काठमाडौ । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले नेपालमा उपलब्ध वनस्पतिहरुको संरक्षण तथा व्यवस्थापनबाट देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।
मन्त्री यादवले औषधीय गुणले भरिपूर्ण वनस्पतिहरुको संरक्षण गरेर मगन्य आम्दानी गर्न सकिने बताएका हुन् । नेपालमा पाइने जडिबुटीहरुको मांग विदेशमा समेत पर्याप्त मात्रामा रहेको बताउँदै मन्त्री यादवले त्यसको संरक्षण गर्नुपर्ने बताएका हुन् ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको वनस्पति विभागको ६२ औं वार्षिकोत्सव तथा २३ औं वनस्पति दिवसको उपलक्ष्यमा काठमाडौंमा आज (मंगलवार) आयोजित एक कार्यक्रमको उदघाटन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।
उनले नेपालमा पाईने बहुमुल्य वनस्पतिहरु संरक्षणबिना खेर गईरहेको बताउँदै वन मन्त्रालयले त्यसको व्यवस्थापनको कार्य अगाडी बढाएको जनाए । मन्त्री यादवले नेपालमा वनस्पतिहरुको संरक्षण तथा प्रवर्धनकालागि विशेष योगदान पुर्याएका प्रा.डा.कृष्णकुमार श्रेष्ठलाई राष्ट्रिय वनस्पति पुरस्कार २०७८ बाट सम्मानित समेत गरेका छन् ।