काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादी(एस)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमती भइसकेको दावी गरेका छन् ।
बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरुबीच मिलेर जाने सहमती भएको बताएका हुन् ।
सबै ठाउँमा मिल्न सकिदैन भने पनि पारस्पारिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको निर्वाचनमा परिचालित हुन सिंगो पार्टी पंक्तिलाई उनले आह्वान समेत गरे । अध्यक्ष नेपालले अव सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पार्नु पारे ।
त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रिय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाई थियो । अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरुलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
‘हाम्रो सम्पूर्ण ध्यान अव निर्वाचनमा केन्द्रित हुनेछ । निर्वाचनको तयारीमा केन्द्रित हुनेछ । निर्वाचनको निम्तिनै संगठन, शक्तिको परिचालन, निर्वाचनको निम्ति नै योजनाको निर्माण सिंगो पार्टी पंक्ति उपयुक्त ढंगले परिचालन गरेर अगाडि बढाउनुपर्ने आवश्यक्ता छ ।’ उनले भने ‘हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरुसँग पनि कुराकानी गरिरहेका छौं । र हाम्रो सहमती रहेको छ–निर्वाचनमा पनि हामी मिलेर जान्छौं ।’
अध्यक्ष नेपालले दुई पटक आफ्नो पार्टीले एमालेसँग चुनावी प्रतिस्पर्धा गरेर जित हासिल गरेको उल्लेख गर्दै अव पनि त्यसै गरेर अघि बढने योजना रहेको पनि दोहो¥याए । एक्लै जित्ने अवस्था नभएपनि राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनसँग मिलेर केपी ओलीलाई आफ्नो पार्टीले पराजित गरेको उनले स्मरण गरे ।






