. मिश्रले जानकारी दिइन् ।
हालसम्म १ करोड ७१ लाख ४४ हजार ८ सय ६७ जनाले पहिलो डोज र १ करोड ४८ लाख २८ हजार ९ सय ५३ जनाले दुवै डोज अर्थात् पूर्ण मात्राको खोप लगाइसकेका छन् । नेपालमा ४ करोड ५७ लाख ८ हजार ६ सय ४० डोज खोप ल्याइएको छ ।
फैलँदै ओमिक्रोनको सहायक भेरियन्ट
कोरोना भाइरसको निकै चाँडो फैलने ओमिक्रोन भेरियन्टको सहायक भाइरस बीए२ विश्वमा तीव्र रूपमा फैलिरहेको छ । ओमिक्रोनको सहायक भेरियन्ट ओमिक्रोन जत्तिकै गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
डेनमार्कलगायतका कतिपय देशमा ओमिक्रोनको बीए२ सहायक भेरियन्टले बीए१ भेरियन्टलाई प्रतिस्थापन गरिरहेको बताइएको छ । विश्व स्वास्थ्य संगठनको कोभिड–१९ रेस्पोन्सका डा. बोरिस पाभलिनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सम्बोधनअनुसार विभिन्न देशहरूमा बीए२ बढिरहेको भए पनि अस्पतालमा भर्ना हुनेको संख्या न्यून छ ।






