मंगलबार दिउँसो कार्यालय समय सकिने बेलामा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका अधिकृतस्तर आठौं तहका कर्मचारी प्रकाश ओझालाई कार्यकक्षमा बोलाई हातपात गरेका थिए । कर्मचारी ओझाले मन्त्रीले आफूलाई तथानाम गालीगलौज गरी हातपात गर्ने प्रयास गरी आफ्नो आत्मसम्मानमा चोट पु-याएको गुनासो गरेका छन् । सो घटनापछि मोबाइल स्विच अफ गरी सम्पर्कविहीन भएका ओझाले बिहीबारमात्र मिडियासँग खुलेर बोलेका छन् । हिजाे भएकाे घटनाका विषयमा ओझाले यसरी बताए । उनकाे भनाइ यहाँ प्रस्तुत गरिएकाे छ :
पोखरा । कार्यालय समय सकिने बेला थियो । करिब ४ बज्न आँटेको हुँदो हो । म प्रदेश विकास समितिका टिप्पणी लेख्दै थिएँ । रोनित गुरुङ (मन्त्री राजीव गुरुङका सहायक) ले फोन गरेर मन्त्रीज्यूको कार्यकक्षमा डाँके । त्यसपछि फाइल लिएर मन्त्रीको कार्यकक्षमा गएँ ।
त्यहाँ प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, मन्त्रीका सहयोगी रोनितसहित विशाल बराल, माया गुरुङ गरी ६÷७ जना मानिस थिए ।
प्रवेश गर्ने वित्तिकै उहाँ (मन्त्री) ले ‘उद्यमी युवा समृद्ध प्रदेश निमार्णमा टेवा’ कार्यक्रमको कार्यविधिमा किन ५१ प्रतिशत राखेको ? भन्नुभो । मैले प्रष्टीकरण दिंदै थिएा । एक्कासि तनावमा आउनुभयो । सामान खोजेजस्तो गरी के–केले हान्नुभो । अनि झ्यामझुम अगाडि आएर लात्ताले हान्नु भो । तर मलाई कुनै शारीरिक चोटपटक लागेन । सो घटना कोठा बसेका अन्यले पनि देखेका छन् । गत मंसिरमा समेत मन्त्री गुरुङले प्रवक्ता तेजप्रसाद काफ्लेलाई पेपर बेटले हानेका थिए ।
सो घटनापछि मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी र प्रवक्ता तेजप्रसाद काफ्ले सरलाई भेट गरेर जानकारी गराएँ । म विगतदेखि नै बिरामी छु । अस्पताल जानुप¥यो भनी एक जना साथी खटाइदिन भनेपछि श्रीप्रसाद अधिकारी र म भएर मन्त्रालयबाट निस्कियौं । त्यसपछि मुख्यमन्त्री कार्यालयमा गएर प्रमुख सचिव रविलाल पन्थ, प्रवक्ता रामेश्वर अर्याल र उपसचिव मुक्तिनारायण भण्डारी सरलाई जानकारी गराएँ । काम गर्ने मनस्थिति भएन भन्दै अस्पताल जानु प-यो भन्दै निस्कें । केही दिन बिदामा बस्छु ।
कार्यविधि मापदण्ड सबै बसेर बनाइएको हुन्छ । बनाउने समय पटक–पटक छलफल हुन्छ । मन्त्रीसँगै सचिवले समेत हेरेका हुन्छन् । सबैले हरेपछिपछि मात्र हस्ताक्षर गरिन्छ । अहिले आएर ५१ प्रतिशत किन लेख्यो भनेर एउटा कर्मचारीमाथि अराजक तरिकाले मन्त्रीजस्तो व्यक्ति उत्रिन मिल्दैन ।
त्यसरी आक्रमण गरी मानिसलाई धम्काएर कानुन हातमा लिनु राम्रो हैन । यो विधिको शासन हो । न कि जनावरीय शासन । हामी कसैको रैति हैन । राष्ट्रको जिम्मेवार नागरिक हो । सरकारी कर्मचारी हो । अराजक शैली हुनुहुन्न । सबैले विरोध गर्नुपर्छ ।
युवा परिचालन कार्यक्रमअन्तर्गत ‘प्रदेश विकास स्वयमसेवक’ पचिालनका लागि संघ सरकारबाट ३ करोड २४ लाख हो तर लेख्ने समय ड्राफ्टमा ३४ करोड २० लाख भनी लेखिएको रैछ । यो ५ महिना अघिको कुरा हो । उत्तिबेला नै ड्राफ्ट संशोधन भयो । काम पनि भयो । टिप्पणी लेखेको र हामीले लेखेकोमा केही गल्ती छैन् तर मन्त्रिपरिषदको बैठकमा प्रस्ताव लैजाने क्रममा मात्र गल्ती भएको हो । काम गर्दा केही गल्ती हुन्छ कार्यक्रमको बजेटको अंक लेख्दा गल्ती भएकै हो ।
अहिले समाधान समेत भै सक्यो । त्यो नियम र तरिकाले गयो र पाससमेत भयो । कार्यक्रमको बजेट कसैलाई बाँड्न, दिन, आफ्नो स्वार्थ अनुसार काम गर्ने पैसा हैन । खटिएका स्वयमसेवकहरुले मासिक निर्वाह खर्च पाउने कुरा मात्र हो । अहिले केही नपाएपछि आफूले हातपात गरेपछि केही न केही विषय उठाउन आरोप लगाउने रैछन् । मन्त्रीले भनेजस्तै आफूले कुनै कार्यक्रमको रकम केही गरेको पनि छैन र गर्न मिल्दैछ पनि । युवा स्वरोजगार र युवा उद्यमी भन्ने प्रोजेक्ट छँदा पनि छैन । विगतमा मेरो कार्यशैली पनि हेर्नुहोला । ठाउँ ठाउँमा कार्यसम्पादनको उच्च मूल्यांकन भई सम्मानितसमेत भएको छु ।






