बलिउड डिस्को किङ बप्पी लाहिरी रहेनन्

मुम्बई । बलिउडका अग्रज संगीतकार, गायक एवं डिस्को किङ बप्पी लाहिरीको बुधबार बिहान निधन भएको छ । उनको उपचारको क्रममा मुम्बईको एक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको हो ।

एक महिनादेखि अस्पतालमा भर्ना भएका बप्पी लाहिरीलाई स्वस्थ्यमा सुधार आयो भन्दै सोमबार नै चिकित्सकले डिस्चार्ज गरेका थिए । मंगलबार राति उनको स्वास्थ्य फेरि बिग्रिएपछि परिवारका सदस्यले चिकित्सकलाई घरमा बोलाए । पछि उनलाई फेरि अस्पताल लगियो । उनी निमोनियालगायतको समस्याले उनी पीडित थिए । उपचारकै क्रममा बुधबार निधन भएको हो ।

गत वर्ष कोरोना भएपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो । सो कोरोनाले स्वास्थ्यसँगै स्वरमा समस्या आएपछि गायन तथा संगीत सिर्जनामा उनी पछिल्लो समय निष्क्रिय थिए । बप्पी लाहिरीको निधनले सिंगो बलिउड फिल्म क्षेत्र शोकमा डुबेको छ ।

गायक तथा संगीतकार लाहिरीको बुधबार नै अन्त्येष्टि गरिएको छ । बलिउडका विभिन्न सिनेकर्मी तथा संगीतकर्मी उनको अन्त्येष्टिमा सहभागी भएका थिए ।

उनको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरै राजनीतिज्ञले दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले दिवंगत कलाकार बप्पी लाहिरीसँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘श्री बप्पी लाहिरी जीको संगीत चौतर्फी थियो, विभिन्न भावनालाई सुन्दर ढंगले प्रस्तुत गरिएको थियो । पुस्ताका मानिसले उसको कार्यसँग सम्बन्धित हुन सक्छन् । उनको जीवन्त स्वभाव सबैले सम्झिरहनेछ । उनको निधनले म दुःखी छु । उनका परिवार र फ्यानलाई समवेदना ।’

अभिताभ बच्चन, अजय देवगन, अक्षय कुमार, सलमान खान, शाहरुख खानसहित धेरै सिनेकर्मीले डिस्को राजाको रूपमा परिचित बप्पी लाहिरीको निधनमा शोक व्यक्त गरेका छन् ।

२७ नोभेम्बर सन १९५२ मा जन्मेका बप्पी लाहिरी भारतमा डिस्को किङका रूपमा लोकप्रिय थिए । चार वर्षको उमेरमै तवला बजाएर संगीतिक यात्रा सुरु गरेका संगीतकार बप्पी भारतीय फिल्ममा डिस्को संगीतलाई स्थापित गर्ने संगीतकारका रूपमा परिचित थिए ।

उनले सन १९७५ मा बप्पी लाहिरीले किशोर कुमारसँग फिल्म जख्मीमा गीत गाएर आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । संगीतकार बप्पी लाहिरीले आफ्नो जीवनकालमा ५ हजारभन्दा बढी गीतमा संगीत गरिसकेका छन् । उनले हिन्दी, बंगाली, तमिल, तेलुगु, गुजराती, मराठी, पन्जाबी, बंगलादेशीसहित विभिन्न भाषाका गीतमा उनले संगीत गरिसकेका थिए । उनले ५ सयभन्दा बढी फिल्ममा संगीत गरिसकेका थिए ।

उनले सैयौं हिट गीत छाडेर गएका छन् । उनले संगीत गरेकामध्ये आईएम डिस्को डान्सर, याद आ रहा है मेरा प्यार, रात बाँकी बात बाँकी, तम्मा तम्मा लोगे, इन्तेहा होगई इन्तजारकी, ताकी ओ ताकी, जलता है जिया, मेरा भिगी भिगी रातो में, एक आँख मारु तो, नैनो मे सपना, प्यार मांगा है तुम्ही से जस्ता कैयौं गीत लोकप्रिय छन् ।

बलिउडमा ‘गोल्ड म्युजिसियन’ भनेर चिनिएका उनी सुनका साह्रै सौखिन थिए । संगीतकार तथा गायक बप्पी लाहिरीले सन १९८६ मा एकै वर्ष ३३ वटा फिल्ममा १८० वटा गीत संगीत सिर्जना गरेर गिनिज अफ वल्र्ड बनाएका थिए ।

उनले सन् १९९६ मा अमेरिकी गायक माइकल ज्याक्सनलाई मुम्बई निम्ता गरेर आफ्नो संगीतमा कन्सर्टसमेत आयोजना गरेका थिए । संगीतसँगै राजनीतिप्रति पनि चासो राख्ने यी संगीतकारले सन् २०१५ मा भारतीय जनता पार्टीबाट लोकसभामा सांसदको उम्मेदवारी दिएका दिएका थिए । तर उनले चुनाव हारे । उनी एक वर्ष अघिसम्म पनि संगीत सिर्जनामा सक्रिय थिए ।

तपाइको प्रतिक्रिया
(Visited 416 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता