उदयपुर, २९ फागुन । धनुषाबाट अपहरणमा परेकी बालिका सहित अपहरणमा संलग्न रहेको १५ जनाको समुहलाई हतियार सहित उदयपुर प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उदयपुरको कटारीबाट हतियार सहित उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल गण नम्बर ५ उदयपुरका सशस्त्र प्रहरी उपरिक्षक (ए्सपी) गार्डधन राईले जानकारी दिए ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका– ५ गौरिनाथकी १४ बर्षिय बालिकालाई अपहरण गरेको भन्ने खबरको आधारमा खोजी गर्दै जाने क्रममा बालिका सहित १५ जना पक्राउ परेको शसस्त्र प्रहरी बल उदयपुरका एसपी राईले भने ।
एसपी राईका अनुसार सो बिप्लब माओवादी समूह रहेको र उनीहरुको साथ बाट ३ थान पेस्तोल ११ थान सकेट बम १ थान प्रेसर कुकर २ थान खुकुरी र ३ थान म्याग्जीन बरामद भएको जनाएका छन् । पक्राउ परेकाहरुलाई धनुषा प्रहरीमा जिम्मा लगाउने तयारी भईरहेको जनाइएको छ ।
त्यसैगरी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका उदयपुर सेक्रेटरी बिहीबार बिहान पक्राउ परेका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका–७ को अँधेरीस्थित एक स्थानीयको घरमा लुकेर बसेको अवस्थामा सेक्रेटरी जितबहादुर पुलामी मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनी लुकेर बसेको सुराकीको आधारमा सदरमुकामबाट खटेको टोलीले बिहीबार बिहान ६ बजे स्थानीय चित्रबहादुर खपाङ्गी मगरको घरबाट मगरलाई पक्राउ गरी सदरमुकाम ल्याइएको छ । ५४ वर्षीय मगरको साथबाट ३ थान मोवाईल र बिभिन्न किसिमका पार्टी दस्ताबेज र प्रचार सामग्री समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुर प्रमुख एसपी बीरबहादुर बुढामगरले बताए । उनलाई म्याद थपेर अनुसन्धान अघि बढाउने तयारी भईरहेको एसपी मगरले बताए ।
यस अघि जिल्ला सदस्यहरु पूर्णबहादुर तामाङ, सिद्धान्त राई, आक्रोस भन्ने दुर्गा तामाङ, निर्मल रेग्मी र पार्टी िनकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष र उपाध्यक्ष पक्राउ परि सकेका छन् । पक्राउ मध्ये देहस उपनामका अखिल अध्यक्ष बाहेक सबैले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरी आत्मसमर्पण गरेपछि हिरासत मुक्त भई सकेको प्रहरीले जनाएको छ ।
गत भदौमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका जिल्ला सदस्यहरु तामाङद्वय र राई, प्रहरी खोजी सूचीमा रहेका रेग्मी र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी अखिल उपाध्यक्ष ताइश्वरी राईले पार्टी परित्याग गरी स्वतन्त्र रहने घोषणा गरेसँगै छाडिएको थियो । गत असोजमा सुनसरीको इटहरीबाट पक्राउ परी अड्डासार हुँदै २ महिना अघि उदयपुर ल्याइएका पूर्वी व्युरो सदस्य तथा सुनसरी इन्चार्ज लक्ष्मण पौड्याललाई सर्वोच्चको आदेश अनुसार छाडिए पनि जिल्ला अदालत परिसर बाहिरबाटै पक्राउ गरी सिराहा लगिएको छ ।
बिभिन्न ठाउँमा विष्फोट गराएको आरोपमा इटहरीबाट पक्राउ पौड्याललाई मंसिर २८ गते सुनसरी अदालतले २५ हजार धरौटीमा छाडेकोमा अदालतबाट छुटे लगत्तै पक्राउ गरी झापा लगिएको थियो । झापामा विष्फोटन र सवारी आवागमन अवरोध गरेको छुट्टाछुट्टै मुद्धामा पौड्याललाई जिल्ला अदालत झापाले विष्फोटमा १ लाख र सवारी अवरोधमा २५ हजार धरौटीमा छाडे पनि सुनसरीकै धरान प्रहरीले पुनः पक्राउ गरी अनुसन्धान थालेको थियो ।
सुनसरी अदालतले पुस २८ गते फैसला गर्दै साधारण तारेखमा छाड्ने आदेश दिएपछि उनलाई उदयपुर ल्याइएको थियो । उदयपुरका बिभिन्न ठाउँमा पटक पटक बम विष्फोटन र सुतली बम राखेको आरोपमा हिरासतमा राखेर अनुसन्धानरत पौड्याललाई माघ २७ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि कारागार चलान भएका थिए ।
परिवारले सर्वोच्च अदालत गुहार्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेर अघि बढाइएको मुद्दामा सर्वोच्चले फागुन ७ गते फैसला गर्दै साधारण तारेखमा छाड्ने दिएको आदेश अनुसार फागुन १२ गते दिउँसो ३ बजे अदालतले छाडेकोमा परिसरबाहिरबाटै पक्राउ पुर्जी थमाएर सिराहा लगिएको थियो ।