आगलागी र त्यसबाट हुने क्षति नेपालमा अहिले दैनिक समाचारका विषय बनिरहेका छन् । देशव्यापी विद्युतीकरण गर्ने कार्य विस्तार भइरहेका बेला आगलागीका दुर्घटना बढेर जान थालेका छन् । बाक्लो जनसंख्या भएका सहरहरूमा प्रायः विद्युत् सट भएर हुने आगलागी अब ससाना सहर गाउँमा पनि सर्न थालेको छ । दाङको तुलसीपुरपछि पूर्वमा म्याङलुङ र फुङलिङमा आगलागीका दुर्घना हुन गए । ती सबैमा समानता रहेको छ । त्यो भनेको ती सबै दुर्घटना विद्युत् सट हुनुका कारण हुन गएका छन् । आगलागीबाट जिउज्यानको खतरा बढेर त गएको छ नै । त्यसमा पनि धनको ठूलो क्षति हुँदै गएको छ । एकपछि अर्को गरी हुँदै गएका यस्ता दुर्घटनाले जनतामा भय र आतंक सिर्जना गरिरहेको छ । यसको दोषी को भन्ने कुरा प्रविधिलाई दिइएको छ । प्रविधि आफंैमा दोषी हुँदैन । प्रविधि मानिसले प्रयोग गर्ने कुरा हो । आफूले प्रयोगमा ल्याएका सामान गुणस्तरीय छन् कि छैनन्, तिनको चेकजाँच गर्ने चलन हामीहरूमा छैन । सामान किन्दा कत्तिको टिकाउ हुन्छ भन्नेभन्दा पनि कति महँगो र कति सस्तो भन्नेमा जनसाधारणको ध्यान जाने गरेको हुन्छ ।
जनताको क्रय शक्ति नहुँदा पनि कमसल खालका बिजुलीका सामान प्रयोगबाट यस्ता समस्या निम्तने गरेका छन् । अर्को कुरा हामी नेपालीहरूमा कुनै पनि सामान निबिग्रदासम्म र धोखा वा क्षति नहुँदासम्म त्यो ठीकठाक अवस्थामा छ कि छैन भने जाँच कहिल्यै पनि गर्दैनांै । मर्मत सम्हारको बानी हामीमा छैन । आर्थिक समस्याले निकै सताइएको र धेरै ठाउँमा ऋण तथा लगानी गर्ने बानीले पनि हामीलाई एक ठाउँमा ध्यान दिएर काम गर्ने वातावरण बनिरहेको हुँदैन । अर्को कुरा प्रविधि र सेवा नयाँ नयाँ आए पनि हामीहरूको घरको डिजाइन पुरानै हुने भएकाले पनि दुर्घटना नम्त्याउन पुगेको हुन्छ । फुसको छाना भएको घरमा निर्धक्क बिजुली जोडिएको हुन्छ । यसमा यदि बिजुली सट भयो भने कुनै पनि हालतमा घर र त्यस घरमा रहेका मानिसलाई बचाउन सकिने अवस्था रहँदैन । फेरि हामीहरूको बसाइँ अहिले मिश्रित छ । छेवैमा फुसको घर हुन्छ, नजकै ढलान गरिएको घर । अर्कोतिर छेवैमा उद्योग चलिरहेको हुन्छ । यसले गर्दा पनि कसको कारणले कति क्षति हुने हो यो थाहा नै हुँदैन । एकले अर्काका लागि सोचेको पनि हुँदैन ।
यस्तो अवस्थामा आगलागी हुन जाने कुरालाई कसैले जिम्मा पनि लिन सक्दैन । अहिले देशभर विद्युत् सट हुनुका कारणमा पनि यीभन्दा बाहिरका कुराहरूले काम गरिरहेको देखिएको छैन । त्यसैले नयाँ सेवासुविधा प्रयोगको चाहना जनताले राखे भने त्यसका लागि सम्बन्धित निकायले निकै धेरै ध्यान पु-याउनुपर्छ । सेवा वितरणका लागि त हो भनेर हचुवाको भरमा बिजुलीजस्तो आगो ओकल्ने सेवा दिँदा घरधनीलाई निकै सतर्क बनाउनुपर्छ । यो ज्ञानको कमीले पनि यस्ता अप्रिय दुर्घटना दोहरिइरहेका छन् । यसका लागि समयमै सम्बन्धित निकायले आवश्यक सचेतनाका अभियान र कार्यक्रम चलाउनुपर्छ ।






