एमसीसी सम्झौताविरुद्ध देशैभरि विरोध प्रदर्शन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमै संसद्बाट पारित गर्न नसकिने भन्दै आइतबार देशैभरि विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट यथास्थितिमै पारित गर्नका लागि अगाडि बढ्न खोजेपछि सत्तारूढ एकीकृत समाजवादीले सडक आन्दोलनमा उत्रेको हो ।

काठमाडौंसहित देशैभरि एकीकृत समाजवादी तथा जनवर्गीय संगठनले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् । एमसीसी सम्झौता यथास्थितिमै पारित गर्न सकिँदैन, एमसीसी सम्झौता खारेज गर, नेपालको संविधान सबैभन्दा माथि हो लगायत नारा लगाउँदै एकीकृत समाजवादीले विरोध प्रदर्शन गरेको हो ।

पाँच दलीय गठबन्धनको सरकार अहिले छ । तर, प्रधानमन्त्री देउवाले संसद्मा टेबुल गर्ने रणनीतिअनुसार अगाडि बढेका छन् । यस विषयमा शीर्ष नेताबीच पटक पटक छलफल हुँदै आएको भए पनि सहमति जुट्न सकेको छैन । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले यथास्थितिमै एमसीसी सम्झौता संसद्बाट पारित गर्नुहँुदैन भन्दै दबाबका लागि विरोध प्रदर्शन गरिएको बताए ।

‘हामी यथास्थितिमै एमसीसी पारित गर्ने पक्षमा छैनौं । एमसीसी सम्झौताका केही सर्त संशोधन गर्नुपर्ने आवश्यकता रहेको छ । तर, देशविरुद्ध रहेका ती सर्त संशोधन नगरी यथास्थितिमै पारित गर्ने खेल भइरहेकाले हामी देशैभरि विरोध प्रदर्शनमा उत्रेका हौं’ प्रवक्ता खतिवडाले भने ।

पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा सत्तारूढ पाँच दलीय गठबन्धनले एक उच्च स्तरको अध्ययन कार्यदल गठन गरेको थियो । सो कार्यदलको सदस्यमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

कार्यदलका संयोजक खनालले एमसीसी सम्झौता यथास्थितिमै संसदबाट पारित गर्न नसकिने बताए । खनालले त्यसका केही सर्त संशोधन नगरी पारित गर्न नसकिने बताए ।

‘पाँच दलीय गठबन्धनले कार्यदल गठन गरेपछि हामी अध्ययनमै छौं । विगतका सरकारका समयमा भएका सहमतिलगायतका विभिन्न विवरण हामी लिएर अध्ययन गरिरहेका छौं । अहिलेसम्मको अध्ययनअनुसार त्यसका केही सर्त यस्ता छन् कि त्यसलाई संशोधन नगरी संसद्बाट पारित गर्नै सकिँदैन’ संयोजक खनालले राजधानीसँग भने ।

पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादी, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्र्चाले यथास्थितिमै एमसीसी सम्झौता संसद्बाट पारित गर्न नहुने पक्षमा उभिँदै आएका छन् । तर, सत्तारूढ नेपाली कांग्रेसले एमसीसी जसरी भए पनि पारित गर्ने रणनीतिमा लागेको छ ।

पाँच दलीय गठबन्धनभित्र एमसीसीबार साझा धारणा बन्न नसक्दा गठबन्धन समेत फुट्ने संकेत देखिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका शीर्ष नेताले प्रधानमन्त्री देउवालाई यथास्थितिमै एमसीसी पारित गर्न नसकिने स्पष्ट जवाफ दिइसकेका छन् ।

तर, प्रधानमन्त्री देउवासहित जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेता जसरी भए पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा उभिँदै आएका छन् । राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौताविरुद्ध आन्दोलन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 401 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
' ठाउँ र अवस्थाअनुसार तालमेल गर्नू'