धरहरापछिको अग्लो टावरमा उभिएर ओलीले भने, एमालेले अघि बढाएका राम्रा काम रोकियो


बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको विगतको सरकारले गरेका राम्रा कामलाई अवरोध पुर्याउने काम भएको टिप्पणी गरेका छन् । उनले वर्तमान सरकारले लोकपिृय कार्यमा अवरोध पुर्याएले जनताको नजरमा छारो हाल्ने प्रयास गरेको आरोप लगाए ।

मंगलबार रुपन्देहीको तिलोत्तमा नगरकापालिकामा निमार्ण गरिएको भ्यू टावरको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीलले भूमिहीनलाई पूर्जा दिन एमाले नेतृत्वको सरकारले काम अघि बढाएको बेला वर्तमान सरकारले त्यसमाथि प्रहार गरेको बताए । उनले भने —‘भूमिहिनलाई लालपूर्जाको व्यवस्थापनको अन्तिम तयारी भइरहेको बेला गठबन्धन सरकारले आयोग नै खारेज गरेर तयारी अवस्थामा बनाएको काम रोके, तर अहिले भन्दैछन् अघिल्लो सरकारले फाइल लुकायो भनेर’, ओलीले भने, ‘सायद केही साथीहरू त्यही फाइल खोज्न शुक्रबार दिल्ली जाँदैछन् भन्ने सूचना आएको छ, चुनावका बेला त्यस्ता झुट कुरा लिएर आउलान् चुनावमा ख्याल गर्नुस् ।’

एमाले अध्यक्ष ओलीले नगरपालिकाले नगरपालिकालाई नियमित आम्दानी दिने खालका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे । उपलब्ध स्रोत साधनलाई नयाँपन र राम्रो बनाए पर्यटन प्रवद्र्धन गर्न सकिने पूर्वप्रधानमन्त्री ओलीको भनाइ छ । आफ्नै जीवनकालमा आफैसँग भएका स्रोतसाधन प्रयोग गरे विकासको लहर बनाउनुपर्ने भन्दै ओलीले भने —‘हिमाललाई हामीले फोहोर नगरे मात्र हुन्छ, अब हाम्रो भान्सामा विषादियुक्त खाना नपुगोस्, भन्ने अठोट गर्नुहोस् अब यसमा ध्यान दिऔं, चिन्तनमै फरक ल्यायौं भने हामीले सुरु गरेका विकासका कामबाट केही समयमै देश कायापलट हुन्छ ।’ सोमबारदेखि नै रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा रहेका ओली दुईदिन पछि काठमाडौं फकिएका छन् ।

साढे ११ करोडको भ्यु टावर उद्घाटन

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण भएको छ । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो । वनवाटिका लुम्बिनी प्रदेशको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँ वार्षिक साढे तीन लाख आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका छन् । टावरको मंगलबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे ।

टावरमा होटल, रेष्टुरेन्ट, कफिशप, डिपार्टमेन्टल स्टोर, लाईब्रेरी, अन्य विभिन्न सेवा केन्द्र तथा दुरदृश्यावलोकन सेवा समेत उपलब्ध हुनेछ । टावर सञ्चालनको लागि तिलोत्तमा नगरपालिकाले लिज करार प्रक्रिया अघि बढाएको छ । एघार तले टावर १ सय ३४ फिट उचाइको छ । टावरको २०७४ चैत १५ गते नेपाली कांग्रेस लुम्बिनी प्रदेशका तत्कालीन संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले शिलन्यास गरेका थिए । काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनिएको टावरको भुईं तला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ । टावर २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको छ । नगरपालिका र वनवाटिकाको लागत साझेदारीमा निर्माण भएको टावरको लागत ११ करोड ४५ लाख रहेको छ ।

टावरसँगै आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचना समेत निर्माण हुनेछन् । लिफ्ट सुविधा सहित बनेको टावरसँगै दुई विगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू निर्माणको काम धमाधम अघि बढेको छ । टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्डेस निर्माण गरिँदै छ ।

त्यस्तै त्यहाँ चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि सुरु भइसकेको नगरपालिकाका इञ्जिनियर प्रदीप वनले बताउनुभयो । टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिने छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिने नगरपालिकाका मेयर बासुदेव घिमिरेले बताए । उनले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको गौरव र गहना हुने बताउँदै यो नगरपालिकाको आम्दानीको एउटा महत्वपूर्ण स्रोत पनि हुने बताए । सो अवसरमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, राष्ट्रियसभाका सदस्य गोपाल भट्टराई, पूर्व मन्त्री एवं प्रदेश सांसद लिला गिरीलगायत प्रदेश सांसद, विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण