राजनीति र जनविश्वास आर्जनका कुरा

प्रारम्भ
राजनीतिले जनताको विस्वास आर्जन गर्दा मात्र दिगोपना प्राप्त गर्छ । मतदाताहरू सन्तुष्ट रहँदा सरकारी नीति तथा कार्यक्रमले जनताको अनुमोदन र मान्यता प्राप्त गर्ने अवस्था बन्छ । राजनीतिक मूल्य र मान्यतालाई लोकतान्त्रिक दलहरूले पूर्णरूपमा मान्नुपर्छ भनिन्छ । तर, निरपेक्ष रूपमा लोकतान्त्रिक र दलीय मूल्यमान्यता अवलम्बन भएको अवस्था हुन सक्छ वा सक्दैन ? बहसको विषय बनेको छ । यद्यपि, इमानदारितापूर्वक मूल्यमान्यताप्रति समर्पित हुँदै निरन्तर प्रयास गर्दै जाँदा यसको निकट पुग्न सकिन्छ । कतिपय प्राकृतिक सन्दर्भहरू, संस्कृति रहनसहन सामाजिक परम्पराले समाजमा लामो समयदेखि पकड जमाएर बसेका हुन्छन् । यी विषयलाई राजनीतिले चाहँदा सहजै परिवर्तन गर्न सकिने हुँदैन । उदाहरणका लागि कट्टर हिन्दू धर्मावम्बीले राजालाई विष्णुको अवतारका रूपमा ग्रहण गर्छन् र गणतन्त्रप्रति समर्पित गराउन धेरै कठिन हुन्छ । साम्यवादी शासन व्यवस्थामा धार्मिक प्रवृत्तिका मानिसलाई आत्मसात् गराउन उत्तिकै असहज हुन्छ । राजनीतिले समाजमा व्याप्त परम्परा, संस्कृति, रहनसहन, प्राकृतिक ध्रुव सत्य पक्षहरूलाई स्वीकार गरी यसैका आधारमा आफ्ना आस्था, सिद्धान्त र विश्वासलाई जनताबीच प्रस्तुत गर्दै प्रगति उन्मुख हुनेगरी रणनीति तय गरिनुपर्छ । देशको भौगोलिक अवस्था, वातावरणीय पक्ष, समाजले अवलम्बन गर्दै आएको धर्म, देशको आर्थिक अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति सबैलाई मध्यनजर गर्दै आफ्ना आदर्श र सिद्धान्तप्रति निष्ठावान् रही गरिएको राजनीतिले अन्ततोगत्वा सफलता प्राप्त गर्छ । यही परिवेशमा नेपालको राजनीति कसरी अघि बढिराखेको छ ? सोको संक्षेपमा विश्लेषण गर्ने प्रयास यस सानो आलेखमा गरिएको छ ।

सस्तो लोकप्रियता आर्जन गर्दै नेपाली राजनीति
नेपालको राजनीति बहुदलीय प्रणालीको कार्यन्वयन हुँदै गर्दा अत्यन्त आलोचित बन्दै गएको छ । पहिला विभिन्न दलहरूले जनतासामु राखेका दलीय सिद्धान्त र आदर्श’bout सबै दल कुन हदसम्म इमानदार देखिएका छन् ? छलफल गरांै । विशेषगरी नेपालमा तीन प्रकारका दल रहेका छन् । लामो समयदेखि लोकतन्त्रको बहाली र पुनर्वहालीका लागि अनवरत संघर्ष गर्दै आएको नेपाली कांग्रेसले लोकतान्त्रिक दलका रूपमा नेपाली जनतासमक्ष पहिचान बनाउन सफल छ । यो दललाई नेपाली जनताले अन्य दलभन्दा धेरै सम्मान र समर्थन गरेका छन् । तर, यही दलले सरकारको नेतृत्व गरेका समयमा अन्तरदलीय द्वन्द्वले चरम सीमा नाघ्यो । आफ्नै नेताविरुद्ध अन्तरघातका दृश्य सघन रूपमा देखिन पुगे । सांसद किनबेच र पटकपटक संसद् विघटन गर्ने गलत अभ्यासले निरन्तरता प्राप्त गर्दै गयो । जननायक स्व. बीपी कोइरालाको सिद्धान्तविपरीत साम्यवादीसँग गठबन्धन गर्दै जाँदा नेपालीहरूलाई यस दलको पहिचान स्वीकार गर्न कठिन बन्दै गयो । आफ्ना नेता तथा कार्यकर्ताहरूको अकारण हत्या गर्दै राजनीतिमा आफ्नो अस्तित्व कायम गर्न सफल माओवादीसँग चुनावी गठबन्धन गर्दै सरकारमा पटकपटक सहभागी भयो । आफन्तहरूको हत्या गर्ने पात्रहरूको पक्षमा उनीहरूकै कार्यकर्ता बन्न केन्द्रीय नेतृत्वले बाध्य पार्दै गर्दा यस दलका इमानदार कार्यकर्ताहरूको मनोबल आफ्नै दलका कारण अत्यन्त गिर्दै गयो । मनोबल गिरेका कार्यकर्ताहरूबाट निर्वाचनमा विजयी हुने सोचका साथ नेका अघि बढिराखेको छ ।

सांसद किनबेच र पटकपटक संसद् विघटन गर्ने गलत अभ्यासले राजनीतिप्रति जनताको विश्वास गुम्दै गयो

साम्यवादी घटकमा पुरानो दल माले हाल एमाले बनेको छ । नेपालका सबै कम्युनिस्ट दलहरू आफ्ना ब्रान्डप्रति समर्थित मतदाताहरूको समर्थन यथावत् राख्न मात्र तल्लीन छन्, अन्यथा नेपालका कम्युनिस्टहरूमा थोरै पनि कम्युनिस्ट शैली र सिद्धान्तलाई आत्मसात् गरेको देखिँदैन । झापा काण्डबाट प्रारम्भ भएको माले अहिले एमालेका रूपमा संसद्मा सबैभन्दा ठूलो दल बन्न सफल छ । आदर्श, सिद्धान्त र एजेन्डालाई तिलाञ्जली दिँदै कम्युनिस्टहरूको एकल उद्देश्य सरकारमा पुग्ने, स्रोत संग्रह गर्ने, आफ्नो समूह उपसमूहको संरक्षण गर्ने मात्र भएको छ । १७ हजार नेपालीहरूको हत्यामा नेतृत्वदायी भूमिकामा रहनेहरू पटकपटक सरकार प्रमुख बनिसकेका छन् । पथभ्रष्ट भएकै कारण कम्युनिस्ट दलहरू पटकपटक विभाजित हँुदै आएका छन् । यो विभाजन कुनै सिद्धान्तमा आधारित कहिले पनि भएको देखिएन । एउटा समूह राष्ट्रिय ढुकुटीमा हलिमुहाली गर्दा अर्को समूह उपेक्षित हुनु नै नेपालका साम्यवादीहरूमा फुट आउनुको मुख्य कारण हो । निहत्था व्यक्तिको हत्या गरेर राजनीति गर्दै आएका दलहरूले सो हत्याको पुष्टि सरकारमा रहँदा गर्न सकेका छैनन् ।

क्षेत्रीय एजेन्डा बोकेर राजनीति गर्दै आएका मधेसवादी दलहरू एक मधेस एक प्रदेश र स्वतन्त्र तराईको एजेन्डा देखाएर राजनीति गर्दै छन् । सरकारमा रहँदा उनीहरूको एजेन्डा पनि प्रायः छायामा पर्छ । सरकारबाट बाहिरिनुपर्दाको पीडाको परिणाम स्वरूप पुनः यो एजेन्डा बेलाबखत सडकमा देखा पर्छ । मधेसी जनताबीच यी दलहरूले आफ्नो विश्वसनियता गुमाउँदै गएका छन् । स्वार्थ लोलुप झुन्डको व्यक्तिगत अभिष्ठबाट यी दलहरूको राजनीति परिचालित छ । मधेसवादी नेताहरूले मधेसीहरूप्रति विश्वासघात गरिराखेको अभिव्यक्ति मधेसीहरूबाटै अभिव्यक्त भइराखेको छ । मधेसवादीका नाममा लामो समयदेखि विभिन्न समूह अस्तित्वमा आउँदै गर्दा यी दलहरूको दृढता र प्रतिवद्धता मधेसी जनताप्रति हो वा होइन ? सन्देह गरिँदै छ । यद्यपी, यो क्षेत्रीय दल हो ।

युवाहरूले प्रारम्भदेखि नै आफ्नो सच्चरित्रता र इमानदारितामा कुनै प्रश्न चिह्न खडा हुन दिनुहुँदैन

यस प्रकार यी तीनवटै दलहरूबाट नेपाली जनता शासित भइराखेका छन् । शासकीय शैली विचित्रको छ । अत्यन्त सुन्दर र आकर्षक नारा दिँदै जनतालाई अलमलमा पारिँदै छ । यी नाराहरू, एजेन्डाहरू कहिले पनि सफलतापूर्वक कार्यन्वयन हुन सक्ने प्रकारका थिएनन्, छैनन् । यिनीहरूले निर्वाचनका बेलामा गरेका प्रतिज्ञा कहिले पनि यथार्थतामा परिणत भएनन् । दोस्रो हो, सत्तामा जसरी पनि पुग्नुपर्ने गलत धारणाबाट शासक अघि बढे । निरपेक्ष शक्ति आफैंमा केन्द्रित गरी स्वेच्छाचारी निर्णय र नीतिहरू निर्माण गर्दै गए । यसबाट भविष्यमा देखिने परिणाम’boutमा थोरै पनि चिन्ता शासकहरूमा महसुस गर्न सकिएन । यी दुवै तरिकाहरूबाट सरकारमा रहनेहरू अभ्यस्त हुँदैगर्दा नेपालका राजनीतिक दलहरूको स्वीकार्यता जन स्तरमा हुन सकेको छैन । एकपटक नेपालको राजनीति’boutमा पछि फर्किएर हेरौं । स्व. बीपी कोइरालाले प्रजातान्त्रिक समाजवादको एजेन्डालाई महŒव दिँदै गर्दा अहिलेका उनकै चेलाहरूले यसलाई प्रभावकारी रूपमा अघि बढाउन सकेनन् । समाजवादी चरित्र निर्माण पनि गर्न सकेनन् । कम्युनिस्टका संस्थापक नेता स्व. पुष्पलालले चीनबाट आयातीत नारा नयाँ जनवादलाई अघि सारेका थिए तर त्यसपछिका साम्यवादीहरूले यसलाई आत्मसात् गरेनन् । स्व. मदन भण्डारीले जनताको बहुदलीय जनवादका आधारमा आफ्नो दललाई अघि बढाउने नारा दिए, दलबाट स्वीकृति पनि भयो । तर, उनकै समकालीन कमरेडहरूले यसलाई वैज्ञानिक समाजवादको पुनरावृत्तिबाहेक अन्य केही नभएको आलोचना गरे । प्रचण्डजीले २१आंै शताब्दीको लोकतन्त्रको अवधारणा अघि सारे तर यो पनि माओ त्से तुंगले सात दशक अगाडि राखेको अवधारणाभन्दा पृथक केही देखिएन । सान्दर्भिकता नरहेको निष्कर्ष कमरेडहरूबाटै आइराखेका छन् । यसरी विभिन्न दलका नेताहरूले विभिन्न कालखण्डमा प्रतिपादन गरेका नारा किन आंशिक रूपमा पनि कार्यान्वयन हुन सकेनन् ? यसको उत्तर खोजी गर्दा दुईवटा निष्कर्षमा पुग्न सकिन्छ । उनीहरूले राष्ट्रनिर्माणका लागि तयार पारेका दस्ताबेज आफंैमा पूर्ण थिएनन् । धेरै प्रकारका कमिकमजोरी थिए । दोस्रो हो, यसलाई पूर्ण प्रतिबद्धताका साथ् कार्यन्वयनमा लैजानेहरू आफंै भ्रष्ट चरित्रका देखिए । यो स्वाभाविकै हो कि यदि कुनै पनि नीति, नारा अव्यावहारिक छन् भने ती कार्यन्वयन हुन् सक्दैनन् । साथै कसैले प्राप्त गर्ने नसकिने इच्छा राख्छ भने त्यो कसरी साकार होला ? नेताहरूले देशको विकास पर्याप्त गर्दै नेपाललाई यस धर्तीको स्वर्ग बनाउने, सबै प्रकारका समृद्धि हासिल गर्ने, नेपालीहरूको मुहारमा सुख सन्तोष प्रदान गर्ने कल्पनारूपी अभिव्यक्ति दिँदै गर्दा जनताको अवस्था अझै दयनीय हुँदै गएको छ । देशमा न्याय मर्दै गएको छ । भ्रष्टाचारले संस्थागत स्वरूप ग्रहण गरिसकेको छ । अल्प अवधिमा नवधनाढ्य देखिँदै छन् । यसबाट देशको राजनीति र यसका पात्र तथा शासकहरूले जनताको विश्वास आर्जन गर्न सक्ने अवस्थाको कल्पना गर्न सकिने स्थिति रहेन ।

उपसंहार
राजनीति गर्नेहरूको काल्पनिक सपनाको आधारलाई नेपालीहरूले क्षमा गर्न सक्लान् । यसका लागि उनीहरूमा अबका दिनमा सुधार आउनुपर्छ । तर, उनीहरूका व्यक्तिगत र झुन्डगत अभिष्टका आधारमा कार्यान्वयनमा रही गरिएका कुशासनलाई समझदारी गर्दै अघि बढ्न सकिँदैन । वर्तमान अवस्थाले निरन्तरता प्राप्त गर्दै जाँदा ठूलो अनिष्टको सामना देशले गर्नुपर्नेछ । यी शासक आपूmले खनेको खाल्डोमा आफंै पुरिनेछन् । यसका लागि विभिन्न दलहरूका युवा कार्यकर्ता तथा नेताहरूले आफ्ना शीर्षस्थहरूलाई नियन्त्रण गरी सही दिशामा अभिमुख गराउन सक्नुपर्छ । अब पटकपटक प्रयोगमा आइसकेकाहरूबाट देशले पाउने कुशासन मात्र हो ।
युवाहरूले प्रारम्भदेखि नै आफ्नो सच्चरित्रता र इमानदारितामा कुनै प्रश्न चिह्न खडा हुन दिनुहुँदैन । पूर्ण अनुशासित र मूल्य एवं मान्यता तथा आदर्शको राजनीति गर्नुपर्छ । युवाहरूसँग यो विश्वमा रूपान्तरण ल्याउन सक्ने अदभूत शक्ति हुन्छ । नीतिका आधारमा शासन र दल परिचालन गर्न सबैलाई विश्वस्त गराउन सक्नुपर्छ । यसो भएमा मात्र नेपालको शासकीय शैली र नेताहरूको आचरणमा सुधार आउन सक्छ । यो एजेन्डामा मूल प्रवाहीकरण हुन नसक्ने नेतृत्वलाई बिदा दिन युवा दृढ रहँदा नेपाली जनताको समर्थन सहजै प्राप्त गर्ने अवस्था छ । तर, निर्णय निर्भीकताका साथ लिन सक्ने सामथ्र्य हाम्रा युवाहरूमा छ छैन ? त्यसैमा राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत विकासको पाटो निर्भर हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 468 times, 1 visits today)

epaper

ताजा समाचार

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य