काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गरेको छ । थप दरबन्दीसँगै एआईजीको संख्या आठ पुगेको छ ।
नेपाल प्रहरीमा एक वर्षभित्रै एआईजीको दरबन्दी तीनबाट बढाएर आठ पु¥याइएको हो । पछिल्लोपटक दरबन्दी थपका लागि संगठन व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गरेर गृह मन्त्रालयमा पठाइएको थियो । गृह मन्त्रालयले अघिल्लो सोमबार नै एआईजी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको भए पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले यो विषयमा निर्णय लिएको हो ।
थपिएको दरबन्दी मानव स्रोत एवं प्रशासन विभागलाई अलग गरेर एउटा, केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश समन्वय विभागमा रहने भएको छ ।
थप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसीलगायत प्रतिस्पर्धी छन् ।
अर्याल, पन्त र कार्कीद्वय एआईजीमा बढुवा भए पनि ३० वर्षे सेवा हदका कारण उनीहरूले आगामी १८ वैशाखमै अवकाश पाउनेछन् । उनीहरू प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीका ब्याचका हुन् । यस्तै पछिल्लो ब्याचका सिंह, सुवेदी, लामा र धानुकलाई पनि प्रतिस्पर्धी मानिएको छ । यी चारमध्ये धानुकको नाममा अर्थमन्त्री जनार्दन शर्माले चर्काे लबिङ गरेको स्रोतको दाबी छ । यद्यपि, धानुकको नाममा गठबन्धनभित्रै चर्काे विरोध हुँदै आएको छ ।
पछिल्लो ब्याचका जो एआईजी भए पनि उनीहरू चैत २०७९ सम्म सेवामा रहनेछन् । पछिल्लो ब्याचका चार जना हालका एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापाका ब्याची हुन् ।
चुनावको मुखैमा ठूलो संख्यामा पद रिक्त हुँदै
३० वैशाखमा घोषित स्थानीय तहको निर्वाचनअघि नै प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको ब्याचका १७ जना प्रहरी अधिकारी ३० वर्षे सेवा अवधिका कारण घर जाँदै छन् । चुनाव हुनुभन्दा १२ दिनअघि अनिवार्य अवकाश पाउनेमा ३ एआईजी, १२ डीआईजी र एक एसएसपी छन् । उनीहरू सबै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
त्यस दिन महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पाल, अपराध अनुसन्धान विभाग प्रमुख एआईजी प्रद्युम्नकुमार कार्की र प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख एआईजी निरजबहादुर शाही त्यसै दिन घर जाँदै छन् ।
त्यस दिन पाँचवटा प्रदेशका प्रहरी प्रमुख पनि घर जानेछन् । घर जाने तयारी हालतमा रहेका डीआईजीमा मधेस प्रदेशका उमेश रंजितकार, बाग्मतीका प्रकाशजंग कार्की, लुम्बिनीका प्रकाश अधिकारी, कर्णालीका गणेशबहादुर ऐर र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख पुरुषोत्तम कँडेल छन् ।
यस्तै, दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरीका काउन्सिलर एसएसपी वीरेन्द्रकुमार बस्यालको पनि ३० वर्ष सेवा हद आगामी १८ वैशाखमा पूरा हुँदै छ ।






