राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारी हटाइए

काठमाडौं । सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीलाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चुरे विकास समितिका पाँचै जनालाई हटाउने निर्णय गरेको हो ।

चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने नाराका साथ स्थापना भएको चुरे विकास समितिका पदाधिकारी यसअघिको सरकारले नियुक्त गरेको थियो । केपी शर्मा ओली नेतृत्व सरकारले नियुक्त गरेका समितिका पदाधिकारीलाई वन तथा वातावरण मन्त्रालयको सिफारिसमा सोमबार मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको हो । समितिका अध्यक्ष डा. किरण पौड्याल, सदस्यहरू कमला ओली शिवाकोटी, शशीकुमार शर्मा, डा. सुस्मिता ढकाल र भेषराज आचार्यलाई सरकारले हटाएको हो ।

करिब ४ करोड वर्ष पहिले हिमालयको उत्पत्तिका क्रममा नदीजन्य पदार्थ थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड चुरे शृंखला दिनानुदिन दोहन हुन थालेपछि सरकारले संरक्षणका लागि छुट्टै निकाय गठन गरी संरक्षण गर्दै आएको छ । पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरे शृंखला शिवालिकको नामबाट पनि चिनिन्छ । नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा झन्डै ८०० किमी क्षेत्रमा फैलिएको र कुल भूभागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्रको संरक्षणका गतिविधि सञ्चालन भइरहेका छन् । त्यसको व्यवस्थापनका लागि गठन भएको समितिको पदाधिकारी हट्दा समिति कर्मचारीको भरमा पर्नुपर्ने अवस्था आएको छ ।

अधिकांश ठाउँमा तराईको भूभाग सकिएर माथि उठेको भूभाग तथा महाभारत क्षेत्रको भूभागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रूपमा चुरे पहाड रहेको छ । सामान्यतया पूर्णरूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०६६÷६७ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयनको सुरूवात गरेकोमा त्यसलाई अझ सशक्त ढंगले अघि बढाउन विसं. २०७१ असार २ गते राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठन गरी नेपाल सरकारको २०७४ साल जेठ २ को निर्णयानुसार गुरुयोजना स्वीकृत भई सोअनुरूप कार्यक्रम कार्यान्वयन भइरहेको छ ।

भौगर्भिक, भौगोलिक अवस्था र परिस्थितिकीय प्रणालीअनुकूल चुरे पहाड (खोंचसहित) र भावर क्षेत्रका प्राकृतिक स्रोतहरू (भूमि, पानी, वनस्पति र जैविक विविधता)को दिगो व्यवस्थापन सुनिश्चित गरी त्यहाँ बसोबास गर्ने व्यक्ति तथा समुदायको जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्युनीकरण गर्ने समितिको मुख्य उद्देश्य रहेको छ । चुरे पहाड, दुन र तराई मधेशमा जल–उत्पन्न प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणका साथै वातावरणीय सेवा प्रवाहको निरन्तरता दिने उद्देश्यले स्थापना भएको समिति सोमबारबाट पदाधिकारीविहीन बनेको हो । गार्हस्थ ऊर्जा उपयोगमा सुलभताका साथै राष्ट्रिय वनबाट टाढा रहेका बासिन्दा (खास गरी तराई मधेश)लाई काठ, दाउरा र अन्य इन्धन स्रोतको उपयोगमा पहुँच वृद्धि गर्ने काममा समितिले काम गरिरहेको छ ।

चुरे शृंखला नेपालको ७७ जिल्लामध्ये ३७ जिल्लाका केही भूभाग ओगटी फैलिएको छ । यसको चौडाई (उत्तर दक्षिण)ठाउँअनुसार १० देखि ५० किमीसम्म भएको पाइएको छ । गुरु योजनाले २० वर्षमा १ सय ६४ वटा नदी प्रणालीहरू व्यवस्थापन गर्नुपर्ने छ भनी उल्लेख गरेको छ भने पहिलो ५ वर्षमा सबै नदी प्रणलीहरूको संरक्षण र व्यवस्थापन गरिने योजना बनाएको छ । समितिले प्राकृतिक स्रोत क्षय÷ह्रास न्यूनीकरण, वातावरण स्थिरीकरण र उत्पादकत्व वृद्धि, जलवायु परिवर्तन तथा जल उत्पादन प्रकोप जोखिम प्रभाव न्यूनीकरणका लागि आवश्यक कामहरू गरिरहेको छ ।

यसैगरी, समितिले एकीकृत नदी प्रणाली स्रोत व्यवस्थापन पूर्वधार निर्माण, उपल्लो जलाधार क्षेत्रका भूस्खलनग्रस्त क्षेत्र स्थिरीकरण, नदी कटान तथा डुबानबाट हुने क्षति न्यूनीकरणका लागि फिल्ड अफिस सञ्चालन गरी काम गरिरहेको छ । यस्तै, वन क्षेत्रबाहिर वन विकास, नवीकरणीय ऊर्जा प्रविधि विस्तार, बहुविषयगत क्षेत्र तथा संस्थागत विकाससँग सम्बन्धित कार्यक्रम सञ्चालन भइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,182 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे कनका सुन्दरी र हिमाकाे नतिजा काँग्रेसकाे पाेल्टामा