काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्ड नीति नियम कार्यान्वयनमा गम्भीर भएर लाग्ने बताएका छन् । यसअघि भएका कानुनसमेत कार्यान्वयन नहुँदा सेयर बजारमा एक किसिमको मनपरितन्त्र जस्तै भएको उनले टिप्पणीसमेत गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले तीन दशक लामो इतिहास बोकेको पुँजी बजार क्षेत्रको नियामक निकाय बोर्डलाई आफ्नो कार्यकालमा नयाँ उचाइमा पु¥याउने प्रतिबद्धतासमेत जनाएका थिए ।
अध्यक्ष रमेश हमालले धेरै नाफा कमाउने रियल स्टेट अर्थात् घरजग्गा व्यवसायमा संलग्न कम्पनीहरूलाई सेयर बजारमा समावेश गराइने बताएका छन् । काठमाडौंमा आज सोमबार भएको पत्रकार सम्मेलनमा उनले घरजग्गा कम्पनीलाई बुक विल्डिङबाट आईपीओ जारी गर्न दिएर पुँजी बजारमा ल्याउने बताए ।
अध्यक्ष हमालले घरजग्गा कारोबार गर्ने कम्पनी नेप्सेमा आए बोर्डले सहजीकरण गर्न तयार रहेको पनि बताए । उनले नेपालमा सरकारलाई राजस्व तिर्ने १२ सयभन्दा धेरै कम्पनी नै नेप्सेमा सूचीकृत नभएकाले त्यस्ता कम्पनीलाई नेप्सेमा समावेश गर्न बोर्डले सहजीकरण गर्ने योजना रहेको बताए ।
आफू कमाउन नभई पुँजी बजार क्षेत्रलाई केही सुधार गर्न सकिन्छ कि भनेर आएको बताउँदै उनले पाँचवटा काम अघि सारेका छन् ।
उनको पहिलो प्राथमिकतामा कानुन कार्यान्वयन छ । उनले ‘टी प्लस टु’मा सेटलमेन्टमा लगानीकर्ताको पैसा नदिने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताएका छन् । धितोपत्र बोर्डले लागू गरेको ‘टी प्लस टु’पश्चात् सेयर किनबेच भएको दुई दिनभित्रै सेटलमेन्ट गर्नुपर्छ । सेयर बेच्नेले अहिले पनि दुई वा तीन दिनभित्रमा भुक्तानी गर्ने गरेका छन् । लगानीकर्तालाई पैसा समयमा नदिने र अन्य क्षेत्रमा ब्याजमा लगानी गर्ने ब्रोकरलाई कारबाहीको दायरामा ल्याउने अध्यक्ष हमालले बताए । यसका लागि लगानीकर्ताले नियमक निकायमा उजुरी गर्नुपर्ने उनले बताए ।
समग्र पुँजी बजार क्षेत्रकै नियामक निकायको रूपमा रहेको बोर्डको हालसम्म पनि आफ्नै भवन नभएको भन्दै भवन बनाउने योजना पनि अगाडि सारेका छन । बोर्डमा अहिले सामान्य कार्यक्रम गर्नका लागि पनि हल नभएको भन्दै उनले कम्तीमा पनि एउटा सुविधा सम्पन्न भवन हुनुपर्ने बताए ।
संस्थागत सुशासन र बोर्डमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उनको तेस्रो प्राथमिकता रहेको छ । उनले बोर्डमा ५६ जना कर्मचारी मात्रै रहेको भन्दै अब कर्मचारी र क्षमता बढाउने बताए ।
चौथो प्राथमिकतामा साना लगानीकर्ता रहेको छ । साना लगानीकर्ताको हितमा काम गर्ने उनको योजना छ । यसका लागि चुस्त दुरुस्त नियमन आवश्यक रहेको उनको भनाइ छ । उनले ऐन नियमको रिफर्म पनि गर्ने दाबी गरे ।
पुँजी बजारसम्बन्धी साक्षरता अहिले अत्यन्तै कमजोर रहेको भन्दै उनले यसका लागि समेत काम गर्ने बताए । यसका लागि नेप्से, सीडीएससी, ब्रोकर, मर्चेन्ट बैकरसँग मिलेर कार्ययोजना बनाएर काम गर्ने उनको पाँचांै प्राथमिकता रहेको छ ।
अध्यक्ष हमालले विदेशमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिने विषयमा पनि अध्ययन भइरहेको जानकारी दिए ।
अहिले लगानीकर्तालाई लागत बढी लागिरहेको स्वीकार गर्दै शुल्क घटाउने विषयमा अध्ययन गर्ने अध्यक्ष हमालले उल्लेख गरे । अध्यक्ष हमालले कुनै पनि इन्साइडर ट्रेडिङ गरेको प्रमाणित भए तत्काल कारबाही गर्ने बताए ।






