प्रतिरोध दिवसमा पाँच श्रष्टा सम्मानित

काठमाडौं । नेपाली प्रगतिवादी कला, साहित्य, गीत–संगीत तथा संस्कृतिका क्षेत्रमा योगदान दिएका पाँच स्रष्टा सम्मानित भएका छन् । जनही दश हजार पुरस्कार राशि र ताम्रपत्रसहित सहित उनीहरुलाई जनसांस्कृतिक महासंघ नेपालले ‘जनसांस्कृतिक राष्ट्रिय सम्मान २०७८’ बाट सम्मानित गरएको छ ।

२४औं सांस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर काठमाडौंमा एक समारोहमाझ अग्रज चलचित्र निर्देशक विमल पौडेल, गायिका प्रगति हिङमाङ, ललितकलाकर्मी जुलुमलाल चित्रकार, साहित्यकार पोषराज पौडेल र नाट्यकर्मी जेवी रुवाली सम्मानित भएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले उनीहरुलाई सम्मानित गरेका हुन् । कला, साहित्य, गीत–संगीत, नाटक तथा सिर्जनाका विभिन्न माध्यमबाट स्रष्टाले समाजको प्रगतिशील रुपान्तरणमा निरन्तर आवाज उठाउँदै आएकाले उनीहरुलाई सम्मानित गर्न पाउँदा खुसी लागेको महराले बताए ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघ नेपालका इन्चार्ज डा. गोपाल ठाकुरले कलाकारलाई वस्तु मात्रै सम्झिने मानसिकताबाट माथि उठ्नुपर्नेमा जोड दिए ।

काभ्रेको अनेकोटमा २०५५ साल चैत ५ गते तत्कालीन सत्ताले कलाकार च्याङ्बा लामा, चिनीमाया लामा, गुम्बसिंह तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, सुभद्रा अधिकारी र मञ्जु कुँवरलाई घरमा आगो लगाएर हत्या गरेको थियो । यही दिनको सम्झनामा नेकपा (माओवादी केन्द्र) ले सांस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाउँदै आएको छ । सोही सम्मान कार्यक्रममा प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले ‘सांस्कृतिक प्रतिरोध दिवस र प्रगतिशील संस्कृति रुपान्तरणको प्रश्न’ विषयमा अवधारणा पत्र प्रस्तुत गरे ।

उनको अवधारणा पत्रमाथि टिप्पणी गर्दै उपप्राध्यापक बालाकृष्ण अधिकारीले प्रतिरोध दिवस र प्रगतिशील संस्कृतिका विषयमा ज्ञवालीले गहिरो संश्लेषण गरेको बताए ।

हासंघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले सांस्कृतिक रुपान्तरणविना समाज परिवर्तन हुन नसक्ने बताए । उनले स्रष्टाले जहिले पनि खराब प्रवृत्तिविरुद्ध आवाज उठाउनुपर्ने बताउँदै प्रगतिवादी संस्कृति निर्माणमा स्रष्टाले सिर्जनात्मक अभियानलाई व्यवस्थित गर्नुपर्ने भनाइ राखे ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

epaper

ताजा समाचार

वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध