काठमाडौं । स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राखी गत १४ साउनदेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रसाद सुवेदी तथा अभियन्ता रानाभाटबीच सहमतिपत्रमा गएराति हस्ताक्षर भएसँगै रानाभाटले आफ्ना अनसनका सम्पूर्ण कार्यक्रम अन्त्य गरेकी छिन् ।
सहमतिअनुसार सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स, मिडवाइफ र स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि ७ दिनभित्र कार्यदल गठन गरी ६ महिनाभित्र काम सम्पन्न गरिने, अस्पतालहरूमा ‘मिनिमम सर्भिस स्ट्यान्डर्ड’ र ‘पेशेन्ट सेफ्टी’ अनिवार्य लागू गरिने भएको छ ।
यसैगरी, छात्रवृत्ति प्राप्त स्वास्थ्यकर्मी परिचालन निर्देशिका परिमार्जन गर्ने, ‘एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ मापदण्ड परिमार्जन गर्ने, प्रवेश परीक्षा नीति सुधार गर्नेजस्ता तत्काल कार्यान्वयन गर्नुपर्ने विभिन्न बुँदामा सहमति जुटेको छ ।
यसैगरी, दीर्घकालीन र नीतिगत सुधारका लागि नर्स÷मिडवाइफ र बिरामीको अनुपात कायम गर्न दरबन्दी सिर्जना गर्ने, करार सेवालाई क्रमशः हटाएर स्थायी पदपूर्ति गर्ने, स्वास्थ्य सेवा ऐन परिमार्जन गरी नर्सिङ क्षेत्रका लागि कम्तीमा २५ प्रतिशत जोखिम भत्ता सुनिश्चित गर्ने तथा विशेषज्ञ पद सिर्जनाका लागि कार्यदल गठन गर्ने विषयमा दुवै पक्षबीच सहमति जुटेको छ ।
सम्बन्धित समाचार
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र
सुनसरीमा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु
केन्द्रीय क्याम्पसबाट हाम फाले एक विद्यार्थी, उपचारका क्रममा मृत्यु
सुनकोशीमा कारसहित बेपत्ता तीन जनाको खोजीका लागि बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी परिचालन






