चैत महिना लागेसँगै हावा जोडले दौडिरहेको थियो । त्यसो त, नजिकैको आरुको बोटमा बसन्तले फूलहरूलाई बोलाइसकेको थियो । ’roundका अन्य बोटबुट्यानले पनि नवजीवन पाइरहेको थियो । चारैतिर शिशिरमा झरेका पातहरूका कारण नाङ्गो बनेका बोटविरुवाहरू सिंगार गरेकी दुलहीजस्तै देखिन्थ्यो । केही समयपछि बारीमा तोरी छर्ने बेला हुनै लागेको थियो । कान्छीमाया बारीमा मल ओसार्दै थिइन् । बारी र घर टाढा थिएन । एकैछिनको बाटो थियो । जोडले बहेको हावाका कारण कान्छीको कपाल अनुहारसम्म आएर पूरै छोपिन्थ्यो । मलको भारीसँगै कपाल पनि मिलाउँछिन्, कान्छीमाया । उनी बारीमा मलको भारी पु¥याएर फर्कंदै थिइन् । त्यसैबेला उनको कानमा कसैले बोलाएको आवाज ठोक्किन आइपुग्यो, ‘कान्छी…ए कान्छी…†’ परबाट कसैले बोलाउँदै थियो । बोलाउने मान्छे जानकी रहिछे ।
‘किन र जानकी, के भयो ?’
‘हरे शिव † कान्छी, बाह्र छोरा तेह्र नाती बूढाको धोक्रो काँधैमाथि । भन्थे हो रहेछ †’
‘किन, के भयो ?’
‘दुई–दुईटा छोरा छन् । नातीनातिना छन् । तर, कसैले हेर्दैनन् । के पाप गरेकी थिइन् र काकीले ? कुलंगारहरू ।’
‘किन, के भयो र फेरि ?’
‘तिम्रो सानीमा ओछ्यान परेको धेरै दिन भएछ । दिसा, पिसाब सबै एकै ठाउँमा छ । भित्र पस्न सकिने अवस्था छैन । अँध्यारो कोठा, दुर्गन्ध उस्तै । कति दिन भयो होला खान नपाएको । आफैंले सक्दा त पकाएर खानुभएको होला । अहिले अशक्त हुनुहुन्छ । मैले बोलाएको थिएँ । उहाँले बोल्नुभएन । निक्कै बिरामी हुनुभयोजस्तो छ ।’
‘के गर्नु ? दाइहरू पनि त्यस्तै । सानीमाको पनि मुख चल्ने । तित्राको मुखै बैरी भन्छन् । बुहारीहरूलाई देखिनसहने, काममा पनि
जसै नदिने !’
‘उहिलेका धेरै दुःख पाएका बूढाबूढीहरू त्यस्तै हुन्छन् । छोराहरू सानो छँदै तिम्रो सानुबुबाको देहान्त भयो । धेरै दुःख गरेर छोराहरू हुर्काएकी थिइन्, काकीले । अर्काको ज्यालापर्म गर्न जाँदा आफूले पाएको खाजाको आधा भाग छोराछोरीका लागि जोगाएर ल्याउँथिन् रे काकीले, मैले सुनेको । त्यसरी हुर्काएका छोराहरू पखेटा लागेपछि स्वास्नी च्यापेर भिन्न बस्न थाले ।’
‘हरे, के गर्ने होला ?’ कान्छीमायाको मन छट्पटायो । कान्छीमाया र उनको सानीमाको घर एउटै गाउँमा थियो । सानीमा लक्ष्मीले नै कान्छीमायाको बिहे त्यही गाउँमा गराएकी थिइन् । कान्छीको श्रीमान् सोझो थियो । सरकारी जागिर । खानपुग्ने खेतबारी भएको कारणले पनि कान्छीको परिवारमा दुःख थिएन । सासु बितिसकेकी थिइन् । भएको एउटा ससुरो पनि कान्छीलाई केही भन्दैन थिए । कान्छीले पनि घरको काम, खेतबारीको काम सबै धानेकी थिइन् । कान्छी सुशील, गुणवती थिइन् । सबैलाई सकेको सहयोग गर्ने बानी थियो उनको । यही बानीका कारण उनी आफन्त, छरछिमेकको आँखाको नानी थिइन् । त्यसो त, दाइहरूले सानीआमालाई नहेरे पनि कान्छीमाया समय समयमा गएर हेरविचार गर्थिन् । एउटै गाउँ भए पनि सानीआमाको घर नजिकै थिएन । घर, खेतबारीको कामबाट फुर्सद मिलेको समयमा गएर स्याहार्ने काम उनैले गर्थिन् । लुगा धोइदिने, नुहाइदिने, कोठा सफा गरिदिने सबै काम फुर्सद भएको बेलामा गएर गर्थिन् कान्छी । तर, बेफुर्सदीका कारण एक हप्ता भयो, उनी सानीआमाको घर नपुगेकी ।’
‘कान्छी, के टोलाएर बसेकी ?’ जानकी बोलिन् ।
‘तिमी आज उतातिर गएकी थियौ ?’
‘म किनमेलका लागि बजार झरेकी थिएँ । तिमीसँग कयौं पटक काकी कहाँ म पनि त गएको छु । आज बजार झर्दा बाटो परेकोले पसेकी…कुरा गरी साध्य छैन । त्यस्ता छोराछारी त किरा परेर मर्छन् ।’ जानकी सराप्न थालिन् ।
‘नसराप न हौ जानकी त्यसरी ।’
‘किन नसराप्ने कान्छी ? हेरिराख मेरो सराप त लाग्छ–लाग्छ ।’
‘छि… तिमी पनि । जानकी तिमी मेरो मिल्ने साथी । आजै जाऔं न एक पल्ट ।’
‘भोलि जाँदा हुन्छ होला हो कान्छी † आज मध्यदिन भैसक्यो । घरमा काम पनि छ ।’
‘एकै छिन् त हो नि, गएर आऔं न जानकी † बिन्ती छ ।’
‘भो भो बिन्तीसिन्ती गर्नुपर्दैन, जाऔं छिटो ।’
कान्छीले घर पुगेर सबै वृतान्त आफ्ना ससुरालाई सुनाइन् । ससुराले पनि ‘यस्तै पर्दा त हो नि † आफन्त चाहिने जा गएर आइज’ भनेपछि कान्छी र जानकी दुबै तलतिर झरे ।
बाटोभरि पनि लक्ष्मीकै कुराकानी चल्यो दुई संगिनीबीच ।
‘हेर कान्छी, तैंले जेसुकै भन । तेरा दाजुहरूको गति राम्रो हुँदै हुँदैन । ९ महिना आमाको पेटमा बसेको, दुःख गरी हुर्काएको सबै बिर्से तिनीहरूले । कान्छा त ’twas भयो । जेठाले त सबै देखेका थिए, भोगेका थिए नि †’ जानकी फत्फताइन् ।
‘छोडदे जानू । यस्तै छ संसार । तिमी, हामीले सकेको गरौं । हामीजस्तै सबै हुनुपर्छ भन्ने छैन ।’
‘कसरी छोड्ने कान्छी ? तँलाई त आफ्नै सानीआमालाई त्यस्तो गर्दा नि केही हुँदैन है † आफ्नै आमालाई आमासम्म नभन्ने पिसाचहरू ।’
‘हो नि जानू । के गर्नू ? सानीआमा छोराहरूले आमा भनेरसमेत बोलाउँदैनन् भनेर कति रुनुहुन्थ्यो । मैले दाजूहरूलाई गएर भनें पनि । केही नगरे पनि आमा भनेर बोलाइदिनुस् दाइ । आमाको मन राखिदिनुस् भने । खै ? कानमा बतास लागेको होइन ।’
‘मसँग पनि काकीले धेरै पल्ट गुनासो गर्नुभएको थियो । मलाई आमा पनि भन्न छोडे । कति दुःख गरेर हुर्काइयो, बढाइयो, पढाइयो आज मलाई आमा भन्न लाज लाग्छ रे † तिनीहरूलाई, नानी भनेर चित्त दुखाउँदै हुनुहुन्थ्यो । अनि…आमालाई आमा नभन्ने नरपशुहरू, त्यस्ताको पनि भलो हुन्छ कतै ?’
बात मार्दामार्दै तिनीहरू सानीआमाको घर पुगिसकेका थिए । अँध्योरो कोठा, भएको सानो झ्याल पनि बन्द थियो । ओछ्यानभरि दिसापिशाब, दुर्गन्ध त्यस्तै । एउटा कुनामा कालो भाँडाहरू, सँगै धुवाँले कालो भएको चुल्हो । ओछ्यानमा पल्टिरहेकी अर्धचेत अवस्थाकी लक्ष्मी । आफ्नो श्रीमान् बितेपछि लक्ष्मीको जिन्दगीमा आएको शिशिरले उनलाई कहिल्यै छोडेन । सानैमा दुई छोरालाई टुहुरो बनाएर लोग्ने मास छर्न गएपछि बालक छोराहरूलाई हुर्काउने जिम्मा उनैको काँधमा आइलाग्यो । जवानीमै पति गुमाएकी तिनले कहिल्यै दोस्रो विवाहका ’boutमा सोचिनन् । आफूले अर्को विवाह गरे छोराहरूले दुःख पाउँछन् भन्थिन् उनी । उनले जिन्दगीमा धेरै दुःख, कष्ट सहेर, हण्डर खाएर छोराहरूलाई हुर्काएकी थिइन् । छोराहरू ठूलो भएपछि सुख पाउने आशाको त्यान्द्रो चुँडिएको थिएन पछिसम्म पनि । ‘एक दिन त मेरो जीवनमा पनि बसन्त कसो नआउला ?’ लक्ष्मीले सधैं सोच्ने कुरा त्यही नै थियो । तर, उनको जीवनलाई भने वसन्तले फर्केर पनि हेरन । आज अन्तिम श्वास लिँदै थिइन्, उनी ।
त्यहाँ जानकीसँगै पुगेकी कान्छीमायाले आवाज दिइन्, ‘सानीमा… सानीमा…†’ लक्ष्मी निशब्द थिइन् । उनको मुखबाट कुनै शब्द निस्किएन । जानकीले झ्याल खोलिन् । कोठामा केही उज्यालो पसेजस्तै भयो । कान्छीले दिसापिशाब सबै सफा गरिन् । सिरकको खोल, ओछ्याइएको तन्ना फेरिदिइन् । उनलाई जानकी पनि सहयोग गर्दै थिइन् । त्यतिञ्जेसम्म गाउँका केही बूढापाका पनि जम्मा भइसकेका थिए । कोठा सफा भएपछि भने केही बूढापाका कान्छीलाई देखेर भित्र पसे । सँगै जोडिएको घरबाट छोराबुहारी कोही पनि हेर्नसम्म आएनन् । त्यहाँ उपस्थितमध्ये अलिक जान्नेसुन्ने जगमान काकाले बाहिर आँगनमा गएर छोराहरूलाई बोलाउँदै भन्यो, ‘ए ठूले, ए कान्छा † यहाँ तिम्री आमा सिकिस्त छिन् । यस्तो बेलामा पनि तिमीहरू आउनुपर्दैन ?’ लोकलाजकै कारण दुबैजना विस्तारै आए, बुहारीहरू देखिएनन् । दाजुहरू आएपछि कान्छीमायाले दुबैलाई आमाको समीप राखिन् । अनि कान्छीले भनिन्, ‘दाइ † दुबैले आमा भनेर बोलाउनुस् न † आमा…भन्नुस् न दाइ †’ बोल्दाबोल्दै भक्कानो छुट्यो कान्छीको । तर, दाइहरूको मुखबाट ‘आमा’ शब्द निस्किएन । उता, अन्तिम अवस्थामा पुगेकी लक्ष्मी हिरिक्हिरिक् गर्दै थिइन् । एकैछिनमा लक्ष्मीको हिरिक्हिरिक् बन्द भयो । दुबै आँखा पर्लक्क पल्टिए । लक्ष्मीको शरीरबाट प्राणवायु निस्कियो तर छोराहरूको मुखबाट ‘आमा’ शब्द निस्किएन । कान्छीमायाको ’round भने अचानक अँध्यारो छायो । वसन्तको बेलामा पनि हर्षका फूल ओइलिएको अनुभूत भयो, कान्छीमायालाई । सानीआमाको इहलिला सकिएपछि निस्किएको कान्छीको चित्कार टाढा टाढासम्म गुञ्जियो ।






