व्यापार घाटा बढेको बढ्यै

काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य वस्तुदेखि हरेक समान आयातमै निर्भर हुन थालेसँगै मुलुकको व्यापार घाटा निरन्तर बढेर साढे ११ खर्ब रुपैयाँ नाघेको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका आठ महिनामा कुल वस्तु तथा व्यापार घाटा ३४ दशमलव ५ प्रतिशतले बढेर झन्डै साढे ११ खर्ब रुपैयाँले नाघेको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार सो अवधिमा कुल वस्तु व्यापार घाटा ३४ दशमलव ५ प्रतिशतले वृद्धि भई ११ खर्ब ६० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १ दशमलव ६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात÷आयात अनुपात बढेर ११ दशमलव ३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव ६ प्रतिशत मात्र थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब २१ अर्ब ३६ करोड रुपैयाँबराबरको भएको थियो । यसैगरी, चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका आठ महिनामा कुल वस्तु निर्यात ८२ दशमलव ९ प्रतिशतले वृद्धि भई १ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो ।

– आठ महिनामा कुल आयात १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ

– कुल निर्यात १ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ

– शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा

– चालू खाता पनि ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा

– संघीय सरकारको खर्च ६ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँ

– राजस्व परिचालन ६ खर्ब ८४ अर्ब ७० करोड रुपैयाँ

चालू आवको सुरुको महिना गत साउनदेखि फागुन मसान्तसम्मको बितेका आठ महिनाको अवधिमा देशमा कुल १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँको वस्तु आयात भएको छ । सो रकमको वस्तु आयात हुँदा नेपालबाट जम्मा १ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँको निर्यात भएको छ । यति धेरै रकमको आयात र निर्यातको अन्तरले नै चालू आवको बितेका आठ महिनामै मुलुकको व्यापार घाटा ह्वात्तै बढेर ११ खर्ब ६० अर्ब पुगेको हो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १ सय ४ दशमलव २ प्रतिशत र २९ दशमलव १ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११ दशमलव शून्य प्रतिशतले घटेको छ ।

यसैगरी, वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैंचालगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, तार, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को आठ महिनामा कुल वस्तु आयात ३८ दशमलव ६ प्रतिशतले वृद्धि भई १ हजार ३ सय ८ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २ दशमलव १ प्रतिशतले बढेको थियो ।

यसरी वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८ दशमलव १ प्रतिशत, ३६ दशमलव ७ प्रतिशत र ७५ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, सुनलगायतका वस्तुको आयात बढेको छ । सोही अवधिमा फलामे छड बनाउने कारखानामा प्रयोग हुने कच्चापदार्थ एमएसविलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात घटेको छ ।

त्यसैगरी, निर्यातततर्फ कञ्चनपुर, मेची, र नेपालगन्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा मुलुकको शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसलाई नै अर्को शब्दमा मुलुकको भुक्तानी सन्तुलनको अवस्था भनिन्छ । पछिल्लो समय मुलुकको शोधनान्तर स्थितिको घाटा थप बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आठ महिनाको वित्तीय विवरणअनुसार चालू आवको फागुनसम्म मुलुकको भुक्तानी सन्तुलनको अवस्था २ खर्ब ५८ अर्ब रुपैयाँले घाटामा रहेको छ । गत माघसम्म यस्तो घाटा २ खर्ब ४७ अर्ब रुपैयाँ थियो । फागुनमा मात्रै शोधनान्तर स्थिति थप ११ अर्ब रुपैयाँले घाटामा गएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो । मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तर नै भुक्तानी सन्तुलन हो । भुक्तानी सन्तुलन घाटामा जानु भनेको मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम बढी हुनु हो । यस्तो सूचकले देशको आर्थिक अवस्था नकारात्मक दिशातर्फ गएको देखाउँछ ।

समीक्षा अवधिमा चालू खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ । चालू खाता घाटा पनि उच्च दरले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ५१ अर्ब ४२ करोड रुपैयाँले घाटामा रहेको थियो ।

सो अवधिमा संघीय सरकारको खर्च पनि ६ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँ र राजस्व परिचालन ६ खर्ब ८४ अर्ब ७० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

सो अवधिमा जम्मा १० किसिमका वस्तुको आयातमा मात्रै मुलुकबाट कुल आयात रकमको झन्डै आधा (४७ प्रतिशत) ६ खर्ब १४ अर्ब रुपैयाँ बाहिरिएको छ । पेट्रोलियम पदार्थ, गाडी तथा स्पेयर पार्ट्स, मेसिन तथा मेसिनरी पार्टपुर्जा, औषधि, कच्चा सोयाबिन तेल, टेलिकम्युनिकेसन सामान तथा पार्टपुर्जा, धान चामल, एमएसबिलेट, सुन, कच्चा पामतेल सबैभन्दा धेरै आयात हुने १० बस्तु भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यीमध्ये गत वर्षको सोही अवधिसँग तुलना गर्दा पेट्रोलियम पदार्थको आयात ९१ प्रतिशतले बढेको छ । गाडी तथा पार्टपुर्जाको आयात १७ प्रतिशतले बढेको छ भने अन्य मेसिनरी सामानको आयात ३१ प्रतिशतले बढेको छ ।

गत वर्षको समीक्षा अवधिमा भन्दा औषधिको आयात १ सय ५८ प्रतिशत, कच्चा सोयाबिन तेल ७५ प्रतिशत, टेलिकम्युनिकेसनसम्बन्धी पार्टपुर्जा २४ प्रतिशत, धान चामल ४ प्रतिशत, सुन ९९ प्रतिशतले र कच्चा पाम तेलको आयात ६ सय २६ प्रतिशतले बढेको छ । सो अवधिमा धेरै आयात हुने आठौं स्थानमा रहेको एमएस बिलेटको आयात भने समीक्षा अवधिमा २४ प्रतिशतले घटेको देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै, मेयरमा २८४५ अन्तर