झापा गोल्डकप आर्मीको पोल्टामा

झापा । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । योसँगै आर्मीले चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो । आर्मी पहिलो संस्करणबाहेक सबैमा च्याम्पियन बनेको छ ।

डोमालाल राजवंशी रंगशालामा आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरे । झापाका विमल घर्तीमगरले गोल गरे पनि टोलीलाई च्याम्पियन बनाउन पर्याप्त बनेन ।

खेलको १८औं मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुर बुढाथोकीले सुन्दर गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । २१औं मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । झापाका डिफेन्डर र गोलरक्षकबीच तालमेल नमिल्दा मैदानको मध्यभागबाट आएको ब्याकपासलाई नियन्त्रणमा लिने क्रममा गोलरक्षक दीप कार्की अघि बढेको अवस्थामा जर्जले खाली पोस्टमा गोल गरे । ३ मिनेटभित्र २ गोल खाएको झापाले त्यसपछि खेल नियन्त्रणमा लियो ।

उसले दोस्रो गोल खाएको ३ मिनेटमा १ गोल फर्कायो । झापाका विमल घर्तीमगरले हेडमार्फत गोल गरे । अलरिच सिवेको क्रसमा अनमार्क रहेका विमलले क्लोज रेन्जबाट सहज फिनिस गर्दा गोललाइनमा रहेका दीपक गुरुङले रोक्ने कुनै मौका नै पाएन । त्यसपछि दुवै टोलीबाट केही अवसर सिर्जना भए पनि गोल निस्कन नसक्दा आर्मी च्याम्पियन बन्न सफल भयो ।

फाइनल खेलको प्लेयर अफ द म्याच टेकबहादुर बुढाथोकी भए । उनले ९ हजार ९ सय ९९ रुपैयाँ पुरस्कार पाए । च्याम्पियन बनेसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले नगद ६ लाख ५ हजार रुपैयाँमा चित्त बुझाएको छ । झापाका डिफेन्डर देवेन्द्र तामाङ प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ भए । उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाए । गोल्डकपको सर्वाधिक गोलकर्ता विमल घर्तीमगर हुँदै नगद २५ हजार प्राप्त गरे ।

उनले प्रतियोगितामा खेलेका तीन खेलमा पाँच गोल गरेका थिए । झापाका मनोज राई बेस्ट डिफेन्डर, झापाकै आन्द्रेस निया बेस्ट मिडफिल्डर तथा आर्मीका विकेश कुथ वेस्ट गोलकिपर चुनिए । आर्मीकै नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरूले जनही २१ हजार रुपैयाँ पाए । विजयी टोली तथा खेलाडीलाई कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मुख्य प्रायोजक सिजी ब्रुअरीका सिनियर जनरल म्यानेर प्रदीप पुडासैनी, विशेष प्रायोजक कणकण चियाका प्रबन्ध निर्देशक रिसब मित्तल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एएफसी कम्पिटिसन कमिटी सदस्य विज्ञानराज शर्मा, गोल्डकप अध्यक्ष विनोद बस्नेतलगायतले हस्तान्तरण गरेका थिए ।

फागुन २१ गतेदेखि सुरु भएको झापा गोल्डकपमा भारतका दुई टिम, घरेलु टोली झापा–११ र सातवटा ‘ए’ डिभिजन क्लबसहित १० क्लबको सहभागिता थियो । खेलमा भारतका मानेभन्ज्याङ फुटबल क्लब, रेडपाण्डा फुटबल क्लब, घरेलु टोली झापा–११, आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब र जावलाखेल युथ क्लबको सहभागिता थियो । झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले झापाको सानका रूपमा रहेको झापा गोल्डकप आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले प्रतियोगिताबाट झन्डै ५० लाख रुपैयाँ बचत भएको आयव्यय सार्वजनिक गरे ।

तपाइको प्रतिक्रिया
(Visited 429 times, 1 visits today)

epaper

ताजा समाचार

तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउखेती